मेयर बालेन्द्र र प्रधानसेनापतिको भेटको छलफलबारे जानकारी नै छैन महानगर सूचना अधिकारीलाई

मेयर बालेन्द्र र प्रधानसेनापतिको भेटको छलफलबारे जानकारी नै छैन महानगर सूचना अधिकारीलाई

काठमाडौँ : सोमबार काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह र नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माबिच भेटवार्ता भएको थियो । शाह र शर्माबिच जङ्गी अड्डामा भेटवार्ता भएको थियो ।

दुबैबिच महानगरपालिकाका एजेन्डामाथिको सहकार्यबारे छलफल भएको र आगामी दिनमा अझै उच्च स्तरमा पुर्याउनेबारे जोड दिइएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले बताए ।

‘उहाँहरूबिच नेपाली सेनाले विगतदेखि महानगरपालिकाको हरेक क्षेत्रमा गर्दै आएको सहकार्य, आपसी सम्बन्धबारे छलफल भएको थियो’ उकेरासँग उनले भने, ‘सरसफाइदेखि लिएर, जात्रा एवम् पर्वहरू संरक्षणलगायत हरेक क्षेत्रमा यी दुई निकायबिच जुन सहकार्य छ आउँदा दिनमा अझै उच्च स्तरमा पुग्छ भन्नेबारे दुवैतर्फबाट विश्वास व्यक्त भयो।’

शर्मा र शाहबिच नितान्त सद्भावना भेट भएको प्रवक्ता सिलवालले बताए। ‘यो कर्टेसी कल हो। भेटमा चिफ साहेबले निर्वाचित हुनुभएकोमा मेयर साहेबलाई बधाई एवम् नयाँ कार्यकालको लागि शुभकामना दिइबक्सेको थियो’ उनले भने।

मेयर शाह र प्रधानसेनापतिबिचको भेटवार्ताबारे आफूलाई कुनै पनि जानकारी नभएको महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले बताए।

‘उहाँहरूबिच भएको भेटवार्ताबारे मैले जानकारी पाएको छैन’ उनले भने,  ‘उहाँहरूको भेटबारे न्युजमार्फत मात्र थाहा पाएको थिए। उहाँहरूबिच के कसो एजेन्डा थियो भन्नेबारे मेरो लेभलसम्म जानकारी आएको पनि छैन।’

१७ जेठ, २०७९, १८:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।