सुदूरपश्चिममा एकीकृत समाजवादीका चार सांसद्लाई संसदीय दलको चार पद ठिक्क

सुदूरपश्चिममा एकीकृत समाजवादीका चार सांसद्लाई संसदीय दलको चार पद ठिक्क

काठमाडौ : सुदूरपश्चिम प्रदेशसभामा एकीकृत समाजवादीका चार सांसद् छन्। तीन प्रत्यक्षबाट निर्वाचित र समानुपातिकबाट एक जना।

चार जना सांसद् रहेको यो पार्टीबाट चारै जनाले संसदीय दलमा पद पाएका छन्। शुक्रबार पार्टीबाट निर्वाचित ज्येष्ठ सदस्य प्रकाश रावलको अध्यक्षता तथा पार्टीका प्रदेश सचिव दिनेशचन्द्र सुवेदीको उपस्थितिमा बसेको बैठकले चारै जनालाई पदको भागबण्डा लगाएको हो।

बैठकले दलको नेतामा दीर्घ सोडारी चयन गर्दा उपनेतामा कन्चनपुरबाट निर्वाचित प्रकाश रावललाई चयन गरेको छ।

यस्तै अन्य दुई सांसद्मध्ये बाजुराबाट निर्वाचित नरेश शाहीलाई प्रमुख सचेतक र माया पन्तलाई सचेतक तोकिएको छ।

संसदीय दलको नेता तोकिएका सोडारी कैलाली निर्वाचन क्षेत्र ४ (१) को प्रदेशसभामा चार हजार ७६ मतान्तरले विजयी भएका हुन्। उनी प्रदेश सरकारका वर्तमान भौतिक पूर्वाधार विकास मन्त्रीसमेत हुन्।

१५ पुस, २०७९, १८:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।