संघीय निर्वाचनमा गठबन्धन फुटाउने अस्त्र खोज्दै एमाले

संघीय निर्वाचनमा गठबन्धन फुटाउने अस्त्र खोज्दै एमाले

काठमाडौं : सत्ता-गठबन्धनकै कारण स्थानीय निर्वाचनमा धेरै स्थान गुमाउनुपरेको निष्कर्षमा पुगेको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले गठबन्धन फुटाउने रणनीतिमा लागेको छ।

एमालेका पछिल्ला गतिविधि हेर्दा संघीय निर्वाचनसम्म सत्ता-गठबन्धन फुटाउने अस्त्र खोजिरहेको देखिन्छ। 

स्थानीह तहको निर्वाचन अघिसम्म एमाले अध्यक्ष केपी शर्मा ओली सत्ता-गठबन्धनका दल माओवादी केन्द्र र एकीकृत समाजवादीलाई ‘कांग्रेसको वैशाखी टेकेको’, ‘आफ्नो खुट्टामा उभिने हैसियत नभएको’, 'गठबन्धन किलोका ढक, एमाले क्विन्टलको ढक' जस्ता टिप्पणी गरेर थाकेका थिएनन्।

तर, अहिले उनै ओली निर्वाचनमा सोचेजस्तो परिणाम नआए पनि पहिलो दल एमाले नै हो भन्ने प्रमाणित गर्न लागि परेका छन्। स्थानीय तहमा निर्वाचित आफ्ना जनप्रतिनिधिलाई काठमाडौंमा भेला पारेर एमालेले यही सन्देश प्रवाह गर्न खोजेको छ।

संघीय निर्वाचनको तयारीको लागि ग्रास रुटबाट तयारी थालेको एमालेले जनप्रतिनिधिलाई हतियार बनाएको छ। 

बिहीबार र शुक्रबार भएको प्रशिक्षण तथा अभिमुखीकरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीले स-सना कुरामा प्रवचन दिएर, निदाएका जनप्रतिनिधिलाई ब्युँझाएर पाठ पढाए। उनले जनतामाझ सामान्य व्यवहार गर्न, मिलनसार हुन, समस्यामा परेका जनतालाई सकेको सहयोग गर्न र पार्टीगत आधारभन्दा माथि उठ्न र साझा जनप्रतिनिधि बन्न प्रशिक्षणमा सहभागीलाई पाठ पढाए। 

उनले जनताले रुचाउने व्यवहार गर्न प्रतिनिधिलाई सिकाए। ‘संघीय चुनावका तयारीको सुरुवाती र एक हिस्सा यही हो,’ एमालेका एक पदाधिकारीले उकेरासँग भने। एमालेलाई बधाई भन्दै बिहीबार अध्यक्ष ओलीले अंक गणितको हिसाब निकाले।

‘२ भोट देखि ९९ भोटले एमालेले हारेको पालिका १९ वटा छन्। १८ वटा पालिकामा २०० भन्दा कम मतान्तरले हारेको, १५ ओटा पालिकामा ३०० भन्दा कम मतान्तरले हारेको, १५ पालिका ४०० भन्दा कम मतान्तरले हारेको १५ पालिका ५०० भन्दा कम मतान्तरले हारेका छौं,’ अध्यक्ष ओलीले भने।

आफ्ना जनप्रतिनिधिलाई उनले भने, ‘एक/डेढ सय भोट बढ्दा ८८ सिट बढ्छ, अहिले अनि २९३ सिट एमालेको पुग्थ्यो। पहिले २९४ मा जितेका थियौं। २७९ मा कांग्रेस झर्थ्यो।’ ती ठाउँमा एमाले बलियो बन्न सक्ने उनले बताए। 

ओली एमाले हेडक्वार्टरको कोर टिमको आकलनलाई एकातिर राखेर कार्यकर्तालाई पार्टी कमजोर छैन, अझै बलियो छ भन्ने कुरा रटाइरहेका छन्। ‘पपुलर भोटमा एमाले अहिले पनि माथि छ। हाम्रो स्थिति कमजोर छैन,' उनले प्रशिक्षणको उद्घाटनमा भने। 

गठबन्धन भत्कियोस् र एक्ला-एक्लै लड्दा फाइदा हुने एमालेको चाहना छ। ‘अहिले एमाले आफ्नो काम गरिरहेको छ, गठबन्धन कुनै पनि हिसाबले ठिक छैन। एमालेको परिणाममा यसले तात्विक असर नपार्ने स्थानीय तहको नतिजाले देखाइसकेको छ,’ एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने। 

स्थानीय तहको जस्तो परिणाम संसदीय चुनावमा नहुने र एमाले चुनावमा एक्लै लड्न सक्षम रहेको एमालेका सांसद तथा प्रतिनिधि सभाका प्रमुख सचेतक विशाल भट्टराई बताउँछन्। 

‘यस पटकको निर्वाचनमा गठबन्धन भएकै कारणले हामीले जित्नुपर्ने जति सिट नजितेको स्पष्ट छ। केही आन्तरिक समस्या पनि भए होलान्। मूल समस्या भनेको गठबन्धन नै हो,’ भट्टराईले उकेरासँग भने, ‘स्वभाविक हो गठबन्धन हुँदा हामीलाई प्रतिकुल हुन्छ। एक्ला एक्लै लड्दा राम्रो परिणाम आउँछ भन्ने कुरा क्लियर छ। त्यही भएर उहाँहरुले हाम्रो विरुद्ध गठबन्धन गर्नुभएको हो। हामीले गठबन्धन टुटाउन जे पनि गर्छौं भन्ने होइन।’ 

गठबन्धन हुँदा नतिजा कमजोर हुने निश्चित देखेको एमालेले गठबन्धन टुटाउने अस्त्र खोजिरहेको छ। एमसिसी व्याख्तात्मक टिप्पणी सहित संसदबाट पास गर्नु गठबन्धन टिकाउने मध्यमार्गी बाटो थियो। अब यस्ते सत्ता गठबन्धनमा लफडा हुने सम्झौता वा अन्य विषयले प्रवेश होस् भन्ने चाहन्छ।

‘एमसिसीको कारणले गठबन्धन झण्डै-झण्डै भत्किएको थियो। अहिले एसपीपीले एमसिसीको जस्तो तरंग नल्याएपछि उहाँहरुमा खटपट छ,’ एमालेका एक पदाधिकारीले उकेरासँग भने, ‘यस्तै केही आउला नि फेरि, उहाँहरुको गठबन्धन भत्किने वा स्वस्थ गठबन्धन नहुने।’ 

गठबन्धनको थ्रेट देखेको एमालेले पार्टीभित्र औपचारिक छलफल भने गरेको छैन। ‘एमालेको आन्तरिक तयारीमा दौडधुप छ। अरु पार्टीमा फाटो ल्याउने कुरा भयो यो त पार्टिमा छलफल भएको छैन,’ केन्द्रीय सदीस्य तथा सांसद सरिता न्यौपानेले भनिन्।

३ असार, २०७९, २१:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।