पल शाहविरुद्धको अभियोग पत्र बलियो : अडियो आफ्नै भएको र नाबालिगको कोठामा गएको स्विकार

पल शाहविरुद्धको अभियोग पत्र  बलियो : अडियो आफ्नै भएको र नाबालिगको कोठामा गएको स्विकार

काठमाडौँ : नाबालिगको बलात्कार गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहले गैँडाकोट रिसोर्टमा रहेको बेलामा नाबालिगको कोठामा मादक पदार्थ सेवन गरेर गएको बयानमा स्वीकार गरेका छन्।

उनले बयानमा ' उ प्रेगनेन्ट भएको भए, मैले गर्दा प्रेगनेन्ट भएको भए, समस्या भएको भए वा बच्चा भएको भए, गर्लफ्रेन्ड ब्वाइफ्रेन्डमा अन्डरस्ट्यान्डिङमा भयो होला' भनेर बोलेको २ मिनेट ३५ सेकेन्डको अडियो समेत आफ्नो भएको स्वीकार गरेका छन्।

उनले बयानमा अन्यको उदाहरण दिन त्यसो भनेको दाबी गरेका छन्। उनले बयानमा बेलुका खाना खाएपछि राती अन्दाजी १२ बजे सुटिङको टिममध्ये निर्देशक र क्यामराम्यान आइसकेपछि रक्सी खाएर र त्यो बेलामा पीडित नाबालिगका पीडित कोठामा सुतेको उल्लेख छ।

पहिलो दिन अर्थात् सात गते सुटिङ युनिट आइसकेपछि आ-आफ्नो कोठामा सुत्न गएको उनले बयानमा खुलाएका छन्।

दोस्रो दिन बेलुका साढे १० बजेको समयमा सुटिङ युनिटसहित गैँडाकोट रिसोर्टमा आएर बसेको उनले बताएका छन्। बयानमा उनले आफु रिसोर्टको कोठा नम्बर १०१ मा बसेको र नाबालिग १०२ मा बसेको पुष्टि गरेका छन्। पीडित र आफू सुत्ने कोठा सँगसँगै भएकाले रातको साढे ११ बजे पीडितको कोठामा जाँदा उनलाई एक्लै सुत्न डर लागेको र अघिल्लै दिन होटेल सञ्चालकको छोरीसँग सुतेको कुरा थाहा पाएकाले' तिमिलाई हिजोको जस्तो डर त लागेको छैन नि, ल राम्रोसँग सुत' भनी आफ्नो कोठामा आएर सुतेको उनले दाबी गरेका छन्।

काठमाडौँ फर्किएपछि भिडियो प्रमोसनका लागि सँगै अन्तर्वार्ता दिने गरेको र त्यो बेलामा राम्रै म्यासेज आदानप्रदान हुने गरेको उनले खुलाएका छन्।

२०७८ असारतिर एक्कासि नाबालिग फोन गरेर हामी दुवैको बारेमा स्टुडियोहरूमा कुरा काटिरहेको छन् भनेको र त्यसपछि विवाद भएको उनले बताएका छन्।

'विवाद बढेपछि गजब टिभीका सरोज वली, दुर्गेश भनिने दुर्गाबहादुर थापा र योगेश काजीसँग विवादबारे सल्लाह भएको र २०७८ असारमा मध्यबानेश्वरको होटेलमा उनीहरूसहित नाबालिग समेत बसेर छलफल गर्दा आजै पीडितसँग विवाह गर्ने भनेर जोड गरेकाले तीन वर्षसम्म हामीसँगै मिली काम गर्ने र पीडित २० वर्ष पुगेपछि विवाह गर्ने भनेर मौखिक सहमति भएको हो' उनले बयानमा भनेका छन्।

नाबालिगले श्रीमती वा गर्लफ्रेन्डको रूपमा चिनाउन पर्यो भनेर बारम्बार म्यासेज गर्न थालेपछि आफ्नो तरिकाले गर भनी विवाद भएको र पछि तनहुँमा जाहेरी परेको उनले बयानका खुलाएका छन्।

उनले घटना भएको रात मादक पदार्थ सेवन गरेको स्वीकार गरेका छन्। तर पीडितलाई मादक पदार्थ सेवन गराएर बलात्कार भने नगरेको दाबी गरेका छन्।

उनले सार्वजनिक भएको अडियो क्लिपमा रहेको स्वर आफ्नो भएको समेत स्वीकार गरेका छन्।

कुनै आवाज भने आफ्नो नभएको जस्तो लागेको उनले दाबी गरेका छन्। प्रेमीप्रेमिकाविच सहमतिमा सम्बन्ध हुनु स्वाभाविक हो भनेर बोलेको विषय प्रतिवाद गर्दा उच्चारण गरेको उनको दाबी छ।

उनले पीडितले स्वीकार गर्नुपर्छ भनेकोले ठोस प्रमाण भएमा देखाउनुहोस् भन्दै अरू प्रेमी-प्रेमीकाको उदाहरणसहित स्पष्ट पारेको दाबी गरेका छन्।

पीडितको बयानमा घटनाको दिन शाहले २ पटक बलात्कार गरेको उल्लेख छ। शाहले पहिलो दिन नाबालिका होटेल सञ्चालककी छोरीसँग सुतेको बताएका छन्।

अभियोग पत्रमा १२ वर्षकी होटेल सञ्चालककी छोरीको बयान पनि समावेश गरिएको छ। बयानमा ती अर्की नाबालिकाले पहिलो दिन १२ बजेतिर आएर आफूसँगै सुतेको बयान दिएकी छिन्। पीडितको दाबी अनुसार साढे ११ बजेतिर घटना भएको देखिन्छ।

'११ बजेको समयमा पल शाहले फेसबुकमा म आउँछु भनेर मेसेज गरेको। उनी आएर कोठा ढकढक गरेको र माया गर्छु अनि विवाह गर्छु भनेर २ पटक जवर्जस्ती करणी गरेको' पीडित नाबालिकाको बयानमा उल्लेख छ।

१४ वर्ष सजायको माग

नवलपुर जिल्ला अदालतमा बिहीबार दर्ता भएको अभियोग पत्रमा नाबालिग पीडितको स्वास्थ्य परीक्षण, शाह र पीडितको बयान र अडियो प्रमाणको विश्लेषण गर्दै शाहले पीडितको बलात्कार गरेको देखिएको भन्दै १४ वर्ष कैद सजायको माग दाबी गरिएको छ।

अभियोग पत्रमा क्षतिपूर्तिको दाबी गर्दै शाहको २ वटा बैङ्कको खाता उल्लेख गरेर त्यसमा रहेको नगद निकाल्न नमिल्ने गरी खाता रोक्का गर्न समेत माग गरिएको छ।

 

३ चैत, २०७८, २३:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।