तनहुँमा रामचन्द्र पौडेलविरुद्ध चौतर्फी घेराबन्दी, कांग्रेसकै तीन नेताले दर्ता गराए स्वतन्त्र उम्मेदवारी

तनहुँमा रामचन्द्र पौडेलविरुद्ध चौतर्फी घेराबन्दी, कांग्रेसकै तीन नेताले दर्ता गराए स्वतन्त्र उम्मेदवारी

पोखरा : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मनोनयन दर्ता गराएको तनहुँ क्षेत्र नं. १ मा आफ्नै पार्टीका तीन जनाले उमेदवारी दर्ता गराएका छन्।

पौडेलविरुद्ध आगामी मंसिर ४ मा हुने निर्वाचनमा तनहुँ–१ को प्रतिनिधि सभा सदस्यका लागि कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री गोविन्दराज जोशी, पूर्व केन्द्रीय सदस्य गोविन्द भट्टराई र तनहुँ कांग्रेसका पूर्व जिल्ला सचिव विश्व बास्तोलाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्।

जोशीले आफ्ना समर्थकसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराउँदा भट्टराईले वारेस मार्फत उम्मेदवारी दर्ता गरेका हुन्। जोशीको प्रस्तावकमा रामदेव पन्थ र समर्थकमा कृष्णप्रसाद सोती रहेका छन्।

पछिल्लो समय वरिष्ठ नेता पौडेलविरुद्ध नेतादेखि कार्यकर्तासम्मले मार्चाबन्दी गर्दै आएका छन्। भ्रष्टाचारको आरोप लागेपछि मुद्दा खेपिरहेका गोविन्दराज जोशीले पछिल्लो समय जिल्लामा बसेर पौडेलविरुद्ध मोर्चाबन्दीको अगुवाइ गरिरहेका छन्।

कांग्रेसबाटै निर्वाचन जितेर विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेका जोशीले केही वर्ष यता पौडेलसहित, कांग्रेसका अन्य उम्मेदवारविरुद्ध समेत विभिन्न तिकडम गर्दै आएका छन्।

गत वैशाखमा सम्पन्न स्थानीय निकायको निर्वाचनमा पनि एमालेसँग मिलेर आफ्नो गृह नगर ब्यास नगरपालिकाको मेयरमा छोरा दीपकराज जोशीलाई कांग्रेसका उम्मेदवार बैकुण्ठ न्यौपानेविरुद्ध उम्मेदवार बनाएका थिए। तर, उनले छोरालाई जिताउन भने सकेनन्।

त्यसको छ महिना नपुग्दै संघीय र प्रदेश सभाको निर्वाचन आएसँगै तनहुँका संघीय दुई र प्रदेशका चार निर्वाचन क्षेत्रमध्ये रामचन्द्र उठ्दै आएको निर्वाचन क्षेत्रमा चुनाव लड्न जोशीले मनोनयन दर्ता गराएका छन्।

२०७४ को निर्वाचनमा पनि जोशीले प्रतिनिधि सभा सदस्यका लागि रामचन्द्रविरुद्ध उम्मेदवारी दिएका थिए। जोशीको भ्रष्टाचारको मुद्दा अदालतमा विचाराधीन रहेकाले उम्मेदवार बन्न नपाउने भन्दै वरिष्ठ नेता पौडेलको उजुरीपछि आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो।

२०७६ साउन १० मा नेपाली कांग्रेसको अनुशासन समितिले नेता पौडललाई तनहुँ–१ बाट हराउन भूमिका खेलेको आरोप लगाउँदै जोशीलाइ पार्टीको सदस्य समेत नरहने गरी पाँच वर्षका लागि कारबाही गरेको थियो।

आफू मन्त्री हुँदा थालेका विकास निर्माणका योजनाहरू लामो समयसम्म पनि पूरा नभएकाले तिनै योजना पूरा गर्न उम्मेदवारी दिन बाध्य भएको जोशीको दाबी छ।

त्यसैगरी पौडेलविरुद्ध उमेदवारी दर्ता गराएका तनहुँ कांग्रेसका पूर्व जिल्ला सचिव विश्व बास्तोलाले लामो समयसम्म कांग्रेस राजनीतिमा सक्रिय रहँदासमेत अवसर नपाएको भन्दै तनहुँ–१ बाट उमेदवारी दर्ता गरेका छन्। प्रजातन्त्र आएपछिका ३२ वर्षदेखि एउटै नेता पटक–पटक उम्मेदवार बन्दा आपूmहरूले अवसर नपाएको जिल्लाका अधिकांश नेताको गुनासो छ।

त्यसैगरी, वारेसनामा मार्फत उम्मेदवारी दर्ता गराएका कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले पनि अवसर नपाएको गुनासो गरे। वरिष्ठ नेता पौडेलको सहयोगमा विद्यार्थी राजनीति हुँदै कांग्रेसको केन्द्रीय सदस्य बनेका भट्टराई अहिले पौडेलविरुद्धको मार्चोबन्दीमा सक्रिय हुनु अधिकांशले आश्चर्यका साथ हेरेका छन्।

तनहुँबाट केन्द्रीय राजनीतिमा प्रभाव जमाउँदै आएका प्रदिप पौडेल, धुर्व वाग्ले, शंकर भण्डारी, गोविन्द भट्टराई लगायतका आधा दर्जनभन्दा बढी नेता भए पनि जिल्लामा कांग्रेसको संगठन निर्माणमा भने खासै भूमिका देखिँदैन। पछिल्लो समय उनीहरूको केन्द्रमा प्रभाव बढ्दासमेत जिल्लाको पार्टी संगठन अस्तव्यस्त छ। 

लामो समयदेखि कांग्रेसका खम्बा बनेर लागेका नेता कार्यकर्ताहरू पछिल्लो समय नेतापिच्छेका गुट देखेर पार्टीबाट अलगिएका छन्। केही दिनअघि झण्डै तीन दशकभन्दा लामो समय कांग्रेसमा रहेर संगठन निर्माणमा महत्त्वपूर्ण योगदान गरेका पूर्ण गुरुङ पार्टी नै त्यागेर एमाले प्रवेश गरे।

पार्टीका केन्द्रीय सदस्य बनेका भट्टराई, भण्डारी, धुर्व वाग्ले लगायतका नेताहरू पनि पछिल्लो समय जिल्लामा पार्टीको संगठन निर्माणमा खासै भूमिका खेल्न सकेका छैनन्। उनीहरू पार्टीपंक्तिका सीमित नेता कार्यकर्ताका घेरामा मात्र रमाउन गरेका छन्।

स्थानीय तहको निर्वाचनमा पनि उनीहरूको भूमिकालाई लिएर नेता कार्यकर्ताले प्रश्न उठाएका थिए। धुर्व वाग्ले लगायतका केही नेताहरूले पार्टीका उमेदवारलाई हराउन भूमिका खेलेको भन्दै पार्टीले कारबाही गरेको थियो।

२३ असोज, २०७९, २०:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।