नयाँ बस्तीका मतदाताको बलमा उदाउलान् त बालेन ?

नयाँ बस्तीका मतदाताको बलमा उदाउलान् त बालेन ?

काठमाडौँ : नेपाली कांग्रेसको प्रभाव क्षेत्र मानिने कुमारीगालको सामुदायिक भवनको मतदान केन्द्रमा मध्यान्ह पुग्दा ५० कटेका मतदाताहरूको बाहुल्यता थियो लाइनमा। अनि मतदातामाझ उम्मेदवारबारे खासखुस चलिरहेको थियो।

एक जनाले जित्ने हैन भनेका थिए तीन जनाले एकै स्वरमा भने' यो पाली त लौरोले सेक्ने हो दललाई।'

६० वर्ष हाराहारीका मतदाता अलि चिन्तित थिए। उनले अहिलेसम्म आफूलाई मन पर्ने दल बाहेक अन्य चुनाव चिन्हमा भोटै हालेका रहेनछन्। तर क्यानडामा रहेको छोराले फोन गरेर बालेन साहलाई भोटै हाल्न कसम खुवाएकाले उनी हातमा मतपत्र परिसक्दा पनि दोधारमा थिए भोट क्रस गर्ने कि नगर्ने भन्नेमा।

स्थानीय तहको निर्वाचनको प्रचारको समयमा त्यति क्रेज फैलिसकेको थिएन काठमाडौँ महानगरपालिकाको नयाँ बस्तीहरूमा जहाँ अधिकांश गैर नेवार मतदाता छन्। तर मतदाताको दिन मतदान केन्द्रको माहौल भन्ने भिन्न थियो।

वडा नम्बर १, ६, ७,९, १० र ३१ का मतदान केन्द्र घुम्दा एकछत्र बालेन छाएका थिए। नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी सिर्जना र केशव स्थापितको नाम फाट्टफुट्ट सुनिन्थ्यो।

यसले काठमाडौँ महानगर क्षेत्रको गैर नेवार समुदायको बाहुल्यता भएको क्षेत्रमा स्वतन्त्र उम्मेदवार बालेनको दबदबा देखियो। वडा नम्बर ६ को अरुणिमा क,ख अनि ग मतदान केन्द्रका बालेनकै माहौल देखिन्थ्यो। महेन्द्र बौद्ध उच्च माविमा रहेका केन्द्रको अवस्था पनि उस्तै थियो।

वडा नम्बर ७ को सामुदायिक भवन, श्रम र आइडियलमा पनि स्वतन्त्र उम्मेदवारकै माहौल देखिन्थ्यो। तर पशुपति क्याम्पस, विनायक टोलमा भने मतदाता त्यति खुलेका थिएनन्। सातको वडा कार्यालयको माहौल मिश्रित देखिन्थ्यो।

८ को बागमती सभ्यता एकीकृतको कार्यालयमा रहेको मतदान केन्द्रमा बालेनको माहौल देखियो। वेद विद्याश्रम र हरिजन टोलमा रहेको शारदा माविमा भने त्यस्तो माहौल देखिएन। ती क्षेत्रमा अर्का स्वतन्त्र उम्मेदवार सुमन सामयीको चर्चा थियो बरु

यसले गैर नेवार समुदायको मतदाता बढिरहेको मतदान केन्द्रका मतदाताको मुड स्वतन्त्र उम्मेदवार बालेन साहको पक्षमा रहेको देखायो भने नेवार समुदायको मतदाताको बाहुल्यता रहेको क्षेत्रमा उनको प्रभाव कम देखियो।

शेर्पा समुदायको बाहुल्यता रहेको वडा नम्बर ६ को मतदान केन्द्रहरूमा समेत बालेनको प्रभाव राम्रै देखियो। अधिकांश मतदान केन्द्रमा नेपाली कांग्रेस, एमाले र माओवादी लगायतका दलका प्रतिनिधिहरू खटिए पनि बालेनको पक्षका बुथ प्रतिनिधिहरू भने देखिएन।

वडा नम्बर १० को बानेश्वर हाइट, रत्नराज्य मावि, ३१ को मिनभवन अनि भिएसनिकेतनको मतदान केन्द्रमा समेत उनको चर्चा राम्रै सुनियो। महानगरको मध्य सहर र बाहिर सहरमा उनको जुन प्रकारको प्रभाव देखियो महानगरको वडा नम्बर ११, १२, १७, १८, १९, २०, २१ लगायतका भित्री बस्तीका मतदातामा सोही प्रभाव देखिए बालेनले काठमाडौँ महानगरपालिकाको मेयरको नतिजामा चमत्कारिक नतिजा ल्याउन सक्छन्।

उनको जित हारको नतिजा भित्री सहर जहाँ परम्परागत मतदाता बढी छन् त्यहाँ खसेको मत निर्णायक देखियो जहाँ सिर्जना सिंह र केशव स्थापितको बलियो पकड रहेको मानिन्छ।

३० बैशाख, २०७९, २०:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।