कांग्रेस बैठकमा गगन-विश्वको आलोचना : ट्विट गर्दै गुट भेलामा रमाए बहिष्कार गर्ने केन्द्रीय सदस्यहरूको चेतावनी

कांग्रेस बैठकमा गगन-विश्वको आलोचना : ट्विट गर्दै गुट भेलामा रमाए बहिष्कार गर्ने केन्द्रीय सदस्यहरूको चेतावनी

काठमाडौँ : नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीलाई बलियो बनाउने भन्दा पनि कमजोर बनाउने काम गरिरहेको भन्दै आलोचना गरेका छन्। केन्द्रीय समितिको बैठकमा बुधवार बोल्ने अधिकांश सदस्यहरूले दुवै महामन्त्री पार्टी भन्दा पनि कुनै गुटको नेताको रूपमा काम गरिरहेको भन्दै सुध्रन चेतावनी दिएका थिए।

दुबै महामन्त्री देउवा समूहका हैनन्। गगन शेखर समूहबाट निर्वाचनमा उम्मेदवार बनेका थिए भने विश्वप्रकाश प्रकाशमान समूहबाट। पहिलो बरियतामा गगन छन्। उनी पार्टीको कार्यक्रमभन्दा पनि शेखर समूहको भेलामा बढि केन्द्रित भएको र मिडिया खपतका लागि ट्विट गर्दै बस्ने गरेको भन्दै केन्द्रीय सदस्यहरु रिसाएका थिए।

बैठकमा बोल्दै रमेश रिजालले दुवै महामन्त्रीहरू ट्विट गर्दै पार्टीको आलोचना गर्ने अनि साना-साना भेला गरेर रमाइरहेको भन्दै यो अतिवादी काम भएको बताए। उनले जुनसुकै समूहबाट उम्मेदवार भए पनि निर्वाचन जितेपछि पार्टीका सबैको महामन्त्री हुनुपर्नेमा दुवै महामन्त्री असफल भएको र पार्टी नेतृत्वको आलोचनामै रमाएकै भन्दै आलोचना गरेका थिए।

'पार्टीको महामन्त्री भएर पनि पार्टी नेतृत्वको आलोचना गर्दै ट्विट गरेर रमाएर बस्ने काम मात्रै भयो। साना गुट भेला गरेर बस्ने अतिवादी काम भो,' उनले बैठकमा भनेको धारणा उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने।

केन्द्रीय समितिको बैठकमा  रिसाउँदै देउवाले भने' मलाई धेरै नजिस्काउनु, विधान संशोधन गरेर तेस्रो पटक सभापति हुन सक्छु'

नेता प्रकाशमान सिंहले सरकारले जनतालाई असन्तोष हुने काम गरिरहेको भन्दै त्यसो नगर्न नेतृत्वको ध्यानाकर्षण गराएका थिए। निर्वाचनमा घात अनि अन्तर्घात धेरै भएको भन्दै निर्वाचनमा आखिर पार्टी जाने कांग्रेसकै घरमा भएकाले पार्टीलाई बलियो बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए।

अर्का केन्द्रीय सदस्य चन्द्र मोहन यादव पनि दुवै महामन्त्री केन्द्रित भएका थिए। उनले दुवै महामन्त्रीहरूले बाहिर भेला गरेर बस्ने गरेको भन्दै तीव्र आलोचना गरे। महामन्त्री पदमा रहे पनि मर्यादा नबसेको भन्दै उनले चेतावनी दिँदै भने' यस्तै व्यवहार गरेर बस्ने हो भने दुवै महामन्त्रीलाई बहिष्कार गर्ने बेला नआओस्।'

उनले महामन्त्रीको काम मिडियामा मात्रै केन्द्रित हुने गरेको, गुटको भेला गरेर रमाउने गरेको तर पार्टीको सङ्गठन विस्तार लगायतका काममा ध्यानै नदिएको भन्दै असन्तुष्टि जनाएका थिए।

पार्टीलाई जानकारी नै नदिई दुवै महामन्त्री विदेशमा रहेका नेपालीहरूलाई मताधिकारको माग गर्न गएको भन्दै उनले महामन्त्रीले पार्टीको निर्णय कार्यान्वयन गराउने हो या क्याम्पेनिङ गर्दै हिँड्ने भनेर प्रश्न गरेका थिए।

अर्का नेता रामशरण महत भने बैठकमा गठबन्धन केन्द्रित भएका थिए। उनले आगामी निर्वाचनमा पार्टीले सहजै जित्ने ठाउँहरूमा गठबन्धन गर्न आवश्यक नभएको र जहाँ अप्ठ्यारो छ त्यहाँ मात्रै गठबन्धन गर्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका थिए।

२९ असार, २०७९, १९:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।