नायक पलमाथि बलात्कार ठहरिने आरोपसहितको अडियो बाहिरियो, नक्कली भएको दाबी

नायक पलमाथि बलात्कार ठहरिने आरोपसहितको अडियो बाहिरियो, नक्कली भएको दाबी

काठमाडौँ : नायक पल शाह नाबालिग गायिकालाई प्रेम गर्छु भन्दै यौन शोषण गरेको प्रकरणमा मुछिएका छन्। सानो उमेरमै मीठो स्वरका कारण श्रोतामाझ परिचित गायिका समीक्षा अधिकारीलाई प्रेम गर्छु भन्दै उनले यौन शोषण गरेको अडियो समेत बाहिरिएको छ।

पल र केहीसाथिसँगै समीक्षासँग भएको छलफल अनि एक युवतीसँग समीक्षाले पलले कसरी आफूलाई फसाए भन्नेबारे बोलेको अडियो सामाजिक सञ्जालभर फैलिएको छ।

संवादमा म्युजिक भिडियो खेल्नेक्रममा पलसँग भेट भएको र पोखराको होटलमा बस्दा जवर्जस्ती गर्न खोजेको समीक्षाको अडियोमा दाबी गरिएको छ।

'पोखरामा सुटिङमा गएको बेलामा घर जान्छु भन्दा पछि जाउँला भन्दै टारे। पछि होटेलमै बस्ने भनेपछि म कोठामा गएर सुते,' अडियोमा भनिएको छ' कोठामा पल आएर मेरो बेडमा आए। मैले यस्तो त नगर्नु भनेर रोएपछि अर्को खाटमा गएर सुते।'

पल पछि लागेकोलाग्यै गरेपछि माया लाग्यो भन्दै अडियोमा स्वार्थ पूरा भएपछि इग्नोर गर्न थालेको र उजुरीको तयारी गरेपछि परिवारसँग भेटेर २ वर्षपछि विवाह गर्छु भनेको उल्लेख छ।
पलको दाबी गरिएको अडियोमा गर्लफ्रेन्ड र ब्वाईफ्रेन्डविचको सम्बन्ध सामान्य हो भन्दै प्रेग्नेन्ट भएको भए पो। झन् सेफ गरेको भनिएको छ।

नेपालको विद्यमान कानुन अनुसार १८ वर्ष मुनिकोसँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यो बलात्कार मानिन्छ। पल-समीक्षाको सम्बन्धको बेला उनको उमेर साढे १६ वर्ष देखिन्छ। उनले उजुरी दिए लगत्तै बलात्कारको मुद्दा लाग्ने भएकाले पलको समूहले उनलाई फकाइरहेको देखिन्छ।

समीक्षाको दाबी गरिएको अडियोमा उनलाई को-कोले के-के भने भन्ने नाम सहित खुलाएकी छिन्। त्यसमा केही रङ्ग पत्रकारको नाम समेत छ।

फिल्मको अडियो भएको पलको दाबी

सामाजिक सञ्जालमा अडियो सार्वजनिक भएपछि पलले फेसबुकमा स्पष्टीकरण लेख्दै 'प्रसारित अडियो रेकर्डमा बज्ने आवाज मेरो आवाजसंग मिलेको जस्तो भएतापनि उक्त आवाज मेरो हो भन्नेमा पूर्ण शङ्का रहेको' भन्दै प्रविधिको कुटिल प्रयोग मार्फत जस्तोसुकै र जोसुकैको आवाजलाई भिन्न भिन्न ढङ्गबाट प्रयोग गर्न सकिने कुरा सामान्य भइसकेको दाबी गरेका छन्।

'यहाँ पनि फरक प्रसङ्ग तथा चलचित्रमा अभिनय गर्ने भन्ने क्रममा रेकर्ड गरिएका संवादहरूलाई हाम्रो वास्तविक जीवनसँग जोड्ने प्रयासमा रहनु भएका मेरा केही पुरुष सहकर्मी (व्यवसायी प्रतिस्पर्धी) ले निज गायिकालाई मेरा विरुद्ध बोल्न, प्रमाण सिर्जना गर्न लगातार उकास्ने गरेको जानकारी मलाई थियो, निज निर्दोष गायिकाले मेरा पुरुष सहकर्मीहरूले उकासे बमोजिम नै गर्दै गएको भन्ने कुरा पछिल्लो मिडिया रिर्पोटले थप पुष्टि गरेको छ,' उनको दाबी छ।

तर सार्वजनिक भएको अडियो उनले दाबी गरेझै चलचित्रको अभिनय गर्नेक्रममा रेकर्ड गरिएझैँ सुनिन्न।

उनको अपिल
आदरणीय पत्रकार तथा मेरा दर्शकहरू महानुभावहरूमा नमस्कार।
लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा क्रियाशील रही दर्शकहरूले एक कुशल अभिनेताको रूपमा मन मुटुमा सजाउनु भएको प्रति म सदैव कृतज्ञ छु।

मेरा हरेक क्रियाकलाप र प्रस्तुतिहरूलाई यहाँहरूले अत्यधिक मन पराउनुको परिणाम स्वरूप म आज यो स्थान आई पुगेको छु। अझै पनि कडा सङ्घर्षकै बिच आफूलाई यहाँहरू समक्ष उभिएको छु भन्न कत्ति पनि हिचकिचाइदिन।

त्यसका बावजुद समाजलाई सकारात्मक बाटो तर्फ उन्मुख गराउने प्रकारका गतिविधि र खदिलो, दरिलो मनोरञ्जनात्मक प्रस्तुतिहरू लिएर आउने प्रण पनि गर्दछु। तर नेपाली समाज भित्र सङ्घर्ष गर्न अनेक बाधा र अडचनहरु आउने रहेछ। त्यस मध्येमा कतिपय कृत्रिम समस्या खडा गरी एउटा सङ्घर्षको चरणमा रहेको कलाकारलाई बारम्बार प्रहार हुँदा नमिठो अनुभूति भने पक्कै हुँदो रहेछ।  विगत केही समय यता महिला साथीहरुकोे मन्जुरी र अनुमति बेगर निजहरूको समेत तस्बिर राखी बनाइएको रिर्पोट र अन्य विभिन्न भ्रामक शीर्षक राखी आपत्तिजनक शब्दहरू प्रयोग गरी तथ्यविहीन लाञ्छना लगाई मेरो तथा निज गायिकाको समेत व्यावसायिक एवं व्यक्तिगत जीवनमा धक्का पुग्ने गरी प्रकाशित र प्रसारित भएको रिर्पाट, अडियो तथा समाचारहरू प्रति मेरो गम्भीर ध्यानाकर्षण भई सो बारेमा मेरा दर्शक, शुभचिन्तकहरूलाई सत्य तथ्य उजागर गर्ने मनसायसाथ यो अपिल जारी गरेको छु।

नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्यभुति गरेको हुँदा सत्य तथ्य समाचार प्रकाशन र प्रसारण गर्न नेपाली सञ्चार जगत स्वतन्त्र रहेकोमा विवाद छैन।

विगतमा पनि नेपाली प्रेसले विधिको शासन र नागरिक स्वतन्त्रताको पक्षमा अनुकरणीय भूमिका खेलेको गौरवमय इतिहास छ। तर यस्तो इतिहास बोकेको प्रेस जगतका केही सञ्चार माध्यम एकाङ्की र गैर जिम्मेवार भएको पाउँदा मलाई दुखी तुल्याएको छ।

म र मसँग नाम जोडेर समाचार प्रकाशित गर्दा, मेरो स्वतन्त्र प्रेसले मलाई एक वचन सोध्ने वा मेरो भनाई राख्न दिने अवसर पनि नदिएको हुँदा आम जन मानसमा सत्य उजागर गर्न यो अपिल प्रकाशित गर्न बाध्य भएको छु।

एक अविवाहित गायिका, नायिका र उच्च शिक्षा पढ्दै गरेकी कसैको छोरी चेलीबेटीको नाम र तस्बिर समेत सार्वजनिक गर्दै मसँग हुँदै नभएको प्रेम र विवाहका समाचार बनाएर हाम्रो चरित्र हत्या गर्न कुनै पनि मिडियालाई छुट हुँदैन, हुनु हुँदैन।

आम सञ्चार माध्यममा प्रकाशित यस किसिमका भ्रामक समाचारले म तथा अन्य नारी कलाकारहरूको व्यक्तिगत जीवनमा कस्तो नकारात्मक असर पर्छ त्यसको अनुमान समेत गर्न सकिँदैन।

उनीहरूको वर्तमान र भविष्यलाई नै अन्धकार बनाउने किसिमका उल्लेखित समाचारहरूले नेपाली प्रेस जगतको श्रीवृद्धिमा पक्कै पनि सहयोग गर्दैन।

अनलाइन माध्यमहरूमा प्रकाशित समाचार र अडियो रेकर्डहरू हेर्दा र सुन्दा म स्वयं आश्चर्यचकित भएको छु। प्रसारित अडियो रेकर्डमा बज्ने आवाज मेरो आवाजसङ मिलेको जस्तो भएतापनि उक्त आवाज मेरो हो भन्नेमा पूर्ण शङ्का रहेको, प्रविधिको कुटिल प्रयोग मार्फत जस्तोसुकै र जोसुकैको आवाजलाई भिन्न भिन्न ढङ्गबाट प्रयोग गर्न सकिने कुरा सामान्य भइसकेको छ।

यहाँ पनि फरक प्रसङ्ग तथा चलचित्रमा अभिनय गर्ने भन्ने क्रममा रेकर्ड गरिएका संवादहरूलाई हाम्रो वास्तविक जीवनसँग जोड्ने प्रयासमा रहनु भएका मेरा केही पुरुष सहकर्मी (व्यवसायी प्रतिस्पर्धी) ले निज गायिकालाई मेरा विरुद्ध बोल्न, प्रमाण सिर्जना गर्न लगातार उकास्ने गरेको जानकारी मलाई थियो, निज निर्दोष गायिकाले मेरा पुरुष सहकर्मीहरूले उकासे बमोजिम नै गर्दै गएको भन्ने कुरा पछिल्लो मिडिया रिर्पोटले थप पुष्टि गरेको छ।

मेरा सम्पूर्ण दर्शक महानुभावहरूको म प्रतिको भरोसालाई अक्षुण्ण राख्न, निज गायिकालाई मेरा प्रतिस्पर्धी साथीहरूले उकासेको अडियो लगायत अन्य प्रमाणहरू मसँग सुरक्षित रहेको र ती सबुत प्रमाणहरू आधिकारिक निकायले माग गरेको खण्डमा पेस गर्नेछु भन्ने प्रतिबद्धता व्यक्त गर्दै म र मसँग नाम जोडेर प्रकाशित उल्लेखित समाचारहरू वास्तविकता भन्दा धेरै टाढा रहेको हुँदा सोबाट भ्रमित नहुन हार्दिक अपिल गर्दछु।

अन्तमा: तपाईँहरूको अगाध माया र प्रेरणाले मलाई सत्य र निष्ठाको मार्गबाट कहिले पनि विचलित हुन दिने छैन र विचलित समेत हुने छैन भन्ने विश्वास दिलाउन चाहन्छु । 

अभिनेता
पल शाह

१० फागुन, २०७८, १३:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।