मेयर बालेन्द्रको औपचारिक भेटघाटमा सँगै हुने कलाकार अर्जुन घिमिरेको पदीय जिम्मेवारी के हो ?

मेयर बालेन्द्रको औपचारिक भेटघाटमा सँगै हुने कलाकार अर्जुन घिमिरेको पदीय जिम्मेवारी के हो ?

काठमाडौँ : काठमाडौँ महानगर पालिकाको मेयरको उम्मेदवार भएदेखि नै हास्य कलाकार अर्जुन घिमिरे बालेन्द्र शाहसँगै थिए। चुनावी प्रचारदेखि मतगणनासम्म पनि उनले बालेन्द्रको साथ छाडेनन्। मेयरमा निर्वाचित भए पनि शपथ ग्रहण नकुरी बालेन्द्र सिसडोल जाँदा पनि उनीसँगै थिए।

पहिले भद्रगोल, अहिले सक्किगो नि नामका टेलिसिरियलबाट घिमिरे वास्तविक नामले भन्दा पनि पाँडेको नामले परिचित उनी मेयरको शपथ ग्रहण गरेर नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासँग महानगरको मेयरको रूपमा बालेन्द्रले भेट गर्दा पनि सँगै थिए। महानगर वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको घरमा शाह खाना खान जाँदा पनि घिमिरेसँगै थिए।

अनौपचारिक भेटघाटमा कसलाई साथमा लैजाने अनि कसलाई नलैजाने त्यो शाहको व्यक्तिगत छनौटको विषय हो। तर औपचारिक भेटघाटमा भने महानगरको आधिकारिक व्यक्ति बाहेक अन्यलाई सहभागी गराउनु पदीय मर्यादा विपरीतको काम हो।

के अर्जुनलाई मेयर शाहले महानगरको कुनै पदमा नियुक्त गरेका हुन् त ?

उकेराले बालेनका स्वकीय सचिव भूपेन्द्र शाहसँग जिज्ञासा राख्दा घिमिरे महानगरको कुनै पदमा नियुक्त नभएको बताए। भूपेन्द्रले घिमिरे बोल्न सक्ने, आफ्ना कुरा राख्न सक्ने भएकाले मेयरको बैठकमा सहभागी हुनुभएको होला भने।

उकेराले उनलाई कुराकानीका लागि समय माग्दा म्यासेज पठाउँदै भने' ' म राती १० बजेसम्म काम गर्छु, बिहान ३ बजे उठेर फेरि काम गर्छु। सास फेर्ने फुर्सत समेत छुट्ट्याउन परेको समयमा तपाइसँग कुराकानी गर्न भ्याउँदिन।'

औपचारिक, अनौपचारिक जस्ता कार्यक्रममा पनि सँगै किन भन्ने प्रश्नमा ठट्टा गर्दै भूपेन्द्रले भने,' सँगै एउटै गाडीमा गएको या नगएको थाहा भएन। तर बैठकमा भने सहभागी हुनुभएको हो।' उनले प्रतिप्रश्न गरे, 'यसरी जान नमिल्ने हो र?'

मेयरको औपचारिक भेटमा महानगरको कुनै पदमा नभएको व्यक्ति सँगै जान मिल्छ ? उकेराले भूपेन्द्रको जिज्ञासा काठमाडौँ महानगरपालिकाका सह–प्रवक्ता महेश कुमार काफ्लेसँग राख्यो

काफ्लेले औपचारिक कार्यक्रममा बाहिरी मानिस जान नमिल्ने बताए। तर अनौपचारिक भेटघाटमा भने जान मिल्छ।

मेयरको मतगणनामा बालेन्द्रको प्रतिनिधी बसेका घिमिरे। तस्बिर : अर्जुन घिमिरेको फेसबुक

प्रधानसेनापतिसँगको भेटघाटमा पनि अर्जुनकुमार सँगै घिमिरे सहभागी रहेकोबारे जानकारी गराउँदै उनी महानगरको कुनै औपचारिक पदमा नियुक्त भएका हुन् त भन्ने जिज्ञासामा काफ्लेले भने,'कुनै पोस्टमा उहाँलाई नियुक्ति दिएकोबारे थाहा भएन।'

यही विषयमा घिमिरेसँग कुराकानी गर्ने प्रयास गर्दा उनले आफू निकै व्यस्त भएकाले समय दिन नसक्ने बताए।

उकेराले उनलाई कुराकानीका लागि समय माग्दा म्यासेज पठाउँदै भने' ' म राती १० बजेसम्म काम गर्छु, बिहान ३ बजे उठेर फेरि काम गर्छु। सास फेर्ने फुर्सत समेत छुट्ट्याउन परेको समयमा तपाइसँग कुराकानी गर्न भ्याउँदिन।'

उनले आफूलाई म्यासेजमा प्रश्न पठाउन भने। घिमिरेलाई मेयरको औपचारिक भेटघाटहरूमा सँगै भएकोबारे प्रश्न पठाउँदा उनले उत्तर पठाएनन्।

८ असार, २०७९, १६:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।