अमृता टण्डन मृत्यु प्रकरण : गत भदौमै अमृताले हालेकी थिइन् परिवारले यातना दिएको उजुरी

अमृता टण्डन मृत्यु प्रकरण : गत भदौमै अमृताले हालेकी थिइन् परिवारले यातना दिएको उजुरी

बुटवल : तिलोत्तमा- २, जानकीनगरकी अमृता टण्डनको मृत्यु नभई हत्या भएको भन्दै अहिले माइती पक्षले आन्दोलन गरिरहेको छ।

प्रहरीले पनि अनुसन्धानका लागि भन्दै मृतक अमृताका श्रीमान् प्रेम, ससुरा टहल सिंह टण्डन र सासु दिपा टण्डनलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरिरहेको छ।

मृतक अमृतका दाजु पुष्पक खत्रीको जाहेरी दरखास्त दिएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको हो।

माइत गएकी अमृतालाई घरमा बोलाएको, घर आएपछि राति ९ बजेर ३२ मिनेटसम्म दाजु पुष्पकसँग बोलेकी अमृताको त्यसको १० मिनेटै अस्पतालमा नपुग्दै विष सेवन गरी मृत्यु भएको खबर आउनुले माइती पक्षले यो आत्महत्या नभई हत्या भएको भनिरहेको छ। 

त्यसो त अमृताले टण्डन परिवारबाट सुख भने नपाएको घटनाक्रमले देखाउँछ। यतिसम्म कि गत भदौमा उनले वडा कार्यालयमा घर-परिवारबाट शारीरिक र मानसिक यातना दिएको भन्दै निवेदन समेत दिएकी थिइन्। 

१७ भदौमा अमृताले घर-परिवारले सामान्य विषयमा पनि मानसिक र शारीरिक यातना दिने गरेको भन्दै तिलोत्तमा नगरपालिकाको वडा कार्यालयमा निवेदन दिएकी थिइन्। निवेदनपछि घरमै बस्ने वातावरण मिलाउने सहमति घरकै सदस्यहरुले गरेका थिए।

गएको भदौमा वडामा यस्तो सहमति भएका कारण अहिले अमृताले विष सेवन गरेर आत्महत्या गरेको भन्नु झुट भएको माइती पक्षको दावी छ।

भदौ १७ गते वडाअध्यक्ष दधिराम गौतमको रोहवरमा वडा सदस्यहरु, वडासचिव, घर र माइती पक्षको बीचमा छलफल गरी अबका दिनमा घरमा बस्ने वातावरण मिलाउने र अमृता घरमै बस्ने, सानो कुरामा हेलचेक्र्याईं नगर्ने, खोट कमजोरी नदेखाउने सहमति भएको पत्रमा देखिन्छ। उक्त पत्रमा श्रीमान् प्रेम टण्डन, सासु-ससुरा र वडाबासीको हस्ताक्षर समेत छ।

गएको भदौमा वडामा यस्तो सहमति भएका कारण अहिले अमृताले विष सेवन गरेर आत्महत्या गरेको भन्नु झुट भएको माइती पक्षको दावी छ।

अमृताको परिवारले नदिँदा पनि भगाएर विहे गरी भारत लगेको प्रेमले विहेको २ वर्षसम्म भने अमृतालाई कहिल्यै अवहेलना नगरेको तर पछिल्लो चार वर्षदेखि भने अमृता र घर-परिवारको बीचमा सम्बन्ध सुमधुर बन्न नसकेको दाजु पुष्पक बताउँछन्।

‘प्रेमले भगाएर सुरुमा भारतमा लगे। यही भान्जा आदित्य जन्मिए। प्रेमको केही रोजगार थिएन। सबै आमा-बुवामाथि निर्भर थिए। श्रीमानको आम्दानी नभएपछि बहिनी अमृता पनि आमाबुवासँग निर्भर थिइन्। यस्तो अवस्थामा पनि समस्या आउँथे तर अमृताले भन्दिनथी।’

वडामा सहमति भएपछि अमृता घरमै गएर बसे पनि श्रीमान् र सासु-आमासँगको सम्बन्ध राम्रो बन्न नसकेको बताइएको छ।

दाइलाई अन्तिम पटक गरेको त्यो म्यासेज

अमृता माइत थिइन्। घरबाट बारम्बार बोलाएपछि अमृता घर पुगिन्। घर पुगेपछि अमृताले दाजु पुष्पकलाई ९:१४ मा म्यासेज लेखेकी छिन्, ‘माइतीले भन्छन् तेरो घर जा, घरकाले भन्छन् तेरो माइत जा, चेलीको जिन्दगी पनि कस्तो घर न घाटको। अब त्यो चेली कहाँ जाने?? माइतीलाई इज्जत प्यारो भयो, बिहे गरेर गएकी चेलीलाई घरकाले टिक्न नदिने चेलीको फेर्ने सास गयो।’

मृताले दाजु पुष्पकलाई ९:१४ मा म्यासेज लेखेकी छिन्, ‘माइतीले भन्छन् तेरो घर जा, घरकाले भन्छन् तेरो माइत जा, चेलीको जिन्दगी पनि कस्तो घर न घाटको। अब त्यो चेली कहाँ जाने?? माइतीलाई इज्जत प्यारो भयो, बिहे गरेर गएकी चेलीलाई घरकाले टिक्न नदिने चेलीको फेर्ने सास गयो।’

बहिनीको म्यासेज देखेपछि तत्काल दाइले बहिनीलाई ‘के भयो बहिनी, खाना खाइस्’ भनेर दुई वटा म्यासेज पठाए।

त्यसपछि अमृताले पुनः ९:३० देखि ९:३२ मा पाँच वटा साना म्यासेज लेखिन्।

म्यासेजमा उनले भनेकी छन्, ‘दाइ म मर्न चाहन्नँ, म यहाँ बस्न नि सक्दिनँ, प्लिज दाइ हजुरको बोझ नि हुन चाहन्नँ, प्लिज दाइ मलाई यहाँबाट निकाल्न हेल्प गर्नु म निस्किन्छु।’ 

यति म्यासेज पाँच पटक गरी अमृताले दाजुलाई पठाएकी थिइन्। बहिनीको यस्ता म्यासेज देखेपछि पुष्पकले ‘तँ जस्तो मान्छे मर्ने कुरा गर्ने हो? भोलि भान्जासँग आइज कुरा गरम्ला’ भन्दै अमृतालाई म्यासेज पठाए पनि अमृताले भने जवाफ फर्काइनन्।

बहिनीको म्यासेज आएपछि फोन गर्न खोज्दा कसैको फोन नलागेको अमृताका दाजु पुष्पकले बताए। पछि बहिनीसँग कुरा गरेको करिब १० मिनेट हाराहारीमा अमृताले विष सेवन गरी अस्पताल ल्याएको भन्दै उनका श्रीमान् प्रेम टण्डनले आफूलाई फोन गरेको बताए। राति ९ बजेर ३२ मिनेटसम्म दाजुसँग म्यासेजमा कुरा गरिरहेकी अमृताको ९ बजेर ५० मिनेटमा मृत्यु भएको बताइएको छ।

अमृताको मृत्युको घटनापछि अहिले बुटवल र तिलोत्तमा अशान्त बनेको छ। माइती पक्षले अमृताले आफुले विष सेवन गरेको नभई घर-परिवारले सुनियोजित रुपमा विषादी खुवाएर हत्या गरेको आरोप लगाएका छन्। अमृताका दाजु पुष्पकले ९ बजेर ३२ मिनेटसम्म म्यासेजमा कुरा गरेको बहिनीलाई अस्पतालले ९ बजेर ५० मिनेटमै विष सेवनबाट मृत घोषणा गर्नुले यो घटना शंकास्पद रहेको बताए।

अमृताको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ। माइती पक्षले विशेषज्ञ टोलीले मात्र पोष्टमार्टम गर्नुपर्ने अडान राखेका छन्। इलाका प्रहरी कार्यालय बुटवलले अमृताको मृत्यु किटनाशक विषादी डिडी फैक्सको प्रयोगबाट भएको चिकित्सकलाई उद्धृत गर्दै बताएका छन्। यो विषादी निकै घातक मानिने र नेपालमा बिक्री-वितरण समेत बन्देज लगाएको अवस्थामा माइतबाट घर जाँदा यो विष अमृताले किन्न सक्ने अवस्था नभएको दाजु पुष्पकले बताए।

‘माइतीबाट राति घर फर्किएकी अमृता आफैंले विष लिएर सेवन गर्ने अवस्था छैन। त्यहाँ नजिक पसल पनि छैनन्। त्यसैले घर-परिवारले नै सुनियोजित रुपमा विष सेवन गराएर हत्या गरेका हुन्। छानविन र कारबाही दोषीलाई हुनै पर्छ,’ उनले भने।

४ बैशाख, २०७९, १०:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।