दरबारकालीन बङ्करमा समेत होटल चलाउने बतासलाई कारबाही गर्न सिफारिस

दरबारकालीन बङ्करमा समेत होटल चलाउने बतासलाई कारबाही गर्न सिफारिस

काठमाडौँ : बतास समूहले पुरानो दरबारकालीन बङ्करमा समेत होटल सञ्चालनको तयारी गरिरहेको छानबिन समितिले जनाएको छ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको छानबिन समितिले अवलोकनका क्रममा बङ्करमा समेत होटल सञ्चालनको लागि तयारी गरिरहेको देखिएको जनाएको हो। 

समितिले पर्यटनमन्त्री प्रेम आलेलाई बुझाएको प्रतिवेदनमा करिब १३ सय वर्ग फिटमा स्थायी शौचालयको संरचना निर्माण भएको, करिब २० फिट उचाइ र ४० फिट जति लम्बाई रहेको फलामे रडको स्टेज मञ्च निर्माण भइरहेको, विभिन्न स्थानमा ७ वटा प्रतीक्षालयका संरचनाहरू निर्माणाधीन रहेका उल्लेख गरिएको छ। 

उत्तरतर्फ रहेको पुरानो पर्खाललाई आधार बनाई १ इन्चको नयाँ पर्खाल लगाइ दक्षिण फर्काइएका १२ वटा फलामे सटरहरू निर्माणाधीन रहेका र उक्त स्थानमा रहेको पिपलको रुख वरिपरि पर्खाल निर्माण हुँदै गरेको समितिको प्रतिवेदनमा लेखिएको छ। 

समितिले क्यान्टिन क्याफेटेरिया सञ्चालन गर्नका लागि क्याफेटेरियाले प्रयोग गर्न पाउने क्षेत्रफल र स्थानको स्पष्ट सीमाङ्कन नभएको उल्लेख गरेको छ। बतास समूहले नारायणहिटी दरबार सङ्ग्रहालय विकास समितिसँग पूर्व स्वीकृति र समन्वय नगरी नयाँ संरचनाहरू निर्माण गरिरहँदा समितिका कार्यकारी निर्देशकबाट सम्पत्तिको संरक्षण र संवर्द्धनका लागि अनुगमन, निरीक्षण तथा रेखदेख गर्ने जिम्मेवारी पुरा नगरेको प्रतिवेदनमा लेखिएको छ। 

प्रतिवेदनमा लेखिएको छ,‘समितिका कार्यकारी निर्देशकबाट सम्झौता विपरीत बि.म्यानेजमेन्ट प्रा.लि.ले नयाँ संरचना निर्माण गर्दा कुनै पनि कानुनी कारबाही गरेको पाइएन, निर्माण कार्यलाई तत्काल रोक्न र निर्माण नै हुन नदिने तर्फ पनि कुनै पहल भएको देखिएन।’ 

समितिले ठेक्का सम्झौता कार्यमा एक आपसमा मिलेमतो भएको हुन सक्ने उल्लेख गरेको छ। वि. म्यानेजमेन्ट प्रा.लि. (बतास समूह)ले अनुमति पाएको भन्दा बढी क्षेत्रफलको जग्गामा नयाँ संरचनाहरू निर्माण गरेको देखिएकाले निर्माण कार्य तत्काल रोकी सम्बन्धित निकायबाट आवश्यक कारबाही हुनुपर्ने सुझाव समितिले दिएको छ। 

बतासबारे उकेराको सामाग्री

२६ पुस, २०७८, १९:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।