दुई वर्षपछि फर्कियाे ‘प्रज्ञा सिस्नुपानी देउसी’; ‌ओली, भट्टराई र रेग्मीले गरे उद्घाटन

दुई वर्षपछि फर्कियाे ‘प्रज्ञा सिस्नुपानी देउसी’; ‌ओली, भट्टराई र रेग्मीले गरे उद्घाटन

काठमाडौं : काेराेना महामारीका कारण दुई वर्षदेखि राेकिएकाे ‘प्रज्ञा सिस्नुपानी देउसी’ कार्यक्रम यसपटक भने प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएकाे छ।

शनिबार  नेपाल प्रज्ञा–प्रतिष्ठान र सिस्नुपानी नेपालले संयुक्त रूपमा प्रज्ञा भवनमा देउसी भैलोको आयोजना गरिएको हाे।

उक्त अवसरमा समसामयिक राजनीति, बढ्दो भ्रष्टाचार तथा सामाजिक विसङ्गतीविरुद्ध व्यङ्ग्यात्मक प्रस्तुति गरिएको थियो। उक्त  कार्यक्रममा देउसी भैलोसँगै विभिन्न साङ्गीतिक प्रस्तुतिसमेत प्रस्तुत गरिएकाे आयाेजकले जनाएकाे छ।

देउसी भैलो कार्यक्रममा चर्चित कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, मनोज गजुरेल, चक्र दुवाडीलगायतले व्यङ्ग्यात्मक प्रस्तुति दिए भने व्यङ्ग्यकविका रूपमा परिचित अर्जुन पराजुलीले विभिन्न आधा दर्जन कविता वाचन गरेर दर्शकको मन जिते।

देउसी भैलोमा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, विभागीय मन्त्रीहरू, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, विभिन्न राजनीतिक दलका नेता, काठमाडौं तथा ललितपुर महानगरका प्रमुख, सुरक्षा निकायका प्रमुख, संवैधानिक निकायका प्रमुख लगायत सहभागी थिए।

कार्यक्रममा अच्युतराम भण्डारीकाे नेतृत्वमा ३८ जनाले तबलाबाट दर्शकलाई स्वागत गरे।

लगत्तै मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, मनोज गजुरेलले पैसाका लागि कसरी नेताले जनताको भावनासँग खेल्छन् भन्ने प्रस्तुति दिए। सिद्धान्त फरक भए पनि सत्ता, शक्ति र पैसामा उनीहरूले इमान बेच्छन् भन्ने कुराको प्रस्तुति दिँदा दर्शक तालीले समर्थन गरे।

कवि अर्जुन पराजुलीले आधा दर्जन कवितामा समसामयिक विषयलाई उठान गरे। विभिन्न कालखण्डमा नेता तथ नेतृत्वले जनतालाई देखाउने सपना र ती सपनाको भर्याङ चढेर जनताका सपनामाथि खेलबाड गर्छन् भन्ने कुरालाई गम्भीर रूपमा प्रस्तुत गरे।

निरन्तर हरेक वर्ष तिहारको उपलक्ष्यमा सिस्नुपानी नेपालले देउसी भैलो कार्यक्रम गरे पनि यस अघि दुई वर्ष कोरोनाले गर्दा आयोजना गर्न सकेको थिएन।

५ कात्तिक, २०७९, २१:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।