मेयर बालेन्द्रले सुनाए मुलपानीको डम्पिङमा बनेको क्रिकेट रङ्गशाला जस्तै सिसडोलमा रङ्गशाला बनाउने योजना

मेयर बालेन्द्रले सुनाए मुलपानीको डम्पिङमा बनेको क्रिकेट रङ्गशाला जस्तै सिसडोलमा रङ्गशाला बनाउने योजना

काठमाडौँ : काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाहले सिसडोल ल्याण्डफिल साइटमा रङ्गशाला निर्माण गर्ने योजना सार्वजनिक गरेका छन्। महानगरको नीति तथा कार्यक्रममा यो योजना उल्लेख छैन। तर उनले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अधिकारीसँगको भेटमा यस्तो बताएका हुन्।

एन्फाका वरिष्ठ उपाध्यक्ष पङ्कजविक्रम नेम्बाङ्सँगको भेटमा उनले सिसडोल ल्याण्डफिल साइटको फोहोरलाई उचित व्यवस्थापन गरेर सुन्दर रङ्गशाला तथा पार्क बनाउन चाहेको बताएका थिए। यस अगाडि काठमाडौँको फोहोर व्यवस्थापन गर्ने गरिएको मुलपानीमा अहिले क्रिकेट रङ्गशाला बनाइएको छ।

मुलपानीका स्थानीयले फोहोर फाल्न अवरोध गरेपछि नै सरकारले काठमाडौँको फोहोर सिसडोल लैजान थालेको हो। बालेन्द्रले काठमाडौँको टुँडिखेललगायत महानगरका अन्य पार्क र मैदानमा फ्लड लाइट जडान गरेर राती खेल्न मिल्ने बनाउने योजना समेत सुनाएका थिए।

उनले काठमाडौँबाट लिग खेल्ने खेलाडी उत्पादन गर्न ग्रास रुट फुटबलका कार्यक्रम सञ्चालन गर्ने इच्छा रहेको समेत बताएका थिए।

६ असार, २०७९, १३:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।