संसदमै सभामुखलाई ताला चाबी बुझाएपछि...

संसदमै सभामुखलाई ताला चाबी बुझाएपछि...

काठमाडौँ : प्रतिनिधिसभाको आजको बैठकमा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले प्रतिकात्मक रुपमा सभामुख अग्निप्रसाद सापकोटालाई ताला चाबी बुझाएका छन्। प्रमुख प्रतिपक्षीले आफ्ना कुरा सुनाउने र अर्काको कुरा नसुन्ने प्रवृत्ति देखिएको भन्दै विरोधस्वरुप प्रतिकात्मक रुपमा सभामुखलाई ताला चाबी बुझाएको उनले बताए।

तीन घण्टासम्म आफ्नो कुरा सुनाउनेले अर्काले बोल्ने बेला अवरोध गरेको सांसद महतको भनाइ छ। शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले आफ्नो धारणा राख्दा एमाले सांसदले अवरोध गरेका  थिए। विवाद बढ्दै गएपछि सभामुख सापकोटाले प्रयोग गरिएको अमर्यादित शब्द हटाउने निर्णय गर्नुपरेको थियो।

सांसद महतले भने, 'प्रतिपक्षीको व्यवहार हेर्दा बोल्न पाइँदैन कि भन्ने त्रासमा थिएँ। म अहिले पनि अलि मोटो र ठूलो स्वर गर्ने हो भने अवरोध आउँछ कि भन्ने चिन्तामै छु। उहाँहरु धित मरुञ्जेल तीन घण्टा गाली गर्नुहुन्छ। र धित मरिसकेपछि यसलाई अवरोध गर्न खोज्नुहुन्छ। फेरि ताला लगाउन खोज्नुहुन्छ।'

उनले आफूले ताला र चाबी ल्याएको उल्लेख गरे । उनले भने, 'तपाईंहरु धित मरुञ्जेल बोल्नुहोला त्यसपछि हामी बोल्दा यो ताला र चाबी लगाइदिनुहोला। जतिबेला बोल्न मन लाग्छ आउनुहोला र यो ताला चाबी खोल्नुहोला अनि बोल्नुहोला। मैले सभामुखज्यूलाई बुझाएँ।' गाली गर्नेलाई संसद्मा बोल्न तीन घण्टा र कर्णालीको आवाज बोल्नेलाई तीन मिनेट छुट्याइएकामा सांसद महतले आपत्ति प्रकट गरे। 

१४ जेठ, २०७९, १५:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।