आरजुले ढाँटिन् कि बतासले किर्ते गर्‍यो ?

आरजुले ढाँटिन् कि बतासले किर्ते गर्‍यो ?

पशुपति धर्मशाला, पाटनको सार्वजनिक पाटीको व्यापारिक दोहन गर्दै आएको बतासले पर्यटन मन्त्रालयका तत्कालीन नेतृत्व र नारायणहिटी सङ्ग्रहालय विकास समितिको नेतृत्वलाई प्रभावमा पारेर नारायणहिटी परिसरमा रेस्टुरेन्ट खोल्न भवन बनाएको सार्वजनिक भएसँगै पर्यटन मन्त्रालयले बिहीबार छानबिन समिति गठन गर्यो।

बतास र आरजुको सम्बन्धबारे मङ्गलवारदेखि नै समाचार आइरहेका थिए। बुधबार बतास अर्गनाइजेशनको वेबसाइट हेर्न नमिल्ने बनाइयो। अनि बिहीबार राणाले आफू ६ वटा संस्थासँग मात्रै आबद्ध रहेको दाबी गर्दै आफ्नो फेसबुक पेजमा प्रेस नोट राखिन्। उनले राखेको ६ वटा संस्थामा बतास फाउन्डेसनको नाम छैन।

नेपाली काङ्ग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी राणाको दाबी अनुसार उनी ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) मा संस्थापक अध्यक्ष तथा सल्लाहकार, साथी, नेपालमा संस्थापक, पूर्व अध्यक्ष तथा सल्लाहकार, सुरक्षित मातृत्व सञ्जाल महासङ्घ मा  संस्थापक एवं वर्तमान अध्यक्ष, नामीमा अध्यक्ष,  उल्लेन्स स्कुलको व्यवस्थापन समितिमा अध्यक्ष र ब्लड डोनर्स एसोसिएसनको संरक्षक छिन्।

तर बतासले भने बकाइदा उनको नाम र तस्बिरसहित सल्लाहकार समूहमा राखेको छ। उनीसँगै क्रिस वार्डल, खेमराज उपाध्याय सल्लाहकार समितिमा छन्। फाउन्डेसनको अध्यक्ष आनन्द बतास आफैँ छन्। निर्देशकमा पूर्व मिस नेपाल सुगारिका केसी छिन्। महासचिवमा विन्दु मानन्धर छिन्।

राणाले आफू सो संस्थामा आबद्ध नरहेको दाबी सार्वजनिक गरेपछि यसबारेमा बुझ्न फाउन्डेसनको कार्यालयमा पटक-पटक सम्पर्क गर्न खोज्दा कोही सम्पर्कमा आएनन्। फाउन्डेसनको साइट सार्वजनिक रूपमा हेर्न नमिल्ने बनाइए पनि अर्काइभबाट हेर्दा जनवरी पाँचसम्म आरजुको नाम सल्लाहकारमा राखिएको छ।

आरजुले फेसबुकमा राखेको प्रेस नोट

 

सञ्चार माध्यमहरूमा विभिन्न सङ्घ संस्थाहरूमा मेरो संलग्नता भएको भनेर समाचारहरू आएकोमा मेरो ध्यानाकर्षण भएको छ, तल उल्लेखित संस्थाहरू बाहेक अरू कुनै पनि संस्थाहरूमा सल्लाहकार अथवा अन्य कुनै पदमा मेरो संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छु ।

१. ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक), नेपाल Rural Women's Development and Unity Centre (RUWDUC)

(संस्थापक अध्यक्ष तथा सल्लाहकार)

२. साथी, नेपाल (संस्थापक, पूर्व अध्यक्ष तथा सल्लाहकार)

३. सुरक्षित मातृत्व सञ्जाल महासङ्घ ( संस्थापक एवं वर्तमान अध्यक्ष)

४. नामी (अध्यक्ष)

५. उल्लेन्स स्कुल (अध्यक्ष, विद्यालय व्यवस्थापन समिति)

६. Blood Donors association of Nepal BLODAN (संरक्षक)

डा. आरजु राणा देउवा

केन्द्रीय सदस्य, नेपाली काँग्रेस

२२ पुस, २०७८, १८:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।