जनतालाई डेंगु लाग्यो अनि सरकारलाई चुनाव, दशैंमा घर जानेका कारण उपत्यकाबाहिर उच्च जोखिम

जनतालाई डेंगु लाग्यो अनि सरकारलाई चुनाव, दशैंमा घर जानेका कारण उपत्यकाबाहिर उच्च जोखिम

काठमाडौंः इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार यो वर्ष ४५ जनाको डेंगु संक्रमणका कारण मृत्यु भइसकेको छ। ३७ हजार १३१ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ। 

जसमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लामा ११ हजार ६०७ जनामा डेंगु पुष्टि भएको छ। संक्रमण बढी देखिने जिल्लामा ललितपुर, मकवानपुर, भक्तपुर, दाङ, चितवन, रुपन्देही, धादिङ, सुर्खेत, कैलाली छन्।

काठमाडौं उपात्यकाका अस्पतालका बेड अहिले डेंगु संक्रमितले भरिभराउ छन्। तर, डेंगुको प्रकोपलाई सरकारले न नियन्त्रणमा लिन सक्यो न त महामारी घोषणा गरेर नै नियन्त्रणको लागि ठोस कदम चाल्यो। स्वास्थ्य मन्त्रालय डेंगु नियन्त्रणमा चुक्यो।

यता सर्वसाधारणलाई डेंगु लाग्दा सरकारका मन्त्रीहरूलाई चुनाव लागेको छ।

कान्तिमा चाप
कान्ति बाल अस्पतालमा भर्ना हुने डेंगु संक्रमित बालबालिकाको चाप घटेकै छैन। अस्पतालको तथ्यांकअनुसार मंगलबार मात्रै १६ जना डेंगु संक्रमित बालबालिका उपचाररत छन्। जसमध्ये एक जना आईसीयू र १५ बालबालिकाको वार्डमा उपचार भइरहेको छ।

अस्पतालका निर्देशक डा. युवानिधि बसौलाका अनुसार दैनिक १५/२० जना डेंगु संक्रमित बालबालिका अस्पताल भर्ना भइरहेका छन्। दशैंपछि ओपीडीमा पुग्ने बालबालिकाको संख्या भने केही घटेको उनले जानकारी दिए।

गत वर्ष चिसो मौसम सुरु भइसक्दा समेत काठमाडौंको घट्टेकुलो क्षेत्रमा डेंगु संक्रमण फैलिएर अत्याएको थियो। त्यसैले चिकित्सकहरूले अझै करिब एक महिना जोखिम कायम नै रहेकाले सतर्क हुन सुझाव दिएका छन्। 

कान्तिमा एक जना बालकको डेंगु संक्रमणकै कारण मृत्यु समेत भइसकेको छ।

उपत्यका बाहिर जोखिम
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भने विस्तारै डेंगु संक्रमितको चाप कम हुँदै गएको छ। अस्पतालका प्रमुख कन्सल्टेण्ट फिजिसियन डा. विमल शर्मा चालिसे भन्छन्, ‘विस्तारै अस्पतालमा डेंगुका बिरामीको चाप घट्दैछ। विस्तारै केस त घटिरहेकै छ।’ 

हाल अस्पतालमा बेड पाइन थालेको पनि उनले बताए।

जाडो सुरु हुन थालेकाले उपत्यकामा डेंगु संक्रमण घट्दै जाने चालिसेको विश्लेषण छ। चिसो सुरु भएपछि लामखुट्टेको सक्रियता कम हुँदै जाने भए पनि अझै एक महिना जोखिम रहेको उनी बताउँछन्।

टेकु अस्पतालकै क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन भने काठमाडौं उपत्यकामा डेंगु संक्रमणको जोखिम अझै रहेको बताउँछन्। करिब एक महिना उपत्यकामा संक्रमणको जोखिम कायम नै रहेको उनको भनाइ छ। 

गत वर्ष चिसो मौसम सुरु भइसक्दा समेत काठमाडौंको घट्टेकुलो क्षेत्रमा डेंगु संक्रमण फैलिएर अत्याएको थियो। त्यसैले चिकित्सकहरूले अझै करिब एक महिना जोखिम कायम नै रहेकाले सतर्क हुन सुझाव दिएका छन्।

डा. पुन उपत्यकाभित्र मात्रै होइन अब काठमाडौं उपत्यकाबाहिर पनि डेंगु फैलने जोखिम रहेको बताउँछन्। कयौं डेंगु संक्रमित व्यक्ति दशैंमा  गाउँगाउँमा पुगेको र ती व्यक्तिको माध्यमबाट उपत्यकाबाहिर थप डेंगु फैलने जोखिम रहेको डा. पुनको अनुमान छ। 

‘अब काठमाडौंबाहिर लामखुट्टे पाउने ठाउँमा डेंगु संक्रमणको जोखिम बढेको देखिन्छ’, उनले भने।

पछिल्लो समय टायर तथा खाल्डाखुल्डी मात्रै नभई गमलामा बिरुवा रोप्ने चलनका कारण समेत लामखुट्टेको लागि उपयुक्त वातावरण भएको डा. पुन बताउँछन्। 

लामो समय एकैठाउँमा डेंगु नफैलिने भएकाले पनि उपत्यकाबाहिर जोखिम रहेको डा. पुनको विश्लेषण छ। उनको अनुमानमा काठमाडौंमा ५० प्रतिशतभन्दा बढी व्यक्तिमा संक्रमण भइसकेको छ।

‘धेरैभन्दा धेरै व्यक्ति संक्रमित भइसक्नुभएको छ। कतिमा लक्षण देखियो कतिमा नदेखिएको पनि हुनसक्छ’, उनले भने।

त्यसैले उपत्यका बाहिर डेंगु संक्रमण फैलनबाट रोक्न थप सजग हुनुपर्ने चिकित्सकको सुझाव छ। तर, सरकारको ध्यान भने डेंगु नियन्त्रणको विषयमा गएकै छैन।

पछिल्लो समय टायर तथा खाल्डाखुल्डी मात्रै नभई गमलामा बिरुवा रोप्ने चलनका कारण समेत लामखुट्टेको लागि उपयुक्त वातावरण भएको डा. पुन बताउँछन्। 

उपत्यकामा लामो समय फोहोर व्यवस्थापन हुन नसक्दा फोहोरमा फालिएका बट्टा, प्लाष्टिक जस्ता भाँडामा पानी जम्मा भएकाले समेत लामखुट्टेको वृद्धिविकासमा सहज भएको चिकित्सक बताउँछन्। 

डेंगु संक्रमित लामखुट्टेले मानिसलाई टोक्दा डेंगु हुन्छ।

२६ असोज, २०७९, १५:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।