अस्थिर प्रचण्डलाई बाबुराम र नारायणकाजीले जस्तै गोरखालीले च्याप्लान् ?

अस्थिर प्रचण्डलाई बाबुराम र नारायणकाजीले जस्तै गोरखालीले च्याप्लान् ?

काठमाडाैं : हुन त माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्थिरताका पर्याय नै देखिएका छन्। आफ्नो लाभका लागि जस्तोसुकै जोखिम मोल्न तयार हुँदै आएको उनको इतिहास छ।

दुई पटक प्रधानमन्त्री बनिसकेका दाहाल राजनीतिक रूपमा मात्रै नभएर चुनावी मैदानमा समेत अस्थिर देखिएका छन्। आफूले नजित्ने देखिए उनी मैदान फेरिहाल्छन्।

तत्कालिन विद्रोही माओवादी शान्ति प्रक्रियामा आएपछि २०६४ मा पहिलो पटक संविधान सभाको निर्वाचन भयो। त्यो निर्वाचनमा माओवादी अध्यक्ष दाहाल रोल्पा–२ र काठमाडौं–१० बाट चुनावी मैदानमा उत्रिए। उनी दुवै ठाउँबाट निर्वाचित भए। विद्रोहको राप र तापबाट शान्ति प्रक्रियामा आएकाले जित्नु स्वभाविकै थियो।

त्यहि रापतापमै दाहाल लोकतान्त्रिक गणतन्त्रको पहिलो प्रधानमन्त्री बने। तर, तत्कालिन प्रधानसेनापति रुकमांगत कटुवाललाई बर्खास्त गरेपछिको उत्पन्न परिस्थितिका कारण उनी राजीनामा दिन बाध्य भए। त्यो संविधान सभाले जनतालाई संविधान दिन सकेन। बरु संविधान सभा नै विघटन भयो। संविधान सभा विघटन गर्नेमा भने तत्कालिन प्रधानमन्त्री डा. बाबुराम घट्टराई थिए।

त्यसपछि पुनः २०७० मा संविधान सभाको दोस्रो चुनाव भयो। तर, यसपटक दाहाल तर्सिए। फेरि काठमाडौं–१० र सिराहा–५ गरी दुई ठाउँबाट उम्मेदवारी दिए। तर, योपटक उनी काठमाडौंबाट पराजित भए। सिराहबाट भने झिनो मतान्तरले विजयी भएका उनी २०७३ मा पुनः प्रधानमन्त्री बने।

२०७४ को निर्वाचनमा भने पार्टी नै एकीकरण गर्ने शर्तमा माओवादी र एमालेबीच वाम गठबन्धन भयो। यसपटक चुनाव लड्न उनी आफ्नै गृह जिल्ला चितवनको क्षेत्र नम्बर–३ पुगे। एमालेको साथमा उनी चितवनबाट विजयी भए।

तर, आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा भने उनलाई चितवनमा आफूलाई सुरक्षित ठानेनन् र गोरखा हानिए। गोरखा क्षेत्र नम्बर–२ बाट निर्वाचन लड्नका लागि उनले आइतबार मनोनयन दर्ता गराइसके।

गोरखा–२ बाट सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधि सभामा दाहाल तथा प्रदेश सभा ‘क’मा डा. बाबुराम भट्टराई नेतृत्त्वको नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा र ‘ख’ मा नेपाली कांग्रेसका सुरेन्द्र पाण्डेले मनोनयन दर्ता गराए।

गठबन्धनमै रहेका डा. भट्टराईले यसपटक चुनाव नलड्ने घोषणा गर्दै प्रचण्डलाई सिट छाडिदिए। मनोनयन दर्ता गर्दा उनको साथमा भट्टराई र माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ दायाबायाँ थिए। गोरखा श्रेष्ठ र भट्टराईको गृहजिल्ला हो भने गोरखा–२ बाट भट्टराईले ०६४, ०७० र ०७४ मा लगातार जित्दै आएका छन्।

२०७४ को प्रतिनिधि सभा निर्वाचनमा डा. भट्टराईले नै वाम गठबन्धको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार श्रेष्ठलाई ६ हजार ८७४ मतले पराजित गरेका थिए। भट्टराई त्यतिबेला नयाँ शक्ति नेपालबाट चुनावी मैदानमा उत्रिएका थिए। उनी प्रतिनिधि सभामा जाँद त्यसको दुई वर्षपछि श्रेष्ठ राष्ट्रिय सभा छिरे।

यसरी दाहालले गोरखालीको साथ पाउन सक्छन्
गोरखामा एमालेको उपस्थिति कमजोर छ। दाहालले आफ्नै पार्टीको साथ त पाउने नै भए। त्यसअलावा इमान्दारीका साथ डा. भट्टराई नेतृत्त्वको नेपाल समाजवादी पार्टी, गठबन्धका नेपाली कांग्रेस र एकीकृत समाजवादीको साथ पाउँदा उनको जित करिब निश्चित छ।

गोरखा–२ मा पाँच पालिका छन्। गत स्थानीय निर्वाचनमा पाँचमध्ये चार पालिकाको प्रमुख तथा अध्यक्षमा माओवादी केन्द्रले जित्यो भने एउटा कांग्रेसले बाजी मार्यो। त्यसैगरी पाँच पालिकाको उपप्रमुख तथा उपाध्यक्षमध्ये तीन पालिकामा माओवादी र दुईमा कांग्रेसको पकड छ।

गोरखा–२ मा मतको दृष्टिले माओवादीको प्रतिस्पर्धी कांग्रेस देखिए पनि व्यक्तिको दृष्टिले भट्टराई हुन्। कांग्रेस र भट्टराईले इमान्दारीताका साथ सघाए दाहाललाई गोरखाको चुनावी मैदानले प्रतिनिधि सभाको ढोका खोल्नेछ।

२४ असोज, २०७९, १३:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।