धोनीको सेकेण्ड इनिङ्गस: क्रिकेटर हुँदै अब फिल्म निर्माता पनि

धोनीको सेकेण्ड इनिङ्गस: क्रिकेटर हुँदै अब फिल्म निर्माता पनि

एजेन्सीः दिग्गज भारतीय क्रिकेटर महेन्द्रसिंह धोनीको जीवनीमा फिल्म बनेको छ- एमएस धोनी: द अन्टोल्ड स्टोरी। त्यसमा उनी कुनै भूमिकामा छैनन्। तर उनको जीवन कथा छ।

त्यो फिल्म रिलिज हुँदासम्म पनि धोनी राष्ट्रिय टोलीका प्रमुख हिस्सा थिए। अहिले उनी आईपीएलमा मात्र सक्रिय छन्। अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका छन्।

त्यसैले होला उनले अब सेकेण्ड इनिङ्गसको तयारी थालेका छन्। तयारी हो- फिल्म निर्माताको।

धोनीले अब तमिल फिल्म इण्डस्ट्रीबाट फिल्म निर्माताको रूपमा डेब्यू गर्ने भएका छन्। उनको फिल्ममा अरू कुरा त टुंगो लागेको छैन। तर नायिकाको भने टुंगो लागिसकेको छ।

नायिका हुनेछिन्- नयनतारा। 

धोनी हाल आईपीएलमा व्यस्त छन्। तर उनले आईपीएल सकिएलगत्तै फिल्मको घोषणा गर्नसक्ने बताइएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार चलचित्रको सुटिङ यही महिनाबाट सुरु हुनसक्नेछ।

यसअघि धोनीको जीवनीमा बनेको फिल्मले दक्षिण भारतमा निकै कमाएको थियो। त्यसैले पनि होला धोनी अहिले तमिल फिल्म नै निर्माण गर्न लागेका छन्।

२९ बैशाख, २०७९, १३:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।