केन्द्रीय समितिको बैठकमा  रिसाउँदै देउवाले भने' मलाई धेरै नजिस्काउनु, विधान संशोधन गरेर तेस्रो पटक सभापति हुन सक्छु'

केन्द्रीय समितिको बैठकमा  रिसाउँदै देउवाले भने' मलाई धेरै नजिस्काउनु, विधान संशोधन गरेर तेस्रो पटक सभापति हुन सक्छु'

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई जिस्काइरहने हो भने पार्टीको विधान संशोधन गरेर पुन तेस्रो पटक सभापति बन्ने चेतावनी दिएका छन्। पार्टीको केन्द्रीय समितिको बैठकमा आगामी निर्वाचनमा गठबन्धन गर्न नहुने र शेखर कोइराला समूहलाई पनि मिलाएर अगाडि बढ्नुपर्ने भन्ने आवाज उठेपछि उनले जवाफमा त्यस्तो चेतावनी दिएका हुन्।

सांसद सञ्जय गौतमले आगामी निर्वाचनमा कांग्रेस एक्लै निर्वाचनमा सहभागी हुनुपर्ने र पार्टीका नेता अनि महामन्त्रीहरूले बाहिर-बाहिर भेला गरेर हिँडेकाले केन्द्रीय कार्यालयमा शेखर कोइरालालाई एउटा कोठा दिन माग गरेपछि देउवा रिसाएका थिए।

एक केन्द्रीय सदस्यका अनुसार गौतमले बोल्दा बोल्दै देउवाले 'गठबन्धन नगरेको भए तपाइले जित्नुहुन्थ्यो? बर्दिया नजितेको कति भयो, त्यहाँ जितिन्थ्यो' भन्दै हप्काएका थिए।

उनले पार्टी सभापतिलाई जिस्काउने काम नगर्न चेतावनी दिँदै आफू यो कार्यकालमा राम्रो नेतृत्वको विकास गरेर पार्टीको नेतृत्व हस्तान्तरण गर्ने पक्षमा रहेको भन्दै' यसरी नै जिस्काइरहने हो भने पार्टीको विधान संशोधन गराएर तेस्रो पटक समेत पार्टी सभापति हुने' चेतावनी दिए।

उनले पार्टीको जोसुकै नेताले भेला अनि छलफलका लागि पार्टी कार्यालयको कोठा प्रयोग गर्न सक्ने भन्दै शेखर समूहले चाहेमा अहिले बैठक बसिरहेकै कोठामा भेला गर्न सकिहाल्छन् नि भन्दै आफूलाई जिस्काइ नरहन चेतावनी दिएका थिए।

२९ असार, २०७९, १८:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।