बुटवलकी २५ वर्षीय उपमेयर उम्मेदवार जो माओवादीले किताब च्यातेको दृश्य देखेर राजनीतिमा होमिइन्

बुटवलकी २५ वर्षीय उपमेयर उम्मेदवार जो माओवादीले किताब च्यातेको दृश्य देखेर राजनीतिमा होमिइन्

बुटवल : २५ वर्षको उमेरमा बुटवलको उपप्रमुख पदको उम्मेदवार बनेकी छिन् भगवती पाण्डे। हिमानी ट्रस्ट मार्फत समाजसेवामा सहभागी उनी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बुटवलमा उपप्रमुखको उम्मेदवार बनेकी हुन्। उपप्रमुखमा सम्भवतः उनी कान्छी उम्मेदवार हुन्।

२०५४ मा जन्मिएकी उनी ०६९ मा नवीन औद्योगिक कदर बहादुर रिता माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेकी थिइन्। उनले अक्सफोर्ड कलेजबाट प्लस टुसम्मको अध्ययन गरेकी छिन्। हिमानी ट्रस्टमा रहेर २ सामाजिक काम गरेकी उनी १५ वर्षको उमेरबाटै राजनीतिमा चासो राखेकी थिइन्। उनी अहिले राप्रपाको क्षेत्रीय कोषाध्यक्ष हुन्।

विभिन्न संघसस्थामा आबद्ध उनी पछिल्लो समय ट्याक्टर क्लब अफ क्यापिटल बुटवलमा आबद्ध भएर सामाजिक कार्यमा सक्रिय छिन्। उनले बुटवल–११ मा केक कोसेली समेत सञ्चालन गर्दै आएकी छिन्।

सानो उमेरमा देखेको एक स्मरणीय घटनाले नै राजनीतिमा ध्यान तानेको भगवती बताउँछिन्। सानो उमेर भएकाले कति वर्ष पहिले हो घटना उनलाई याद छैन।

देशमा माओवादी द्वन्द्व सुरु भएको थियो। बुर्जुवा शिक्षा भन्दै माओवादीले किताब खोस्थे, जलाउँथे। भगवतीले राजा-रानी भएको फोटो च्यातेको देखिन्। किताब च्यातेको देखिन्।

‘मैले किताबलाई भगवान् मानेर ढोग्थे। तर माओवादीले किताब च्याते। राजा-रानीको फोटो च्याते। त्यसपछि यस्तो पो राजनीति रहेछ भन्ने दिमागमा आयो,’ उनले भनिन्।

भगवतीलाई माइजू लक्ष्मी कुँवरले युवा भएपछि केही गर्नपर्छ भन्दै ढाढस् दिन्थिन्। भगवतीलाई पनि लाग्थ्यो‘युवा उमेरमा यो देश र समाजलाई हामीले नबनाउने कसले बनाउने?’

एसएलसी दिनसाथ माइजूलाई साथ दिएर भगवती हिँड्थिन्।

‘माइजू रानी ऐश्वर्यासँग नजिक हुनुहुन्थ्यो। राजसंस्था प्रति आस्था राख्नुहुन्थ्यो। अनि म पनि माइजूसँगै राजसंस्थाप्रति आस्था राख्न थाले,’ राप्रपामा आबद्ध हुनुको कारण खुलाउँदै उनले भनिन्।

त्यसपछि भगवती प्लस टु पढ्न थालिन्। त्यो बेला उनी अञ्चल पार्टी नगर सञ्जालमा आबद्ध भइसकेकी थिइन्। बिस्तारै उनले पार्टीमा रहेर काम गर्न थालिन्। भगवती अहिले राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासङ्घ रुपन्देहीकी अध्यक्ष समेत हुन्।

उम्मेदवारी दर्ता गर्नु अघि ‘म भ्रष्टाचार गर्दिन। भ्रष्टाचार गर्नु भनेको आमा रगत खानु हो’ भनेर कसम खाएकी भगवतीले एक पटक मौका दिएर युवाको नतिजा हेर्न मतदातालाई आग्रह गरिन्।

 ‘१० बर्से द्वन्द्व गरेर मान्छे मारेकाहरूले पनि चुनाव जिते तर केही गरेनन्। एक पटक युवाको नेतृत्व यहाँको पालिकाले खोजेको छ। युवा मिसन र भिजनले मात्र अब समृद्ध बुटवलको परिकल्पना गर्न सकिन्छ,’ उनले भनिन्।

बुटवलमै जन्मे-हुर्केको भएकाले यस क्षेत्रको विकास गर्नु आफ्नो दायित्व रहेको उनको भनाई छ।

‘जसरी हाम्रो आमा-बुवा प्रति कर्तव्य हुन्छ। त्यसरी नै जन्मभूमिलाई राम्रो बनाउने मेरो कर्तव्य हो। त्यसका लागि सरकार मातहतमा बसेर काम गर्न जरुरी छ। त्यसैले मेरो कर्तव्यलाई पुरा गर्न पनि मेरो उम्मेदवारी हो,’ उनले भनिन्।

उनले निर्वाचनमा वास्तविक सुकुम्वासी समस्याको समाधान गर्ने, बुटवललाई भ्रष्टाचार मुक्त नगर बनाउने, सबै ठाउँमा सिसिटिभी जडान,  ७० वर्ष माथिका बृद्धबृद्धालाई निःशुल्क स्वास्थ्य सुविधाको अजेण्डा अगाडि बढाएकी छिन्।

त्यसबाहेक ज्येष्ठ नागरिकलाई निःशुल्क धार्मिक यात्रा, चुरे संरक्षण र नियन्त्रण, पार्किङ व्यवस्थापन, कक्षा १२ सम्म निःशुल्क शिक्षा, युवाहरूलाई सिपयुक्त बनाउने आफ्नो प्रतिबद्धता रहेको र त्यसैका लागि आफ्नो उम्मेदवारी रहेको उनले बताइन्।

राप्रपाबाट बुटवलमा मृगेन्द्र कुमार शेरचन नगरप्रमुखको उम्मेदवार बनेका छन्। एमालेको गढ मानिएको बुटवलमा मुख्यतः यहाँ एमाले र कांग्रेसकै प्रतिस्पर्धा देखिन्छ।

सावित्रा र चिन गुरुङसंग प्रतिस्पर्धा

भगवतीको प्रतिस्पर्धा गठबन्धनका साझा उम्मेदवार चिन बहादुर गुरुङ र एमालेबाट उम्मेदवार बनेकी सावित्रा अर्यालसँग हुँदैछ। चिन बहादुर गुरुङ एकीकृत समाजवादीबाट उपप्रमुखको उम्मेदवारी दिएका छन्। अघिल्लो निर्वाचनमा गठबन्धनकै उम्मेदवार जगत पोखरेललाई हराउँदै एमालेकी गोमादेवी आचार्यले उपप्रमुखमा १० हजार बढी मतका साथ विजयी भएकी थिइन्।

यो पालीको निर्वाचनमा केन्द्रदेखि नै पाँच दलको गठबन्धन भएकाले मतदाता कता आकर्षित हुन्छन् अझैँ दृश्य प्रस्ट छैन। पार्टीगत रूपमा राप्रपाको प्रभाव बलियो छैन यहाँ। तर युवा उमेरमै राजनीतिमा होमिएकी भगवतीको साहस सम्मान लायक छ।

१४ बैशाख, २०७९, १५:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।