‘टुरिस्ट नेता’का चुनावी यात्रा : कोहि काठमाडौं र गोरखा चढे, कोही बारा झरे

‘टुरिस्ट नेता’का चुनावी यात्रा : कोहि काठमाडौं र गोरखा चढे, कोही बारा झरे

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति नजिकिँदै गर्दा विभिन्न राजनीतिक दल र उम्मेदवारहरूले प्रचारप्रसारलाई तीव्र बनाउँदै लगेका छन्।

उम्मेदवारहरू आफ्नो निर्वाचन क्षेत्र केन्द्रित गतिविधिमा सक्रिय हुन थालेका छन्। मतदाताले पनि आफ्नो क्षेत्रमा को–को उम्मेदवार बन्छन् भन्नेबारे चासो राखेका छन्।

चुनावकै समयमा चर्चामा आउने एउटा विषय हो ‘टुरिस्ट नेता’। आफ्नो निर्वाचन क्षेत्र छाडेर अन्यत्रबाट उम्मेदवार दिने तथा साविकको निर्वाचन क्षेत्र छाडेर नयाँ क्षेत्रबाट उठ्ने नेतालाई यो उपमा दिने गरिन्छ।

नेपालको राजनीतिक इतिहासमा वर्षौंदेखि विभिन्न नेताले आफ्नो निर्वाचन क्षेत्र वा आफू बसोबास गर्दै आएको क्षेत्र छाडेर अन्यत्र उम्मेदवार बनेको कयौं उदाहरण पाइन्छ।

आफ्नो गृह जिल्ला छाडेर अन्य जिल्लामा चुनाव लड्न जाँदा मतदाताले त्यस्ता उम्मेदवारमाथि लगाउने पहिलो आरोप नै ‘टुरिस्ट उम्मेदवार’ हो। यद्यपि कयौं त्यस्ता नेताले चुनाव जित्ने गरेको पनि पाइन्छ।

अस्थिर दाहाल, चितवनबाट गोरखा उक्लिए
दुई पटक प्रधानमन्त्री बनिसकेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजनीतिक रूपमा मात्रै नभएर चुनावी मैदानमा समेत अस्थिर देखिएका छन्। आफूले नजित्ने देखिए उनी चुनावी मैदान फेरिहाल्ने नेताका रूपमा परिचित भएका छन्।

तत्कलीन विद्रोही माओवादी शान्ति प्रक्रियामा आएपछि २०६४ मा पहिलो पटक संविधान सभाको निर्वाचन हुँदा माओवादी अध्यक्ष दाहालले रोल्पा क्षेत्र नं. २ र काठमाडौं क्षेत्र नं. १० बाट चुनावी मैदानमा उत्रिए र दुवै ठाउँबाट निर्वाचित पनि भए।

त्यसपछि दाहाल लोकतान्त्रिक गणतन्त्रको पहिलो प्रधानमन्त्री बने। तर, तत्कालीन प्रधानसेनापति रुकमांगत कटुवाललाई बर्खास्त गरेपछिको उत्पन्न परिस्थितिका कारण उनले राजीनामा दिए।

पहिलो संविधान सभाले संविधान दिन नसकेपछि पुनः २०७० मा संविधान सभाको दोस्रो चुनाव भयो। २०७० को संविधान सभा चुनावमा भने दाहालले जोखिम महसुस गर्दै रोल्पाबाट उम्मेद्वारी दिएनन्। निर्वाचन क्षेत्र नै परिवर्तन गरे।

दाहालले काठमाडौं–१० र सिरहा–५ गरी दुई ठाउँबाट उम्मेदवारी दिए। तर, दोस्रो पटकको संविधानसभा निर्वाचनमा भने काठमाडौंबाट उनी हारे। सिरहाबाट भने झिनो मतान्तरले विजयी भए। २०७३ मा उनी दोस्रोपटक प्रधानमन्त्री समेत बने। 

२०७४ को निर्वाचनमा पार्टी नै एकीकरण गर्ने शर्तमा माओवादी र एमालेबीच वाम गठबन्धन भयो। २०६४ को चुनावमा भने दाहाल आफ्नै गृह जिल्ला चितवन क्षेत्र नं.–३ मा पुगे। चितवनबाट उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए।

तर, आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनमा भने गोरखा–२ को चुनावी मैदानलाई उनले सुरक्षित ठानेर दाहाल चितवनबाट गोरखा उक्लिएका छन्।

क्षेत्र बदल्न माहिर महतो
अर्का नेता राजेन्द्र महतो पनि निर्वाचन क्षेत्र बदल्न माहिर देखिएका छन्।

मंसिर ४ को निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट महतो सर्लाही क्षेत्र नं. २ बाट चुनावी मैदानमा होमिएका छन्। महतोले २०४८ र २०५१ मा सर्लाही–२ बाट संसदीय चुनाव लडे पनि पराजित भएका थिए। त्यसपछि २०५६ मा यसै क्षेत्रबाट संसदमा पुग्ने अवसर पाएका थिए।

२०६४ को पहिलो संविधान सभा सिदस्य नर्वाचनमा महतो निर्वाचन क्षेत्र परिवर्तन गर्दै सर्लाही–४ बाट चुनाव लडेर बिजयी भएका थिए। त्यसपछि पुनः २०७० को दोस्रो संविधान सभा चुनावमा सर्लाही–२ बाट नै चुनाव लडेका महतो महिन्द्र राय यादवसँग पराजित भएका थिए। त्यसपछि फेरी महतोले चुनावी मैदान फेरे।

२०७४ को चुनावमा महतो धनुषा क्षेत्र नं. ३ बाट कांग्रेसका उम्मेद्वार बिमलेन्द्र निधिलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा बिजयी भएका थिए। मंसिर ४ को चुनावमा महतोका मुख्य प्रतिष्पर्धी माओवादी केन्द्रकोतर्फबाट चुनावी मैदानमा उत्रिएका यादव देखिन्छन्। 

रोल्पाबाट काठमाडौंमा ओनसरीको उडान
रोल्पाकी ओनसरी घर्तीको राजनीतिक यात्रा रोल्पाबाटै सुरु भएको हो। शान्ति प्रक्रियापछि २०६३ मा बनेको अन्तरिम व्यवस्थापिका संसदमा उनी छिरेकी हुन्।

घर्ती २०६४ को पहिलो संविधान सभा निर्वाचनमा रोल्पाबाट समानुपातिक सांसद बनिन्। दोस्रो संविधान सभा २०७० को निर्वाचनमा रोल्पा क्षेत्र नं. २ बाट उनी संविधान सभा सदस्यमा प्रत्यक्ष निर्वाचित सांसद बनिन्। २०७२ मा उनी सभामुख समेत भएकी थिइन्। 

२०७४ मा घर्ती रोल्पाबाटै समानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्य बनिन्। आगमी निर्वाचनमा भने घर्तीले नयाँ निर्वाचन क्षेत्रको यात्रा छनोट गरेकी छन्। सत्ता गठबन्धनको तर्फबाट उनी मंसिर ४ गते मा हुने प्रतिनिधिसभा सदस्य चुनावमा काठमाडौं क्षेत्र नं. २ को चुनावी मैदानमा होमिएकी छिन्।

रोल्पा छाडेर चुनौती मोल्दै उनी यो क्षेत्रको चुनावी मैदानमा उत्रिएकी हुन्। यसपालीको चुनावमा एमालेका उम्मेदवार मणिराम फुयाँलसँग उनको मुख्य प्रतिस्पर्धा हुने देखिन्छ। फुँयाल स्थानीय उम्मेदवार भएकाले घर्तीले निक्कै मेहनत गर्नुपर्ने देखिन्छ।

तनहुँबाट काठमाडौं उक्लिए प्रदीप
नेपाली कांग्रेसका युवा नेताका रूपमा परिचित प्रदीप पौडेलले काठमाडौं क्षेत्र नं. ५ बाट आगामी निर्वाचनमा उम्मेदवारी दिएर चुनावी मैदानमा होमिएका छन्। विद्यार्थी राजनीतिबाट अगाडि बढेका पौडेल नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बने पनि पराजित भएका थिए।

नयाँ ठाउँको खोजी गर्दै काठमाडौं–५ मा होमिएका उनका मुख्य प्रतिस्पर्धी एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल हुन्। पोखरेल काठमाडौं–५ बाट चौथो पटक चुनावी मैदानमा उत्रिएका हुन् भने पौडेल पहिलो पटक।

२०६४ र २०७० को पहिलो र दोस्रो संविधान सभा सदस्य निर्वाचनमा कांग्रेसका नरहरि आचार्यसँग पराजित भएका पोखरेल २०७४ मा वाम गठबन्धनको फाइदा उठाउँदै काठमाडौं–५ बाट निर्वाचित भएका थिए। उनले कांग्रेसका डा. प्रकाशशरण महतलाई पराजित गरेका थिए।

तनहुँका पौडेलले २०७४ को चुनावमा तनहुँ क्षेत्र नं. २ ‘क’ बाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दिए पनि पराजित भएका थिए। तत्कालीन वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार आशा कोइरालासँग पाँच मतले पराजित भएका थिए उनी। यसपाली पोखरेलसँग उनको कडा चुनावी टक्कर पर्ने देखिन्छ।

आफ्नै क्षेत्रमा सरे पुकार बम
चुनावी मैदान बदल्ने अर्का उम्मेदवार पुकार बम पनि हुन्। २०७० मा भएको दोस्रो संविधान सभा र २०७४ मा भएको आम निर्वाचनमा काठमाडौं–८ बाट चुनावी मैदानमा उत्रिए पनि उनी पराजित भएका थिए।

सामाजिक अभियान्ताको छवि बनाउने कोसस गरेका कैलालीका बमले आगामी निर्वाचनमा काठमाडौं–१ आइपुगेका हुन्। विवेकशील नेपाली दलबाट राजनीतिक यात्रा शुरू गरेका उनले अहिले भने स्वतन्त्र राष्ट्रिय पार्टीको तर्फबाट उम्मेदवारी दिएका छन्।

काठमाडौं–१ मा आफ्नो स्थायी बसोबास रहेका र २०६७ बाटै थापाथलीस्थित वडा नं. ११ ‘भोटिङ लिष्ट’ मा नाम रहेकाले पनि यसपटक आफ्नै क्षेत्रबाट उम्मेदवारी दिएको उनले जानकारी दिए।

काठमाडौं–१ मा कांग्रेसका प्रकाशमान सिंह, एमालेका किरण पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्र, नेपाल सुशासन पार्टीका रमेश खरेल र बमबीच प्रतिस्पर्धा हुने देखिन्छ।

आगामी निर्वाचनमा यस क्षेत्रबाट देशकै सबैभन्दा बढि ३२ जना उम्मेदवार छन्। ३२ मध्ये २१ वटा राजनीतिक दल र ११ जना स्वतन्त्रले उमेद्वारी दिएका छन्।

रामचन्द्रका कारण बारा झरेका किसान
चुनावी क्षेत्र बदल्ने अर्का नेता हुन् एकीकृत समाजवादीका कृष्ण कुमार श्रेष्ठ (किसान)।

२०७४ को निर्वाचनमा तनहुँ–१ बाट कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गरेर प्रतिनिधि सभा सदस्यमा विजयी भएका उनले आगामी निर्वाचनमा बारा–४ बाट उम्मेदवारी दिएका छन्। यसपटक रामचन्द्र पौडेललाई क्षेत्र छाडेका उनलाई गठबन्धनले बाराबाट उम्मेदवार बनाएको हो।

२४ कात्तिक, २०७९, ०९:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।