साउथ फिल्मले हलमा फर्काएको दर्शकलाई टिकाउन सकेन नेपाली फिल्मले

साउथ फिल्मले हलमा फर्काएको दर्शकलाई टिकाउन सकेन नेपाली फिल्मले

काठमाडौँ : पुष्पा, आरआरआर अनि केजिएफ-२ को क्रेजले नेपाली फिल्म सङ्कटमा परेको भन्दै डब फिल्म नेपालमा रिलिजै गर्न नदिन चलचित्र विकास बोर्डदेखि फिल्म निर्माता र निर्देशकहरू एक जुट भए।

उनीहरू सञ्चार मन्त्रालयसम्म पुगेर ज्ञापन पत्र बुझाएका थिए। दक्षिण भारतीय यी तीन फिल्ममध्ये सबैभन्दा कम पुष्पाले सात करोडको व्यापार गरेको थियो। आरआरआरले करिब २० करोड बराबर सङ्कलन गर्यो नेपाली हलमा। केजिएफले पनि वितरकलाई निराश बनाएन।

अहिले नेपाली हलमा परिचित कलाकार शिवहरी पौडेलले निर्देशन गरेको फिल्म 'लक्का जवान' मात्रै छ। कुनै दक्षिण भारतीय फिल्म छैनन्। तर हल सुनसान छ।

‘लक्का जवान’ को ओपनिङ नै खल्लो भयो। सोमबारसम्मको कारोबारको रकम पनि उत्साहजनक देखिएको छैन। शनिवार समेत हलमा दर्शकको चाप थिएन।

पौड्यालको निर्देशनमा बनेको फिल्ममा परिचित हाँस्य कलाकारहरूको भीडै छ। मदनकृष्ण श्रेष्ठ, किरण केसी, शिवहरि पौड्याल, सुशील पोखरेल, सरोज खनाल, दिलीप रायमाझी, प्रियङ्का कार्की, वर्षा सिवाकोटी, राजाराम पौडेल, सलोन बस्नेतको अभिनय छ।

अनि विषय पनि कमेडी। यी कलाकारहरूलाई दर्शकले माया गर्दै आएका पनि हुन्। तर शिवहरिले भने दर्शकबाट त्यो माया पाउन सकेनन्। एक त परम्परागत टेलिसिरियलको फ्लेवरमा अड्किएको फिल्मले युवा पुस्ताका दर्शहरूलाई हलसम्म ल्याउनै सकेन। मदनकृष्ण लगायतका कलाकारहरूका क्रेजी फ्यानले पनि पत्याएनन्।

कन्ट्रोभर्सी क्विनको रूपमा कुनै समय चर्चामा रहने प्रियङ्का अहिले छोरी हुर्काउन व्यस्त छिन्। लामो समयको ग्यापपछि उनी फिल्म प्रमोसनमा त हिँडिन् तर दर्शकले नोटिस नै गरेनन् उनलाई।

सरोज खनाल अनि दिलीप रायमाझीको क्रेज दर्शकमाझ छैन नै भन्दा फरक पर्दैन। उनीहरूले एक्लै फिल्म बोक्न पनि सक्दैनन्। सलोन बस्नेतले समेत युवा दर्शकलाई हलसम्म ल्याउन सकेनन्। सानो पर्दामा जम्दै आएका राजाराम पौडेल अनि किरण केसीको पनि दिन गए ठुलो पर्दामा। अब वर्षा सिवाकोटीको क्रेज हिजोको जस्तो रहेन।

यसरी कथावस्तुदेखि कलाकारसम्मले फिल्म धान्न नसक्दा ठुलो पर्दाको फिल्म निर्देशन गर्ने शिवहरिको रहर निकै महँगो हुने त भयो नै दक्षिण भारतीय फिल्मकै कारण नेपाली फिल्म नचलेको कुतर्क गर्नेहरूले पनि समस्या विदेशी डब फिल्म हैन हाम्रै निर्माण प्रक्रिया र कथावस्तु हो भन्ने पक्कै बुझे होलान्।

२६ बैशाख, २०७९, २०:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।