पल शाह विरुद्ध बलात्कारको अभियोग लगाउने नाबालिगले अदालतमा बयान बदलिन्

पल शाह विरुद्ध बलात्कारको अभियोग लगाउने नाबालिगले अदालतमा बयान बदलिन्

तनहुँ : अभिनेता पल शाहले बलात्कार गरेकोभन्दै जाहेरी दिएकी नाबालिगले अदालतको बकपत्रमा बयान बदलेकी छिन्। पल प्रारम्भिक सुनुवाइ सकिएर पुर्पक्षका लागि कारागारमा गइसकेका छन्।

तर आइतबार जिल्ला अदालत तनहुँमा बकपत्र गर्दा नाबालिग गायिकाले आफूले दबाबमा जाहेरी दिएको र बयान प्रहरीले आफैँ लेखेको दाबी गरिन्।

जिल्ला अदालत तनहुँ र नवलपुर दुबै अदालतले प्रारम्भिक सनुवाई गर्दै शाहलाई पुर्पक्षका लागि थुनामा पठाएको छ। उनी जिल्ला अदालतको आदेश विरुद्ध उच्च अदालतमा पुनरावेदनमा गएका छन्।

आज मुद्दा प्रक्रियाको क्रममा अदालतले नाबालिग र नाबालिग पक्षसँग बकपत्र गराउँदा उनले पलले आफूलाई बलात्कार नगरेको, उक्साहटमा जाहेरी दिएको र प्रहरीले आफ्नो बयान भनेर अदालतमा बुझाएको बयान आफ्नो नभएको दाबी गरेकी छिन्। जबकि जाहेरी दर्तापछि उनले ग्यालेक्सी टेलिभिजनमा अन्तर्वार्ता दिँदा समेत आफूमाथि बलात्कार भएको बताएकी थिइन्।

उनले बकपत्रमा आफु विरामी रहेको र  मानसिक अवस्था समेत ठिक नभएको भन्दै प्रहरीमा के-के बयान गरेको हो सो समेत थाहा नभएको बताएकी थिइन्।

उनले जिल्ला प्रहरी कार्यालय तनहुँ र नवलपुरमा समेत बयानदिँदा पलले आफूलाई बलात्कार गरेको बयान दिएकी थिइन्। नाबालिगको बकपत्रको समयमा अदालतमा उपस्थित स्रोतका अनुसार उनी सत् प्रतिशत होस् टायल भएको देखिएको छ।

पलले समेत बयानमा आफू मादक पदार्थ पिएर आधा बोतल बियर लिएर बालिकाको कोठामा गएको स्वीकार गर्दै बयान दिएका थिए। सार्वजनिक भएको अडियोमा समेत उनले प्रेमी-प्रेमिकाबिच सम्बन्ध हुनु सामान्य नै हो भनेका थिए। त्यसलाई समेत अदालतले प्रमाणको रूपमा स्वीकार गरेको थियो।

थुनछेक बहसपछि आएको आदेशबाट उनको आरोप पुष्टि हुनेसम्मको व्याख्या भएको थियो। पल कारागार चलान भएपछि नबालिका आफ्नै घरमा बस्दै आएका थिए। जानकार श्रोतका अनुसार जुन दिन थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा पठाउने आदेश आएको थियो सो दिन नाबालिकाको अभिभावकहरूले नाबालिकाको पक्षबाट बहस गर्नेहरूसँग दुर्व्यवहार समेत गरेका थिए।

अहिले आएर नाबालिकाले नै बयान बदलेर हैन भनेपछि यो मुद्दा कमजोर भएको छ। केही मुद्दामा पीडितबाट अदालतमा बयान बदलिए पनि प्रमाणका आधारमा अदालतबाट दोषी ठहर भएका मुद्धाहरु छन्। अनुसन्धान अधिकारी समक्ष गरेको बयान, स्वास्थ्य परीक्षण प्रतिवेदन, लगायतका प्रमाणलाई अदालतले स्वीकार गर्दै अदालतले पीडित होस्टायल भएकाले प्रारम्भिक बयानलाई नै आधार मान्ने गरेको समेत देखिन्छ।

तर मुख्य पीडितले नै बयान बदलेर हैन भनेपछि मुद्दा कमजोर बनेको छ। केही अदालतले पहिला बलात्कारको आरोप लगाउने तर पछि बयान बदल्ने पीडितलाई नै कैद सजायको समेत सुनाएको छ।

४ बैशाख, २०७९, १७:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।