डेंगुबाट चार जनाको मृत्यु भइसक्दा सरकारलाई अत्ताेपत्ताे छैन, इडिसिडी भन्छ– ‘भेरिफाइ गर्दैछौं’

डेंगुबाट चार जनाको मृत्यु भइसक्दा सरकारलाई अत्ताेपत्ताे छैन, इडिसिडी भन्छ– ‘भेरिफाइ गर्दैछौं’

काठमाडौंः त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालमा भदौ १३ गते सोमबार २१ वर्षीय गर्भवतीको डेंगु संक्रमणका कारण मृत्यु भयो। 

सुनसरी जिल्लाको इनरुवाकी ति गर्भवती ज्वरोका कारण साउन १५ गते बेलुकी साढे सात बजे शिक्षण अस्पताल भर्ना भएकी थिइन्। ज्वरोको कारण थाहा नभएपछि गरिएको परीक्षणमा उनमा डेंगु देखियो।

३२ हप्ताको गर्भवती ती महिलाको उपचारकै क्रममा गर्भमा रहेको भ्रुणको मृत्यु भयो। भु्रण नबाँचे पनि आमालाई बचाउन चिकित्सकले सक्दो प्रयास गरे। तर, त्यसमा पनि सफल भएनन्। अन्ततः भदौ १३ गते उनको ज्यान गयो।

यस्तै, गत सोमबार कान्ति बाल अस्पतालमा एक बालकको पनि डेंगु संक्रमणकै कारण मृत्यु भयो। अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. रामहरी चापागाईंले यसको पुष्टि गरे।

सरकारसँग छैन तथ्याङ्क
तर, सरुवा रोगको तथ्याङ्क राख्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँग भने शिक्षण अस्पताल र कान्ति बाल अस्पतालमा डेंगु संक्रमणका कारण मृत्यु भएका व्यक्तिको तथ्याङ्क नै छैन।

पुस १७ यता चार जना डेंगु संक्रमित व्यक्तिको मृत्यु भइसकेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)सँग कैलालीको निसर्ग अस्पतालमा एक जना र ललितपुरको मेडिसिटी अस्पतालमा एक जना गरी दुई व्यक्तिको मात्रै डेंगु संक्रमणका कारण मृत्यु भएको तथ्याङ्क छ।

हालसम्म निसर्ग अस्पतालमा एक जना र मेडिसिटी अस्पतालमा एक जना गरी दुई जनाको मात्रै डेंगु संक्रमणका कारण मृत्युको पुष्टि भएको महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहालले जानकारी दिए।

‘एक हप्तायता यी दुई व्यक्तिको डेंगु संक्रमणका कारण मृत्यु भएको हो,’ उनले भने, ‘उनीहरूको मृत्यु को हामीले भेरिफाइ नै गरिसकेका छौं।’

शिक्षण अस्पतालमा डेंगु संक्रमणका कारण मृत्यु भएको व्यक्तिको प्रणालीमा रिपोर्ट नआएको महाशाखाका कीटजन्य शाखा प्रमुख डा. दाहालको तर्क छ। तर, कान्ति बाल अस्पतालबाट भने डेंगु संक्रमणका कारण मृत्युको जानकारी पाए पनि पुष्टि नभइसकेको उनले बताए।

‘गर्भवती महिलाको मृत्युबारे रेकर्ड आएको छैन,’ उनले भने, ‘बालकको रेकर्ड आएको छ, हामी भेरिफाइ गर्ने क्रममा छौं।’

सरकारी अस्पतालमा डेंगु संक्रमणका कारण मृत्यु भएका व्यक्तिको एकिन तथ्याङ्क लिन नसक्नुले सरकारी संयन्त्र कति फितलो छ भन्ने सहजै अनुमान लागाउन सकिन्छ। हुन त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण महामारीको समयमा समेत एकिन तथ्याङ्क राख्न नसकेको जगजाहेरै छ।

स्वास्थ्य मन्त्रालय मातहतकै निकाय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँग सरकारी अस्पतालमा मृत्यु भएका डेंगु संक्रमित व्यक्तिको समेत एकिन तथ्याङ्क नहुनुले डेंगु नियन्त्रणको लागि प्रभावकारी पहल कदमी हुन नसकेको घाम जत्तिकै छर्लङ्ग हुन्छ।

कान्तिमा एकको मृत्यु, ३५ दिनसम्मको बच्चा संक्रमित
कान्ति बाल अस्पतालको वार्डमा २५ जना डेंगु संक्रमित बालबालिका उपचाररत रहेको अस्पतालका बालरोग विशेषज्ञ डा. चापागाईंले जानकारी दिए।

मंगलबारसम्म कान्ति बाल अस्पतालमा भर्ना भएका ४९ जना डेंगु संक्रमित बालबालिकाको उपचार भएको उनले बताए। जसमध्ये तीन जनाको आईसीयूमा भर्ना गरिएको छ।

डा. चापागाईंकाअनुसार यो तथ्याङ्क भदौ १६ गतेदेखि २१ गतेसम्म अर्थात ६ दिनको हो। यो वर्ष त्यसअघि कान्तिमा डेंगु संक्रमित बालबालिका भर्ना भएका थिएनन्। अस्पतालमा सबैभन्दा कम ३५ दिनको शिशुलाई डेंगु संक्रमण भएको छ।

बढेको बढ्यै संक्रमित
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौं उपत्यकामा डेंगु सङ्क्रमण अझै द्रुत गतिमा फैलिरहेको देखिन्छ। सबैभन्दा धेरै डेंगु संक्रमित भएका जिल्लाहरूमा क्रमशः ललितपुर, काठमाडौं, मकवानपुर, रुपन्देही, भक्तपुर, दाङ र तेह्रथुम छन्।

महाशाखाको २०७८ पुस १७ देखि भदौ २२ सम्मको तथ्याङ्क हेर्दा काठमाडौंमा डेंगु सङ्क्रमितको संख्या एक हजार ४ सय १० पुगिसकेको छ। पछिल्लो एक हप्ताको अवधिमा मात्रै काठमाडौंमा ६ सय ४६ जना डेंगु संक्रिमित थपिएका हुन्।

हालसम्म पनि काठमाडौं उपत्यकाको तीन जिल्लामध्ये ललितपुरमा सबैभन्दा धेरै डेंगु सङ्क्रमित देखिएका छन्।

पुस १७ देखि भदौ २२ सम्ममा ललितपुरमा डेंगु सङ्क्रमितको संख्या दुई हजार चार सय ४९ जना पुगेको छ। पछिल्लो एक साताको अवधिमा मात्रै ललितपुरमा आठ सय २१ डेंगु संक्रमित थपिएका छन्।

त्यसैगरी, भक्तपुरमा पनि पुस १७ यता एक सय ३४ जनामा डेंगु संक्रमण भएको छ। पछिल्लो एक साताको अवधिमा भक्तपुरमा ४२ जना डेंगु संक्रमित थपिएका छन्। 

मकवानपुरमा ६ सय ४३ र रुपन्देहीमा पाँच सय ३४ जनामा डेंगु संक्रमण भएको छ। दांगमा एक सय १७ र तेह्रथुममा एक सय तीन जना डेंगु  संक्रमित भएका छन्।

नेपालमा हालसम्म ६ हजार सात सय सात जनामा डेंगु संक्रमण भएको छ।

बल्ल उच्चस्तरीय बैठक 
बुधबार बल्ल डेंगु रोगको प्रकोपको प्रतिकार्य, नियन्त्रण तथा रोकथाम सम्बन्धी विषयमा छलफल गर्न मुख्य सचिव संकरदास वैरागीको अध्यक्षतामा उच्चस्तरीय बैठक बस्यो।

बैठकले डेंगु रोगको नियन्त्रण तथा रोकथामको कार्ययोजना, सञ्चालन भइरहेका प्रतिकार्य गतिविधिको समीक्षा, नियन्त्रणका लागि भइरहेको तयारिको सम्बन्धमा चार बुँदे निर्णय गर्यो।

केन्द्र, प्रदेश र स्थानीय तहबाट समेत रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समन्वय र सहजिकरण गर्ने बैठकले निर्णय गरेको छ।

त्यसैगरी डेंगु रोग सार्ने लामखुट्टेको ‘लार्भा खोज र नष्ट गर’ को अभियानलाई तीव्र बनाउन सचेनामूलक तथा सूचनामूलक श्रव्य तथा श्रव्य–दृश्य सामग्री तयार गरी विभिन्न तह तथा माध्यमबाट प्रचार प्रसारको व्यवस्था मिलाउने निर्णय गर्यो।

तर, डेंगु नियन्त्रणका लागि सरकारले ठोस तथा प्रभावकारी कदम भने अझै चालेको देखिँदैन। यसअघि कोरोना भाइरस संक्रमण नियन्त्रणमा समेत सरकार चुकेको थियो।

भक्तपुर अस्पताल र टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले डेंगु परीक्षणका लागि आवश्यक कीटकाे अभाव छ। महाशाखाका शाखा प्रमुख डा. दाहालले पनि माग अनुसार कीट दिन नसकिएको स्वीकारे।

भएका कीटहरू उपलब्ध गराइएको भए पनि पालिकास्तरबाटै कीट माग भएकाले सबैतिर पुर्याउन नसकिएको उनको भनाइ छ। व्यवस्थापन महाशाखाले तत्कालै कीट खरिदको प्रक्रिया थालेको र विभिन्न संस्थाहरूलाई पनि अनुदानमा कीट उपलब्ध गराउन आग्रह गरिएको उनले बताए।

‘अहिलेसम्म इडिसिडिसीमा कीट छ,’ उनले भने, ‘यद्यपि जति माग भएको छ, त्यो माग अनुसार दिन नसकेको स्वीकार्छौं।’

डेंगु परीक्षणका लागि इडिसिडीसँग करिब तीन हजार पाँच सय कीट मौज्दात छ। २० कीट आउने क्रममा रहेकाले आगामी हप्ताबाट कीटको उपलब्धता सहज हुने डा. दाहालले बताए।

यसैबीच, डेंगु महामारी व्यापक फैलिएको भन्दै महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनीले ‘स्वास्थ्य आपतकाल’ घोषणा गरेर डेंगु नियन्त्रणमा लिनुपर्ने सुझाव दिएका छन्।

तर, महाशाखाका निर्देशक डा. चुमनलाल दास तत्काल यसमा सहमत छैनन्। उनी स्वास्थ्य आपतकाल घोषणा गर्न आवश्यक नदेखिएको  भन्दै स्थानीय स्तरसम्म डेंगु नियन्त्रण तथा सर्च एण्ड डिस्ट्रोय गतिविधिमा सक्रिय भएको दाबी गरे।

२४ भदौ, २०७९, २१:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।