बाबुरामका दु:ख : न माओवादीमा टिक्न सके, न नयाँ शक्ति जीवित रह्यो, न जसपा नै आफ्नो भयो

बाबुरामका दु:ख : न माओवादीमा टिक्न सके, न नयाँ शक्ति जीवित रह्यो, न जसपा नै आफ्नो भयो

काठमाडौँ : स्थानीय तह निर्वाचनको समीक्षा समेत गर्न नसकेको जनता समाजवादी पार्टीका नेताहरूको फोन उठ्दैन अहिले। उठिहाले पनि उनीहरू हतारमाझैँ देखिन्छन्। पार्टीमा के भइरहेको हो भन्ने प्रश्न गर्यो भने पछि कुरा गरौला भनेर टारिहाल्छन्। जो बोल्न राजी हुन्छन् उनीहरू नाम उल्लेख गर्न चाहँदैनन्।

यसको कारण भने प्रस्टै छ, अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षबिच बढेको तनाव जसको निकास के हुन्छ खुलेको छैन। त्यसैले उनीहरू विवादले आकार नलिएसम्म आफू कसको पक्षमा हो भन्ने नखुलोस् भन्ने चाहन्छन्।

स्थानीय तह निर्वाचन अगाडिबाटै यी दुवै नेताबिच शक्ति सङ्घर्ष चलेको थियो पार्टीमा। स्थानीय तहको निर्वाचन सकिएसँगै यो पुन ब्युँतियो। भट्टराई केन्द्रीय सदस्यहरूको हस्ताक्षरमा सक्रिय भएको भन्दै यादवले पनि आफ्नो गतिविधि बढाए।

जसले पार्टी फुटको सङ्घारमा पुगेको छ। भट्टराई समूह बहुमत जुटाउने र वैधानिक रूपमा नेतृत्व लिने अभ्यासमा छ। तर त्यति सहज छैन उनलाई जसपाको आधिकारिता आफ्नो पक्षमा पार्न।

उता यादव समूह भट्टराई समूहलाई तह लगाउन कस्सिएको छ। कि सरेन्डर गराउने कि पार्टीबाट निकाल्ने यादव समूहको रणनीति देखिन्छ। सोमबार साँझ काठमाडौँको एक होटेलमा यादवले आफू निकट कार्यकारिणी सदस्यको बैठक राख्दा २२ मध्ये १९ जना उपस्थित भए।

बैठकबाट असारभित्रै केन्द्रीय समितिको बैठक डाक्ने र पार्टी विरोधी गतिविधि गर्नेहरूलाई कारबाही गर्ने अख्तियारी अध्यक्ष यादवले लिए। त्यस अघि मन्त्री फिर्ता बोलाउने निर्णय हप्ता दिन अघि संसदीय दलको बैठकले गरिसकेको थियो। सो बैठकमा भट्टराई पक्षका सांसदहरू भने उपस्थित भएनन्।

‘हामीले पहिले नै संसदीय दलबाट मन्त्री फिर्ताको निर्णय गरिसकेका छौँ,’ प्रतिनिधि सभाका सचेतक प्रमोद शाहले उकेरासँग भने, स्वाभाविक रूपमा यो कार्यान्वयनमा जान्छ।’

कहिले निर्णय गरेको भन्ने प्रश्नमा शाहले भने, ‘७–८ दिन भइसक्यो यो पहिलेकै निर्णय हो।’ पार्टीभित्रको विवादको विषयमा भने शाह बोल्न चाहेनन्। ‘संसदीय दलको निर्णय यही हो, पार्टीभित्रको कुरा मलाई नसोध्नुस्,’ शाहले भने।

पार्टी जोड्ने सुपर ग्लू खोज्दै अशोक राई

पार्टी विभाजन रोक्न चाहने समूह पनि नभएको हैन। तर उनीहरूको प्रयास प्रभावकारी हुन सकेको देखिँदैन। यसमा जुटेका छन् वरिष्ठ नेता अशोक राई। स्थानीय तहको निर्वाचन पछि काठमाडौँ छाडेका वरिष्ठ नेता राई ५ दिन यता पार्टी मिलाउने सुपर ग्लूको खोजीमा छन्। तर उनको प्रयास प्रभावकारी हुन सकेको छैन।

‘अहिले ४–५ दिन भयो, अशोकजीले उपेन्द्र र बाबुरामसँग छुट्टा–छुट्टै भेट गर्नुभएको छ। भेटमा के के विषयमा कुरा भए त्यो जानकारी दिइएको छैन,’ जसपाका एक पदाधिकारीले उकेरासँग भने। 

बाबुरामको पुगेन ५१ प्रतिशत

४ सय ९९ केन्द्रीय सदस्यमध्ये हस्ताक्षर अभियान चलाउँदा भट्टराई पक्षले २ सय हस्ताक्षर पुगेपछि यादव सक्रिय भए। आफू विरुद्ध निरन्तर गतिविधि गरिरहेको भन्दै भट्टराईसँग रुष्ट रहेकाले अब कारबाही नै गर्ने निष्कर्षमा पुगेको देखिन्छ।

‘बाबुरामको समूहमा सांसददेखि केन्द्रीय सदस्यसम्म ५१ प्रतिशत पुग्ने स्थिति देखा परेन। त्यसो हुँदा वैधानिक रूपमा नेतृत्व लिने अवस्था देखिएन। पुग्न त ६० प्रतिशत सांसद पुगेका थिए। यो त भ्यागुताको धार्नीजस्तो हुँदो रहेछ,’ एक कार्यकारिणी सदस्यले उकेरासँग भने।

प्रचार विभाग प्रमुख डम्बर खतिवडा पार्टीको विवाद कसरी समाधान हुन्छ भनेर भन्नै नसकिने बताउँछन्।

'८–१० दिन गज्याङगुजुङ होला। पार्टी फुट्ला नफुट्ला भन्न सकिँदैन,’उनले भने, ‘पार्टी फुटेर विश्वसनीयता हुँदैन। नेपालको राजनीतिक संस्कृति झैँ भइसक्यो पार्टी फुट्ने। यसले राम्रो नतिजा पनि दिँदैन।’

भट्टराइले हस्ताक्षर गराएर बसेका छन् भने यादवले निर्णय गराए। तर दुवैले कार्ड फ्याँकिसकेका छैनन्। दुवै पक्ष एक अर्कालाई पर्ख र हेरको अवस्थामा छन्।

अध्यक्ष यादव नसुध्रने हो भने सहकार्य टुट्न सक्ने विषयमा भट्टराई पक्ष छलफलमा छ। केन्द्रीय समिति बोलाएर त्यसले जे निर्णय गर्छ त्यही अनुसार गर्ने उनीहरूको रणनीति देखिन्छ।

विवादको जड क्लस्टर प्रतिनिधित्व

हिमाल, पहाड र तराईबाट जनजाति, खस आर्य र मधेसी–थारु क्लष्टर मिलाएर समावेशी नेतृत्व चयन गर्नुपर्ने पक्षमा भट्टराई समूह देखिन्छ। यो कुरा यादव पक्षले सुन्न चाहेको छैन।

‘हुदाखाँदाको बलशाली हुँदाको पार्टी (तत्कालीन माओवादी) छाडेर नयाँ मिसनमा आएका हो। हिमाल तराई जोडौँ सबैको साझा पार्टी बनाऔँ। आदिवासी जनजाति मधेसीको साझा पार्टी बनाऊँ भनेर लागेका हौ। उपेन्द्रजी सबै कुरा मै हुँ भन्ने एक्लै निर्णय गर्ने गर्नुहुन्छ। हामीले त उहाँलाई अध्यक्ष स्वीकारेकै छौँ,’ एक पदाधिकारीले उकेरासँग भने, ‘भित्र मान्ने कुरा र बाहिर मान्ने कुरा फरक हुँदो रहेछ। फुटेको पार्टी जोडेर जसपा बनाइयो। उपेन्द्रजीले मसँग आएर मिसियो भन्नुहुन्छ यस्तो कुरा त गर्ने होइन नि।’ 

यादव मधेस केन्द्रीतमात्र भएको आरोप भट्टराई पक्षको छ। उनीहरू अब पार्टीको छवि क्षेत्रीय भन्दा राष्ट्रिय बनाउनुपर्ने र त्यसका लागि हिमाल-पहाड र तराइको क्लस्टर मिलाएर नेतृत्वको विकास गर्नुपर्ने भट्टराई पक्षको मत छ।

‘लामो क्रान्तिबाट आउनुभएको अब त यादव माथि उठ्नु भएका होला भनेको उहाँ त उठ्नु भएको रहेनछ। त्यही मधेस मधेस भित्र पनि २ नं प्रदेश २ नं मा पनि यादव मात्र भन्नुहुन्छ,’ ती पदाधिकारीले भने। खुला बहस गर्ने हो भने पार्टी भित्र यादव अल्पमतमा पर्ने ती पदाधिकारीको दाबी छ।

अध्यक्ष यादव कुनै पन बैठक बोलाउन अनिच्छुक देखिएका छन्। सोमबारका आफू पक्षीय कार्यकारिणी सदस्यहरूको भेला पछि उनले एक्सन लिन सक्नेछन्।

‘महन्थ ठाकुर र राजेन्द्र महतोसँग एकता भइसकेपछि कार्यकारिणी महत्त्वपूर्ण थियो। अहिले उहाँहरू गइसकेपछि केन्द्रीय समिति बनाएर निर्वाचन आयोगमा अद्यावधिक गराएका छौँ। निर्वाचन आयोगले कार्यकारिणी चिन्दैन ४ सय ९९ केन्द्रीय समिति वैधानिक हो। कार्यकारिणी सदस्य फणीन्द्र देवकोटाले भने, ‘अल्पमत बहुमतको कुरा त परीक्षणको कुरा हो।’

भट्टराईलाई कारबाही किन नगर्ने ?

सङ्घीय परिषद् अध्यक्ष भट्टराई पार्टी विरोधी गतिविधिमा सक्रिय भएकाले कठोर कदम चाल्ने स्थितिमा आफूहरू पुगेको यादव पक्षका नेताहरू बताउँछन्। उनीहरूले त भट्टराइमाथि कारबाहीको माग समेत गरिरहेका छन्।

‘पार्टीमा बहुमत पुर्याउन हस्ताक्षर अभियान नै चलाएको भनिएको छ। प्रमाणित भए किन कारबाही नहुने ?,’ यादव पक्षका एक कार्यकारिणी सदस्यले भने।

भट्टराईले दल विभाजनको लागि प्रधानमन्त्रीदेखि निर्वाचन आयोगसम्म छलफल गरिसकेको अनौपचारिक जानकारी आएको ती सदस्यले जानकारी दिए।

भट्टराईले गर्न सकेनन् निर्णय

दल विभाजन गरेर जनमत पाइने होइन भन्ने बुझेका भट्टराई के गर्ने भन्ने अलमलमा छन्। तर मिल्न सक्ने अवस्था पनि छैन। उनीसँग स्थानीय तहको निर्वाचन अगाडि जस्तै कि विवाद थाती राखेर निर्वाचनपछिको समय कुर्ने या नयाँ दल बनाउने मात्रै विकल्प देखिन्छ।

‘हामी अलमलमा छौँ विभाजन गरेर ठुलो दल बन्न सकिँदैन। विभाजन गर्छौ परिणाम आउँदैन, नगरौँ यादव प्रवृत्तिसँग बस्न सक्ने अवस्था छैन,’ भट्टराई निकट एक पदाधिकारीले उकेरासँग भने।

पार्टीलाई कुन दिशामा लैजाने भन्ने वैचारिक बहस नै मुख्य समस्या छ। मदेशमा आधारित मत आएको र आउने हुनाले मधेस छाड्न सक्ने अवस्थामा पार्टी छैन। यादव मधेसमै रमाउन चाहन्छन् भने भट्टराई समावेशीको कुरा उठाएर पार्टीलाई लिड गर्न चाहन्छन्।

मध्यमार्गी नेताहरू छलफलबाट समाधान खोज्नुपर्ने पक्षमा छन्। तर उनीहरूको भनाइको सुनुवाइ भइरहेको छैन पाटीमा।

‘पार्टीको विवाद पार्टीभित्रै समाधान हुन्छ। भएन भने पनि जे हुन्छ त्यो स्विकार्नै पर्छ,’ सांसद समेत रहेका नेता प्रदीप यादवले भने।

बाबुरामका दुख

सशस्त्र सङ्घर्ष गरेर शान्तिपूर्ण राजनीतिमा आएपछि उनी तत्कालीन माओवादीमा टिक्न सकेनन् र अब कम्युनिस्ट रहिन भन्दै वैकल्पिक राजनीतिक शक्ति बनाउने भन्दै नयाँ शक्ति नेपाल गठन गरे। तर त्यसले सोचे जस्तो आकार लिन सकेन।

कहिले यता अनि कहिले उता गर्दै उनले नयाँ शक्तिको अस्तित्व नै नरहने गरी जनता समाजवादी पार्टीसँग एकता गरे। मधेसका अर्को शक्तिशाली महन्थ ठाकुर समूहसँग पार्टी एक बनाएर तेस्रो राजनीतिक शक्ति हुने प्रयास गरेका थिए। तर त्यो एकता पनि लामो समय टिकेन। महन्थ समूह नयाँ दल बनाएर हिँडे।

अहिले उनीसँगै उपेन्द्र यादव छन् पार्टीमा। तर दुबैबिच कुरा मिल्नै सकेको छैन। स्थानीय तह निर्वाचन अगाडि आफू निकटका नेतालाई लगाएर नयाँ दल दर्ता पनि गराएका छन् निर्वाचन आयोगमा। तर त्यसको घोषणा गर्न सकेका छैनन्। आफैँ जसपाको आधिकारिक समूह भएको कानुनी रूपमा पुष्टि गर्न आन्तरिक अभ्यास पनि गरे। तर सङ्ख्या पुगेन। अहिले उनी जसपामा न बस्न सक्ने अवस्थामा देखिएका छन् न त छाड्न सक्ने अवस्थामा।

१५ असार, २०७९, २२:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।