लोकसेवालाई झुक्क्याएर ११ औँ तहमा बढुवा हुनखोज्ने वीरका डा अनिलको पोल खुल्यो, अन्तर्वार्ताबाटै हट्यो नाम

लोकसेवालाई झुक्क्याएर ११ औँ तहमा बढुवा हुनखोज्ने वीरका डा अनिलको पोल खुल्यो, अन्तर्वार्ताबाटै हट्यो नाम

काठमाडौँ : लोकसेवा आयोगमा झुटो विवरण पेस गरेर दसौँ तहबाट ११ औँ तहमा बढुवा हुने प्रयासमा लागेका वीर अस्पतालका डा. अनिल श्रेष्ठको प्रयास असफल भएको छ। बढुवाका लागि दुर्गममा खटिनुपर्नेमा उनले दुर्गममा दरबन्दी नै नभएको  झुटो पत्र बनाएर आयोगलाई नै झुक्क्याउन खोजेका थिए।

उकेराले वैशाख १४ मा डा श्रेष्ठको बदमासीबारे समाचार प्रकाशित गरेको थियो। श्रेष्ठले कन्सल्टेन्ट युरो सर्जन र वरिष्ठ कन्सल्टेन्ट युरो सर्जनको दरबन्दी काठमाडौँभन्दा बाहिर दुर्गममा नभएको भन्दै मन्त्रालयबाट पत्र बनाएर ११ औँ तहको बढुवाका लागि आफू योग्य भएको पुष्टि गर्ने प्रयास गरेका थिए। तर छानबिनमा उनको दाबी झुटो देखियो। दुवै तहको दरबन्दी दुर्गममा रहेको तर उनी नगएको देखिएपछि आयोगले वैशाख १५ गते डा. श्रेष्ठलाई ‘अन्तर्वार्ता सूचीबाट हटाइएको’ सूचना जारी गरेको छ।

आयोगले ‘सूचना नम्बर ८५४-०७८–७९’ मा‘आयोगको विज्ञापन नम्बर १७१८०-०७८–७९(आ.प्र), नेपाल स्वास्थ्य सेवा, सर्जरी समूह, युरो सर्जरी उपसमूह, एघारौँ तह, प्रमुख कन्सल्टेन्ट युरो सर्जन पदको लिखित परीक्षाको नतिजाबाट अन्तर्वार्ताको लागि छनोट भएका रोल नं. ८७०००१ का उम्मेदवार अनिल श्रेष्ठले नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा २६ बमोजिम हालको दसौँ तहमा दुर्गम तथा अति दुर्गम क्षेत्रमा पूरा गर्नुपर्ने सेवा अवधि पूरा गरेको नदेखिएकोले उनी आन्तरिक प्रतियोगितात्मक परीक्षाको लागि योग्य नदेखिएकोले दरखास्त फारम र लिखित परीक्षा रद्धगरी अन्तर्वार्ता सूचीबाट नाम हटाउने गरी आयोगबाट मिति २०७९-१-१५ मा निर्णय भएको' उल्लेख छ।

डा. श्रेष्ठले दुर्गममा दरबन्दी हुँदाहुँदै स्वास्थ्य मन्त्रालयबाट दरबन्दी नै नभएको पत्र बनाएर ११ औँ तहमा बढुवा हुने प्रयास गरेका थिए।

डा. श्रेष्ठले झुटा विवरण पेस गरी आयोगमा लिखित परीक्षा दिएर अन्तर्वार्ताका लागि छनोट भएर अन्तर्वार्ताको मिति समेत तय भइसकेको थियो। तर, अन्तर्वार्ता हुनु अगावै डा. श्रेष्ठ विरुद्ध आयोगमा झुटो विवरण पेस गरेको भन्दै उजुरी परेको थियो।

आयोगको शैक्षिक योग्यता परामर्श समितिको छानबिनमा डा. श्रेष्ठले बदनियत तरिकाले बढुवा हुनका लागि दुर्गममा दरबन्दी नै नभएको भन्दै झुटो विवरण पेस गरेको निष्कर्ष निकालेपछि आयोगले उनलाई सूचीबाट हटाएको हो।

दुर्गम तथा उपत्यका बाहिर युरोलोजिष्टको दरबन्दी भए पनि युरो सर्जरीको दरबन्दी नभएकाले दुर्गममा जान नपर्ने गरी डा. श्रेष्ठले लोक सेवामा बढुवाका लागि परीक्षा दिएका थिए।

यसरी असफल भए डा. श्रेष्ठ

आयोगले २०७८ असोज २७ गते स्वास्थ्य सेवातर्फ एघारौँ तहको विज्ञापन खुलाएको थियो। आयोगले खुलाएको विज्ञापन नम्बर १७१८०-०७८–७९ मा आन्तरिक प्रतियोगिता(आ.प्र.)तर्फको ‘सेवा, समूह, उपसमूह र श्रेणी-तह’ मा ‘प्रमुख कन्सल्टेन्ट युरो सर्जरी, स्वास्थ्य, सर्जरी, युरो सर्जरी’ उल्लेख छ।

सो विज्ञापनमा माग पद सङ्ख्या एक (१) थियो। आयोगको वेबसाइटमा प्रकाशित विज्ञापन अनुसार ‘प्रमुख कन्सल्टेन्ट युरो सर्जरी, स्वास्थ्य, सर्जरी, युरो सर्जरी’ विषयको प्रथम पत्रको लिखित परीक्षा २०७८-९-३ मा भएको थियो भने द्वितीय पत्रको लिखित परीक्षा २०७८-९-१० मा भएको थियो। तोकिएकै मितिमा लिखित परीक्षा सञ्चालन भयो। डा. श्रेष्ठले पनि परीक्षा आवेदन भरी दुवै पत्रको परीक्षा दिएका थिए।

सो विज्ञापनको लिखित परीक्षापछि आयोगले २०७८-१२-२ मा परीक्षाको नतिजा प्रकाशित गरेको थियो। एक पदका लागि भएको अन्तरिम प्रतियोगिता (आ.प्र.) को ११ औँ श्रेणी-तहको सो लिखित परीक्षामा अन्तरवार्ताका लागि डा. श्रेष्ठ पहिलो वरीयता क्रम नम्बर (ब. क्र. नं.) मा छनोट भएका थिए भने डा. प्रबोध रेग्मी दोस्रो वरीयता क्रम नम्बरमा छनोट भएका थिए।

लिखित परीक्षाको नतिजा प्रकाशित हुँदा श्रेष्ठको वरीयता क्रम नम्बर (ब.क्र.न.) ‘१’ थियो भने  रोल नं. ‘८७०००१’उल्लेख थियो। रेग्मीको वरीयता क्रम नम्बर (ब.क्र.नं.) ‘२’ उल्लेख थियो।

UKERAA EXCLUSIVE : वीरका वरिष्ठ युरो सर्जन डा अनिलले बढुवा हुन लोकसेवालाई नै झुक्क्याए, झुटो पत्र बनाउँदा आफैँ फसे

आयोगले गरेको सूचना नं. ७२१-०७८-७९ अनुसार उनी अन्तर्वातामा छनोट हुँदाको सेवा, समूह, उपसमूह: ‘स्वास्थ्य, सर्जरी युरो सर्जरी’ हो भने पद: प्रमुख कन्सल्टेन्ट युरो सर्जन’ हो। त्यसै गरी लिखत नतिजाको विज्ञापन नं. पनि उही ‘१७१८०-०७८-७९’ नै थियो।

आयोगले अन्तर्वार्ता सूचीबाट हटाइएको सूचनामा विज्ञापन नम्बर १७१८०-०७८-७९ उल्लेख छ भने रोल नम्बर पनि ८७०००१ नै छ।

लिखितमा उत्तीर्ण भएका डा. श्रेष्ठ र डा. रेग्मीको लागि आयोगले अन्तर्वार्ताको मिति २०७८-१२-२२ गते दिनको ११ बजे आयोगको केन्द्रीय कार्यालय कमलपोखरीमा तोकेको थियो।

तर, डा. श्रेष्ठको योग्यताको विषयमा उजुरी परेपछि सोही दिन आयोगले अन्तर्वार्ता स्थगित गर्यो। उनले दुर्गममा युरो सर्जरी विषयको दरबन्दी नभएकाले उपत्यका बाहिर जान नपाएको प्रमाणित गर्न अन्तर्वार्ता दिने मितिभन्दा पाँच दिन अगाडि नै स्वास्थ्य मन्त्रालयबाट दुर्गममा युरो सर्जनको दरबन्दी नै नभएको पत्र बनाइसकेका थिए।

झुटो पत्र बनाएर बढुवा प्रयास

स्वास्थ्य मन्त्रालयले २०७८-१२-१७ मा गते ‘जो जससँग सम्बन्धित छ’ भन्ने विषयको भाषा प्रयोग गरी उनलाई पत्र दिएको थियो। चलानी नं. २५३४ लेखिएको सो पत्रमा ‘चि.वि.रा.प्र वीर अस्पतालमा कार्यरत वरिष्ठ कन्सल्टेन्ट युरो सर्जन (दसौँ तह) डा. अनिल श्रेष्ठ (सङ्केत नं. १८३८७९)ले नेपाल स्वास्थ्य सेवा, सर्जरी समूह, युरो सर्जरी उपसमूह, नवौँ-दसौँ तह, वरिष्ठ कन्सल्टेन्ट युरो सर्जन पदको दरबन्दी दुर्गम क्षेत्रमा भए-नभएको लोक सेवा आयोगमा खुलाई पठाइदिन अनुरोध गरी यस मन्त्रालयमा निवेदन पेस गर्नु भएको हुँदा सङ्घ अन्तर्गतका कार्यालयहरूमा नेपाल स्वास्थ्य सेवा, सर्जरी समूह, युरो सर्जरी उपसमूह, नवौँ-दसौँ तह, वरिष्ठ/कन्सल्टेन्ट युरो सर्जन पदको ८ (आठ) वटा दरबन्दी रहेकोमा उक्त पदको दरबन्दी सङ्घ अन्तर्गत दुर्गम क्षेत्रमा भएको नदेखिएको' उल्लेख छ।

सो पत्रमा शाखा अधिकृत देवराज भण्डारीको हस्ताक्षर रहेको छ।

झुक्क्याउने प्रयास विफल

डा. श्रेष्ठको कागजपत्रबारे शङ्का भएपछि आयोगले स्वास्थ्य मन्त्रालयबाट कागजात मागेको थियो। उसले आयोगका सदस्य वीर बहादुर राईको संयोजकत्व रहेको शैक्षिक योग्यता परामर्श समितिबाट अध्ययन समेत गरायो।

सो समितिले स्वास्थ्य सचिव डा. रोशन पोख्रेल, मेडिकल काउन्सिलका अध्यक्ष भगवान् कोइराला, वीर अस्पतालका युरो सर्जरी विभागका प्रमुख डा. रबीन बस्नेत र त्रिवि शिक्षण अस्पतालका युरो सर्जरी विभाग प्रमुख डा. पवनराज चालीसेसँग परामर्श गरेको थियो।

परामर्शमा विज्ञहरूले युरोलोजी र युरो सर्जरी एउटै विषय भएको राय दिए। डा. श्रेष्ठले युरोलोजी छुट्टै र युरो सर्जरी छुट्टै भन्दै बठ्याइँ गर्ने प्रयास गरेको समितिले निष्कर्ष निकालेर उनलाई परीक्षाबाट हटाउन सिफारिस गर्यो।

स्वास्थ्य मन्त्रालयले पनि उपत्यका बाहिर युरो सर्जरीको दरबन्दी रहेको भन्दै आयोगमा पत्र पठायो। उनको पोल खुल्यो।

ऐनलाई लत्याउने असफल प्रयास 

स्वास्थ्य सेवा ऐन, २०५३ को दफा–२६ अनुसार आन्तरिक प्रतियोगितात्मक परीक्षाका लागि डा. श्रेष्ठ योग्य नदेखिएको आयोगको ठहर छ। स्वास्थ्य सेवा ऐन, २०५३ को दफा–२६ को उपदफा ‘१’ मा ‘कर्मचारीले बढुवाको लागि उम्मेदवार हुन तोकिए बमोजिमको शैक्षिक योग्यता प्राप्त र बढुवा हुने तह भन्दा एक तह मुनिको पदमा रही कम्तीमा तीन वर्ष सेवा अवधि पूरा गरेको हुनुपर्ने’ उल्लेख छ।

उपदफा ‘१’ को बुँदा नम्बर ३ मा ‘२०६९ साल चैत २९ गतेपछि बढुवाको लागि उम्मेदवार हुन कम्तीमा एक वर्ष अति दुर्गम वा कम्तीमा दुई वर्ष दुर्गम क्षेत्रमा कम गरेको हुनु पर्ने’ कानुनी व्यवस्था छ।

तर, ऐनको दफा–२६ को उपदफा ‘२’ को ‘क’ मा भने पद वा दरबन्दी नभएको कारण अति दुर्गम वा दुर्गम क्षेत्रमा सेवा गर्न नपाएको अवस्थामा कर्मचारीहरू बढुवाका लागि सम्भाव्य उम्मेदवार हुन सक्ने व्यवस्था छ।

डा. श्रेष्ठले उपदफा ‘२’ ‘क’ मा भएको यही बुँदामा टेकेर दुर्गममा युरो सर्जरीको दरबन्दी नै नभएको भन्दै आन्तरिक बढुवा परीक्षा दिएका थिए।

त्यसै गरी उपदफा ‘२’ को ‘ख’ मा बढुवा हुने पदभन्दा एक तह मुनिको पदमा कम्तीमा आठ वर्ष सेवा अवधि पूरा गरेको अवस्थामा कर्मचारीहरू बढुवाका लागि सम्भाव्य उम्मेदवार हुन सक्ने प्रावधान छ।

उपदफा ‘२’ को ‘ग’ मा सेवाका कुनै तहको पदमा कम्तीमा दुई वर्ष काठमाडौँ उपत्यका बाहिरका जिल्लामा सेवा गरेको र बढुवा हुने पदभन्दा एक तह मुनिको पदमा पाँच वर्ष सेवा गरेको अवस्थामा कर्मचारीहरू बढुवाका लागि सम्भाव्य उम्मेदवार हुन सक्ने व्यवस्था छ।

तर, डा. श्रेष्ठ ऐनमा व्यवस्था भएका यी प्रावधान अनुसार बढुवाका लागि योग्य थिएनन्। उनी न दुर्गम गएका थिएनन्। दसौँ तहमा बढुवा भएको पाँच वर्ष पनि पुगेको थिएन।

ऐनको दफा–२६ को उपदफा ‘२’ को ‘क’ मा पद वा दरबन्दी नभएको कारण अति दुर्गम वा दुर्गम क्षेत्रमा सेवा गर्न नपाएको अवस्थामा कर्मचारीहरू बढुवाका लागि सम्भाव्य उम्मेदवार हुन सक्ने व्यवस्थालाई टेकेर दुर्गममा युरो सर्जरीको दरबन्दी नै नभएको भन्दै डा. श्रेष्ठले झुटो विवरण पेस गरी ११ औँ तहमा आन्तरिकबाट बढुवाका लागि परीक्षा दिएको प्रस्ट हुन्छ।

यस अगाडि लोकसेवा आयोगले रद्द गरेको विज्ञापनमै टेकेर ११ औँ तहमा बढुवा हुने प्रयासमा रहेका केन्द्रीय युनिफाइड अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी भूपेन्द्र कुमार बस्नेतबारे उकेराले समाचार प्रकाशित गरेपछि सो प्रक्रिया समेत खारेज भएको थियो।

२६ बैशाख, २०७९, २१:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।