दुई दिनको प्रेमपछि ‘भ्यालेन्टाइन्स डे’मा भागी विवाह गरेका जोडीको कथा

दुई दिनको प्रेमपछि ‘भ्यालेन्टाइन्स डे’मा भागी विवाह गरेका जोडीको कथा

इटहरीः मोरङको रतुवामाईका जितबहादुर बस्नेतले चलाएको 'तेह्रथुमे होटेल' इटहरीमा चर्चित छ। नेता, प्रदेश सांसद र पत्रकारहरूको जङ्सन हो यो।

होटलमा जितबहादुरलाई साथ दिने उनकी श्रीमती मीनाको व्यवहारले झनै आकर्षण थपेको छ। केही वर्षअगाडि सोही स्थानमा किराना पसल गर्दै आएका उनीहरूले होटेलबाट राम्रो कमाई गर्दै आएका छन्।

 तर यो कथा होटलको होइन। उनीहरूको प्रेमको हो।

०००

लामो समय विदेश बसेका जितबहादुरले धेरै पटक हार व्यहोरे। तर हरेस खाएनन्। स्वदेशमै गरिखाने अठोटले इटहरीमा अहिले उनी स्थापित भएका छन्। 

जितबहादुरको यो व्यवसायिक जितको साक्षी हुन् मीना। यी जोडी हरेक वर्ष ‘भ्यालेन्टाइन्स डे’का दिन विवाह उत्सव मनाउँछन्। तीन दिनको प्रेमपछि भागी विवाह गरेका हुन् उनीहरूले। 

जितबहादुर २०६५ सालको माघमा विदेशबाट नेपाल फर्किएका थिए। डेढ महिनाको छुट्टीमा। घरमा ९८ वर्षका वृद्ध हजुरबुवाको दबाबमा उनले विवाह गर्नैपर्ने भयो। उनीसँग १५ दिन मात्र बाँकी थियो। भने जस्तो केटी पाएकै थिएनन्।

विवाह नहुने भयो भनेर आस मारिसकेका थिए।

जितबहादुर विदेशबाट आएपछि काठको घर भत्काएर पक्की घर बनाउन पनि थालेका थिए। घर व्यवहार धान्नुपर्ने थिएन, तर विवाहका लागि भने नगरी नहुने दबाब थियो। 

यहीबीचमा झापाको गौरादह चप्रमारीमा साथीको घर पुगे उनी। साथीकी बहिनीले जितबहादुरलाई आफ्ना साथीहरू देखाइन्- विवाहको लागि। 

घर ज्वाइँ बस्नुपर्ने भएकाले उनले मानेनन्। केही दिन ती साथीकै घरमै बस्नुपर्ने भयो।
 
जितबहादुर बसेकै घरकी छिमेकी थिइन्- मीना। 

मीना १९ पुगेर भर्खरै २० वर्ष लागेकी थिईन्। आफन्तले विवाहको लागि केटा देखाउन थालेका थिए। 

उनले तर खासै कोही मन पराएकी थिइनन्। स्वस्थानीको व्रत लिएर नियमित पूजापाठमा व्यस्त थिइन्। 

मीनाले छिमेकमा पाहुना आएको चाल पाएकी थिइन्। एक दिन चामल केलाइरहेकी मीनालाई जितबहादुरको साथीकी बहिनीले बोलाइन्।

मीना पनि सामान्यरूमै गफिन पुगिन्। बहिनीले चिया पकाउन भनिन्। मीनाले चिया पकाएर जितबहादुरलाई समेत दिइन्। उनले पनि खाइन्। 

सबैजना सँगै बसेर कुरा गरे। मीना र जितबहादुरको सामान्य परिचय भयो। 

मीनाले आफ्नी आमा बितेको कुरा कोट्याइन्। जितबहादुरले चाख दिएर सुनिरहे। 

भोलिपल्ट जितबहादुरले साथीकी बहिनीमार्फत मीनालाई मन पराएको खबर सुनाए। साँझको बेला ‘जित दाइले विहे गर्छु भन्दै हुनुहुन्छ, के गर्छेस् मीना?’ भन्दै साथीले सोधिन्। 

मीनाले ‘काहिँ नभाको कालो मान्छेसँग म विहे गर्छुकी क्या हो! के सोचेर यस्तो भनेकी?’ भन्दै उल्टै हप्काइन्।  

उता जितबहादुर मीनासँगै विवाह गर्ने मनस्थितिमा पुगिसकेका थिए। दोस्रो दिन पनि फलहार खाने बहानामा मीना छिमेकमा पुगिन्। 

छिमेकी आन्टीले ‘जितबहादुर विहे गर्छु भन्दैछ। के गर्छेस हौ मीना?’ भन्दै सोधिन्। उनले ‘म अहिले गर्दिनँ आन्टी’ भन्दै टारिन्। 

तर जितबहादुरले कसरी फकाउने भन्ने योजना बनाइसकेका थिए। 

योजना
तेस्रो दिन जितबहादुर ज्वरो आएर सुते। साथीकी बहिनीमार्फत मीनालाई बोलाउन लगाए। “मलाई ज्वरो आएको छ दबाइ ल्याइदेन” भनेर अह्राए। 

सुरुमै ‘तँ’ भनेर सम्बोधन गरेपछि मीना छक्क परिन्। त्यही दिन टिभिमा 'मंगलसुत्र' फिल्म हेर्ने सल्लाह गरे। फिल्म हेर्ने बहानामा मीनालाई साथीको घरमा बोलाउने योजना बनाए जितबहादुरले। अनि त्यही बीचमा आफू विहे गर्न तयार रहेको सुनाए। 

“घरमा दुखः छ। घाँस काट्नुपर्छ। गोबर सोहोर्नुपर्छ। त्रिपाल टाँगेको घर छ। परिवार ठूलो छ,” भन्दै जितबहादुरले कहानी सुनाए। 

यता मीनाको मन पनि पग्लिँदै गएको थियो। मीना अहिले पनि दबाई किनेर ल्याएपछि माया पलाएको सुनाउँछिन्। 

नढाँटी सबै कुरा भनेपछि उनी झनै प्रभावित भइन्। विवाह गर्न राजी भएको सुनाइन्। 

अघिल्लो दिनसम्म नामै सुन्न नमान्ने मीना एक्कासि भागेर विवाह गर्न तयार भइन्। मीना राजी भएपछि कसरी भाग्ने भन्ने योजना पनि त्यही दिन बन्यो।

जितबहादुर साथीको घरमा बसेको ४ दिन भयो। कुरा गर्दै जाँदा मीनाका दाइ कुमार चुडाल जितबहादुरका विदेशमा सँगै बसेका साथी रहेछन्। 

कुमारले “विहे खुवाउनुपर्छ है जिते” भन्दै जिस्काए। जवाफमा जितबहादुरले “दुई दिनभित्र यहीँ गाउँबाट केटी भगाउँछु दाइ। जन्ती चाहिँ त्यस्तै हो बरू भत्तेरमा चाहिँ बोलाउँला” भने। 

कुमारले मीनालाई “कस्की छोरी भगाउन लागेछ?” भनेर सोधे। मीनाले केही थाहा नपाए जस्तो गरिन्। 

त्यसपछि जितबहादुरको बारेमा कुमार आफैँले मीनालाई थप सुनाए। जितबहादुरको केटी र रक्सीबाट टाढा रहने बानी बुझेपछि मीना झनै ढुक्क भइन्। 

भोलिपल्ट स्वस्थानीको साङ्गेको तयारी चलिरहेको थियो। फाल्गुन १ गते साङ्गेको दिन थियो। मीना धेरै व्यस्त भइन्। जितबहादुरले ८ रोटी खान खोलामै आउँछु भन्दै उनलाई जिस्काए। मीनाले मानिनन्। 

रातभर जाग्राम बसेर मीना लिङ्गो सेलाउन ४ बजे नै खोला गइन्। घर फर्किएपछि खाना खाएर आराम गर्न लागेकी थिइन् उनी। भाग्ने समय नजिकिँदै गर्दा उनलाई निद्राले च्याप्यो। 

११ बजे भेट्ने बेला नजिकिँदै थियो। भाग्ने कि निदाउने दोधारमा भइन्। 

सुत्नुभन्दा भाग्नु नै उपयुक्त हुने उनलाई लाग्यो। स्कुलकी साथीलाई प्रसाद पुर्याउने बहानामा घरबाट निस्किइन्। 

भर्खरै दिदीले किनेको साइकलमा प्रसाद च्यापेर उनी बाटो लागिन्। २०६५ साल फाल्गनु २ प्रणय दिवसकै दिन उनी भागिन्।

नजिकैका छिमेकीलाई प्रसाद छाडेर उनी बाटो लागिन्। केही पर जितबहादुर साइकलमा अरू साथीहरू लिएर आएका थिए। 

केटाहरूलाई स्कर्टिङ गर्न अह्राए। साइकलमा स्कर्टिङ गरेर मीनालाई लिएर भागे जितबहादुर। 

जितबहादुरको घर पुग्न रतुवा खोला तर्नुपर्ने थियो। रतुवाको बगरमा धेरै झुप्राहरू थिए। स्कर्टिङ गर्ने केटाहरू सबै झुप्रातिर पसे। धेरै बेरसम्म पनि नआएपछि मीनाको मनमा चिसो पस्यो। 

चेलीबेटी बेचबिखनको चर्चा धेरै थियो। “मैले सोचेँ अब मलाई बेच्न खोजिरहेका छन्। मनमा डर लाग्न थाल्यो”, उनले सुनाइन्, “तर म जसरी पनि फुत्किन्छु भन्ने थियो। केटाहरू खाजा खान गाउँ गएका रहेछन्।”

जितबहादुरले होटेलमै बस्न आग्रह गरे। मीनाले विवाह गरेको भए घरै लैजानुपर्ने नभए आफू फर्किने चेतावनी दिइन्। साँझमा घर पुगेपछि मीना आत्तिइन्। 

उचाल्नै नसक्ने भाँडामा खाना पकाएको देखेर उनी छक्क परिन्। घर बनाउने मिस्त्रीसहित सपरिवार त्रिपालमुनि बसेका थिए। वरिपरि त्रिपाल टाँगेर छानो पनि त्रिपालकै बनाइएको थियो। 

गाईभैंसी, गोरु, बाख्रा देखेपछि अब काममा पेलिनुपर्ने सोच्न थालिन्। विगतमा काम नगरी हुर्केकी उनको लागि कामैकामको बोझ थपियो। 

घरमा बा–आमाको जिम्मा लगाएर जितबहादुर निस्किए। साँझमा निस्किएका उनी भोलिपल्ट बिहान मात्र आए। रातभर मीना भोकै सुतिन्। 

राति नै भागौँ कि भनेर पनि सोचिन्। त्यो दिन मनमनै धेरै रोएको सुनाउँछिन् उनी। त्यसैले हरेक बर्षको फाल्गनु २ गतेको रातलाई कालो रात सम्झिन्छिन् उनी।

मीना भागेको हल्ला गाउँमा फैलिँदै थियो। सबैले पत्याए पनि मीनाका बाले पत्याएनन्। साथीको घर गएकी भन्दै उनी विश्वासमै थिए। 

त्यही भएर विश्वास गरेकी छोरीले धोखा दिएको भन्दै बाले पछि चित्त दुखाए। 

लामो समयसम्म पनि उनलाई माइती बोलाएनन्। मीनाका फुपुका छोरा जितबहादुरका छिमेकी थिए। उनैले मीनाको विवाह गरिदिए। भागेर आएको तीन दिनपछि सिन्दुर-पोते भयो। 

घर बनाउने मिस्त्रीलाई जन्ती बनाएर विवाह गरेको स्मरण सुनाउँछन् जितबहादुर।

२ फागुन, २०७८, ०९:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।