पतन उन्मुख राजनीतिक बिरासत फर्काउने दाउमा जोशी, पौडेल हराउन केन्द्रीय नेताकै मोर्चाबन्दी

पतन उन्मुख राजनीतिक बिरासत फर्काउने दाउमा जोशी, पौडेल हराउन केन्द्रीय नेताकै मोर्चाबन्दी

पोखरा : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहनगर तनहुँको ब्यास नगरपालिकाको निर्वाचन रोचक बनेको छ।

केन्द्रीय राजनीतिमा लामो समयदेखि दबदबा कायम गरेका रामचन्द्र पौडेल, शंकर भण्डारी, प्रदिप पौडेल, गोविन्द भट्टराई, ध्रुब वाग्ले लगायतका झण्डै एक दर्जन नेताको गृह जिल्ला तनहुँमा स्थानीय निर्वाचनमा कांग्रेसको कारबाहीमा परेका गोविन्दराज जोशी समक्ष निरीह देखिएका छन्। 

विशेषगरी कांग्रेसका वरिष्ठ नेता पौडेल निकट नेतासँग आक्रामक देखिएका जोशीले एमालेसँग तालमेल गरेर छोरा दीपकराज जोशीलाई ब्यासको मेयर उठाएपछि नै सबैको ध्यान खिचेको थियो। 

पौडेलदेखि झण्डै आधा दर्जन केन्द्रीय सदस्यहरुको गृह जिल्लामा गुटबन्दीका कारण नेपाली कांग्रेसका उम्मेदवार बैकुन्ठ न्यौपाने दीपकराज जोशीसँग झण्डै साढे पाँच सय मतान्तरले पछाडि परेका छन्।

तनहुँमा वरिष्ठ नेता पौडेल विरुद्ध कांग्रेसकै शंकर, प्रदीप, ध्रुव, गोविन्द लगायतको मोर्चाबन्दीले समग्र तनहुँ कांग्रेसभित्र धमिरा लगिरहेको छ। अर्कोतर्फ, कांग्रेसभित्र सल्केको विद्रोहको राप ताप्दै मौकामा चौका हन्ने च्याँखे दाउमा जोशीका बाबु-छोरा लागिरहेका छन्।

भ्रष्टाचारका मुद्दा र कांग्रेसको कारबाहीमा मुख्य योजनाकार रामचन्द्र भएको आरोप लगाउँदै आएका गोविन्दराज जोशी पौडेल इतरसँग मिलेर सदरमुकाम समेत रहेको ब्याससँगै तनहुँमा आफ्नो पुरानो विरासत फर्काउने दाउमा लागेका छन्। 

राजनीतिको केन्द्रमा रहेका गोविन्दराजले पछिल्लो समय आफ्नो गुमेको छविलाई फर्काउन अमेरिकामा लामो समयदेखि बस्दै आएका छोरा दीपकराजलाई बोलाएर राजनीतिमा अगाडि बढाएका हुन्। उनले नेता रामचन्द्रलाइ ठेगान लगाउने र उनीप्रति प्रतिशोध लिने योजनामा आफ्नो परिवारका सदस्यलाई नै राजनीतिमा होम्दै छन्। 

उता तनहुँ कांग्रेसका एकथरी नेताहरुले रामचन्द्र विरुद्ध मोर्चाबन्दी गर्दै जोशीलाई भित्री रुपमा सघाउँदै आएका छन्। तनहुँमा एउटा गुटले अर्कोको अस्तित्व स्वीकार नगर्दा पार्टीका संगठन नै निकम्मा भएको छ। पछिल्लो समयमा नेतापिच्छे गुट हावी भएपछि नेता-कार्यकर्ता रमिते बनेका छन्। 

कांग्रेसमा जिल्ला, पालिका र वडासम्मका जनता कांग्रेसको व्यक्तिवादी गुटमा विभाजित छन्। केन्द्रीय राजनीतिमा राम्रो प्रभाव बनाएका रामचन्द्रका विरुद्धमा पहिल्लो समय गोविन्दराजदेखि शंकर भण्डारीसम्मले मोर्चाबन्दी बनाएर गुट चलाइरहेका छन्। 

अहिलेको चुनावमा तनहुँ कांग्रेसका नेताहरुले कसरी रामचन्द्रले समर्थन गरेका नेतालाई हराउने र आफ्नो शक्ति स्थापित गर्ने भन्नेमै समय खर्चिएका छन्। 

केन्द्रीय राजनीतिमा तीन दशकभन्दा बढी रहँदा समेत जनअपेक्षा अनुसार काम गर्न नसकेपछि वरिष्ठ नेता पौडेल जिल्लामा क्रमश: कमजोर बन्दै गएका छन्। 

विगत लामो समयदेखि आफू निकटका उम्मेदवारले कांग्रेसको जिल्ला सभापति लगायतका पदमा विजयी बन्दै आए पनि गत अधिवेशनमा पौडेल पक्षबाट उम्मेदवार बनेका बैकुन्ठ न्यौपाने दिप्तप्रकाश आलेसँग पराजित भएका थिए। आले विगतमा पौडेल पक्षमा रहे पनि गत अधिवेशनमा शंकर भण्डारी र जोशी पक्षबाट उम्मेदवार बनेर पौडेल पक्षका न्यौपानेलाई पराजित गरेका थिए। यसले पनि पछिल्लो समय पार्टीको आन्तरिक द्वन्द्वका कारण पौडेल कमजोर बन्दै गएको देखाउँछ।

तनहुँमा लामो समयदेखि राजनीतिमा सक्रिय रहेका जोशीको स्थानीय स्तरमा राम्रो प्रभाव छ। पटक-पटक मन्त्री बन्दा जिल्लाको विकासभन्दा पनि कार्यकर्तालाई प्रभावमा राख्न ठेक्कापट्टा र आर्थिक लाभको अवसर दिएकाले तिनै कार्यकर्ताको अहिले जोशीलाई आड, भरोसा छ।

भूमितग राजनीतिमा लाग्दादेखि मन्त्री बन्दासम्म विभिन्न लाभ लिएका नेता-कार्यकर्ताको बलमा जोशीका छोरा दीपकराजले ब्यासको मेयरको चुनावमा झण्डै दस हजार मत गणना हुँदासम्म अग्रता लिएका छन्। ब्यास नगरको वडा नम्बर १ बाट वडाअध्यक्षमा कांग्रेसका रामचन्द्र हड्खले विजयी भइसकेका छन्। 

त्यसैगरी ब्यास दुई र तीनबाट पनि कांग्रेस उम्मेदवार क्रमशः काशीराम श्रेष्ठ, अनुपराज राना राम्रो मतान्तरले विजयी भएका छन्। ब्यासका १४ वटा वडामध्ये अहिलेसम्म तीन वडामा कांग्रेसले वडाअध्यक्ष सहित प्यानलै जितेको छ भने एउटामा नेकपा एमालेले जित हासिल गरेको छ। 

तर, तीन वटा वडामा राम्रो मतान्तरसहित जित हासिल गरेको कांग्रेसका उम्मेदवार बैकुन्ठ न्यौपाने भने दीपकराजसँग पछि परेका छन्। 

दस हजार ८ सय ३२ मत गणना हुँदा दीपकराजले ४ हजार ६ सय ९७ मत पाएका छन् भने कांग्रेसका न्यौपानेले ४ हजार १ सय ७४ मत पाएका छन्।

यस मतान्तरले के देखाउँछ भने, तीन वडाअध्यक्षमा जित हासिल गर्दा मेयरलाई कम मत आउनुले कांग्रेसका नेता-कार्यकर्ताले पार्टीका वडाअध्यक्षलाई मत दिएपछि स्वतन्त्रका दीपकराजलाई मत दिएको प्रष्ट हुन्छ।

त्यसैगरी उपमेयरमा कांग्रेसकी इन्दिरा दरैले ४ हजार ६ सय ७८ मत पाएकी छन भने उनका प्रतिस्पर्धी एमालेकी बसुन्धरा घर्तीले ३ हजार ८ सय ४६ मत पाएकी छन्।

सुरुमा मत गणना गरिएका क्षेत्र दीपकराजको पकड एरिया भएकाले केही मत बढी भए पनि अब मत गणना हुने वडाहरुमा पार्टीका उम्मेदवार न्यौपानेले मत पाउने सम्भावना रहेको कांग्रेसका नेता-कार्यकर्ता दावी गर्छन्।

६ जेठ, २०७९, १५:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।