दोस्रो पटक डेंगु सङ्क्रमण भए फरक सेरोटाइपको हुने, स्वास्थ्यमा जोखिम पनि बढ्ने

दोस्रो पटक डेंगु सङ्क्रमण भए फरक सेरोटाइपको हुने, स्वास्थ्यमा जोखिम पनि बढ्ने

काठमाडौंः स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार साउनयता ५४ जनाको डेंगु सङ्क्रमणकै कारण मृत्यु भइसकेको छ। यस्तै ७६८ जनामा सङ्क्रमण पुष्टि भएको छ। 

डेंगुले महामारीकै रूप लिन लागिरहँदा समेत यसको नियन्त्रणमा सरकारको चासो भने देखिँदैन। यस विषयमा ठोस र सक्रिय अध्ययन अनुसन्धान गरेको पनि देखिँदैन।

यता चिकित्सकहरू भने पहिलो पटकभन्दा फरक प्रकार (सेरोटाइप)को डेंगु सङ्क्रमण भए स्वास्थ्यमा जटिलता निम्तने जोखिम बढी हुने भन्दै सजग गराउँछन्।

दोस्रो पटक फरक सेरोटाइपको डेंगु सङ्क्रमण भएको खण्डमा स्वास्थ्यमा जोखिम बढ्ने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन बताउँछन्। तर, पहिलो पटक डेंगुको जुन सेरोटाइपले सङ्क्रमण गर्यो अर्को पटक पुनः त्यही सेरोटाइपले सङ्क्रमण गरेमा भने स्वास्थ्य जटिलता न्यून हुने उनले बताए।

‘चार प्रकारका डेंगुका सेरोटाइपमध्ये पहिले जुन प्रकारले  सङ्क्रमण गर्यो पुनः त्यही सेरोटाइपले सङ्क्रमण गर्यो भने त्यो खतरा हुने सम्भावना न्यून हुन्छ', डा. पुनले भने, ‘तर, फरक सेरोटाइपले सङ्क्रमण गर्यो भने त्यो धेरै कडा हुनसक्छ।’

डेंगु– १, डेंगु–२, डेंगु–३ र डेंगु–४ गरी चार प्रकारका डेंगु हुने डा. पुन बताउँछन्। यी डेंगुका भाइरस हुन्। स्वास्थ्य परीक्षण गरी कुन प्रकारको डेंगु हो भन्ने पत्ता लगाउन सकिन्छ। डा. पुनले थप भने, ‘मानौँ यो वर्ष डेंगुको सेरोटाइप–१ लागेको छ र अर्को वर्ष सेरोटाइप २, ३, ४ ले सङ्क्रमण गराए बढी कडा लक्षण देखिन्छन्।'

त्यसो त व्यक्तिमा यी चारमध्ये जुन प्रकारको डेंगु भएको हो त्यही प्रकारको डेंगु नदोहोरिने टेकु अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विमल शर्मा चालीसे बताउाछन्।

त्यसो त एक पटक डेंगु सङ्क्रमण भएर ठीक भइसकेपछि केही समयका लागि चारै प्रकारका डेंगुको भाइरसविरुद्ध लड्ने रोग प्रतिरोधात्मक क्षमता बढ्ने उनको दावी छ।

‘जुन प्रकारको डेंगुले पहिलो पटक गलाउँछ त्यही प्रकारको डेंगु जिन्दगीभर पुनः दोहोरिने सम्भावना ज्यादै न्यून हुन्छ’, डा. चालीसेले भने, ‘त्यसमा इम्युनिटी बसेको हुन्छ भनिन्छ।’

त्यसैले एकपटकभन्दा बढी सङ्क्रमण हुँदा पहिलेको भन्दा भिन्दै प्रकारको डेंगु हुने डा. चालीसे बताउँछन्। त्यसैले पहिलो पटकपछि डेंगु सङ्क्रमण भएको खण्डमा स्वास्थ्य जटिलता निम्तने जोखिम बढी हुने उनले बताए। 

‘अर्को पटक डेंगु हुँदा अर्को सेरोटाइपले हुनुपर्यो’, डा. चालीसेले भने, ‘अर्को प्रकारले डेंगु हुँदा स्वास्थ्य जटिलता निम्तने सम्भावना ज्यादै हुन्छ।’

त्यसो त एक पटक डेंगु सङ्क्रमण भएर ठीक भइसकेपछि केही समयका लागि चारै प्रकारका डेंगुको भाइरसविरुद्ध लड्ने रोग प्रतिरोधात्मक क्षमता बढ्ने उनको दावी छ।

‘केही समयको लागि चारैथरीमा इम्युनिटी हुन्छ’, उनले भने, ‘जुन प्रकारको भाइरसले डेंगु गराएको छ त्यही प्रकारको भाइरसविरुद्ध लड्नका लागि शरीरमा दीर्घकालीन रूपमा रोग प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।’

फरक सेरोटाइपको जोखिम
डेंगुको सेरोटाइप अध्ययन गरेको खण्डमा आगामी दिनमा कुन प्रकारको डेंगु आउनसक्छ भनेर नियन्त्रण तथा अस्पताल लगायत विभिन्न व्यवस्थापनका लागि पूर्वतयारी गर्न सकिन्छ।

चिकित्सकका अनुसार संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको भाइरस हो, डेंगु। एडिस जातको पोथी लामखुट्टेले डेंगु संक्रमित व्यक्तिलाई टोकेर अर्को स्वस्थ व्यक्तिलाई टोकेको खण्डमा डेँगु सर्नसक्ने डा. पुन बताउँछन्।

चिकित्सकको मतअनुसार सामान्यतया एकपटक डेंगु भएपछि १/२ वर्ष पुनः डेंगु हुने सम्भावना ज्यादै न्यून हुन्छ।

यस्तै एक ठाउँमा एक सेरोटाइपको देखिएको डेंगु अर्को ठाउँमा अर्को देखिनसक्छ। ‘काठमाडौंमा देखिएको डेंगुको सेरोटाइप धरानमा नदेखिन पनि सक्छ’, डा. पुनले भने।

त्यसैले हरेक शहरमा डेंगु सक्रमणको सेरोटाइपको अध्ययन गर्न जरुरी हुने चिकित्सक बताउँछन्।

कति दिनसम्म सर्न सक्छ डेंगु?
डेंगु सङ्क्रमण भएको व्यक्तिमा ज्वरो हराएपछि अर्को व्यक्तिमा सर्ने सम्भावना कम हुने डा. चालीसेले जानकारी दिए। संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा कति दिनसम्म डेंगु सर्नसक्छ भन्ने जिज्ञासामा डा. चालीसले भने, ‘ज्वरो आउँदासम्म सर्न सक्छ। सामान्यतया ज्वरो आएको ६/७ दिनसम्म लामखुट्टेले टोक्यो भने अर्को व्यक्तिमा डेंगु सर्न सक्छ। त्यसपछि सर्ने सम्भावना कम हुन्छ।’

व्यक्तिको रोग प्रतिरोधात्मक क्षमता लगायतका आधारमा व्यक्तिमा डेंगुको लक्षण कम हुँदै जाने चिकित्सक बताउँछन्। कडा लक्षण देखिएको खण्डमा केही लामो समय हिँड्डुल गर्न नसकिने र लक्षण कम देखिएको व्यक्तिमा चाँडै निको (रिकभरी) हुने उनले सुनाए।

चिकित्सकका अनुसार संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको भाइरस हो, डेंगु। एडिस जातको पोथी लामखुट्टेले डेंगु संक्रमित व्यक्तिलाई टोकेर अर्को स्वस्थ व्यक्तिलाई टोकेको खण्डमा डेँगु सर्नसक्ने डा. पुन बताउँछन्।

डेंगु सङ्क्रमणबाट बच्ने मुख्य उपाय भनेकै लामखुट्टेको टोकाइबाट बच्नु हो। झुल लगाएर सुत्ने र पूरा शरीर ढाक्ने गरी कपडा लगाउने हो।

अत्यधिक ज्वरो आउने, शरीर दुख्ने, बान्ता हुने, झाडापखाला लाग्ने, शरीर कमजोर हुने, वाकवाकी लाग्ने जस्ता डेंगु सङ्क्रमणका मुख्य लक्षण हुन्।

१६ डिग्रीभन्दा बढी तापक्रम यो जातको लामखुट्टेको लागि उचित वातावरण भएको चिकित्सक बताउँछन्। नेपालमा चिसो मौसम सुरु भएसँगै डेंगु सङ्क्रमण कम हुँदै जाने देखिन्छ। 

काठमाडौं उपत्यकाका अस्पतालहरूमा नयाँ डेंगु संक्रमितको चाप कम हुँदै गए पनि सक्रिय संक्रमितको चाप भने अझै छ।

१८ कात्तिक, २०७९, ११:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।