काठमाडौँ : लेउले कमलपोखरी ढाकेपछि कमलपोखरी क्लबले सफा गर्न थालेको छ। क्लबले मङ्गलवारबाट पोखरीको लेउ सफा गर्न थालेको हो। पोखरी सफा गर्ने जिम्मा लिएका स्थानीय मनिराम वाइवाले बिहीबारसम्म पोखरी सफा हुने बताए।
स्थानीय सरकार
‘पोखरी सफाइमा बिहानदेखि साँझसम्म १० जनजाति खटिनुभएको छ’ उनले भने, ‘हिजोदेखि सुरु भएको काम भोलिसम्म सकिन्छ। लेउ सफा गर्ने क्रममा पोखरीमा हिले माछाहरू भेटिएका छन् भने पोखरीभित्र ठुलो सङ्ख्यामा अन्य प्रजातिका माछाहरू मरेर पानीमाथि तैरिरहेका छन्।’
महानगरपालिकासँगको सहकार्यमा सफाइको काम सुरु गरिएको उनले बताए। महानगरपालिकाले पोखरी सफा गर्न २ लाख रकम छुट्टाएको छ।
विद्यासुन्दर शाक्यको कार्यकालमा उनले कमलपोखरी पुनर्निर्माण गरेका थिए। पोखरी सुकाएपछि प्रारम्भमा पुनर्निर्माण विवादमा आएको थियो। गत वर्षदेखि पोखरीमा मेलम्चीको पानी ल्याएर राखिएको थियो।
कमलपोखरीको सौन्दर्यकरण योजनाअन्तर्गत काठमाडौँ महानगरपालिकाले पोखरी पुनर्निर्माण गरेको थियो। करिब २३ रोपनी क्षेत्रफलमा पुनर्निर्माण भएको कमलपोखरीमा कङ्क्रिट प्रयोग गरिएको भए पनि मौलिक वास्तुकलामा आधारित फल्चाहरु समेत बनाइएको छ।
पोखरी पुनर्निर्माणमा करिब ६ करोड ३६ लाख खर्च भएको थियो। लकडाउन र कङ्क्रिटको प्रयोग गरेर पोखरी पुनर्निर्माण गरिएको भन्दै सम्पदा अभियन्ताले विरोध गरेपछि पोखरीको पुनर्निर्माण कार्यमा ढिलाइ भएको थियो।
२०७९ असार ०८ गते २१:१४ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।