एमालेमा आगो सल्काउने अडियो : सुन चोरीको भिडियो चुहाएको बदलामा अन्तर्घात !

एमालेमा आगो सल्काउने अडियो : सुन चोरीको भिडियो चुहाएको बदलामा अन्तर्घात !

पोखरा : पोखरा महानगरपालिकाको मतगणना जति अगाडि बढ्दै छ एमाले नेता-कार्यकर्तामा त्यति नै असन्तोष र आक्रोश। गठबन्धनबाट एकीकृत समाजवादीले नेतृत्व पाएपछि पक्का नेतृत्व पाउनेमा ढुक्क देखिन्थ्यो एमाले। तर प्रारम्भिक परिणाम अलग्गै आइरहेको छ।

प्रारम्भिक मत परिणामबाटै अन्तर्घात भएको भन्दै एमालेका स्थानीय नेता तथा कार्यकर्ताले सामाजिक सञ्जालमा प्रतिक्रिया दिइरहेका छन्। योसँगै अहिले निर्वाचनको समयमा अन्तर्घातको योजना बुन्दै गरेको एक अडियो अहिले भाइरल छ एमालेबिच।

सामाजिक सञ्जालमा फैलिरहेको सो अडियोमा एमालेका उम्मेदवारलाई जान सक्ने मत कसरी एकीकृत समाजवादीका उम्मेदवारलाई हाल्न लगाउने भन्ने रणनीति बनेको सुनिन्छ। कुराकानीमा संलग्न दुवै जना एमालेकै सङ्गठित कार्यकर्ता हुन् भन्ने संवादबाट छुटिन्छ।

संवादमा आ-आफ्नो वडाबाट मेयरमा मत एकीकृत समाजवादीलाई हाल्न लगाउने र एक वडाको संस्थाका लागि भनेर समाजवादीका मेयरका उम्मेदवारसँग पैसा माग्ने योजना समेत सुनिन्छ अडियोमा।

यसलाई कास्कीका एमालेहरूले पृथ्वी सुब्बा गुरुङ पक्षले पार्टीकै उम्मेदवारलाई हराउन खेल खेलेको भन्दै आरोप लगाइरहेका छन्।

पोखरामा टिकट पाइसकेका दीपक पौडेलले सुन पसलमा सुन लुकाएको जस्तै देखिने भिडियो सार्वजनिक भएपछि उनको टिकट खोसिएको थियो। त्यसैको प्रतिशोधमा पार्टीको उम्मेदवार हराउन सक्रिय भएको आरोप चर्किँदो छ कास्कीमा।

OOO

स्थानीय तह निर्वाचनमा सहभागी हुन  केन्द्रमा पाँच दलीय गठबन्धन बनेपछि बिस्तारै पोखरामा पनि चुनावी सरगर्मी बढ्दै थियो। गठबन्धन र  एमाले लगायतका दलबाट पोखरा महानगरपालिकाको मेयर र उपमेयरका आकाङ्क्षीहरू आधिकारिक उम्मेदवार बन्न लविङ्गमा थिए।

गठबन्धन दल मध्येको कांग्रेसलाई तीन महानगर, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलाई एक–एक महानगरको नेतृत्व दिने सहमति बन्यो। दलीय सहमतिमा पोखरा समाजवादीको भागमा पर्यो।

समाजवादीबाट पोखराको मेयरमा धनराज आचार्य सहित तीन जनाको नाम सिफारिस भयो। एमालेबाट दीपक पौडेल,कृष्ण बहादुर थापा, राजीव पहारी लगायत १८ जनाको नाम केन्द्रमा गयो।

गण्डकी प्रदेशमा एमालेभित्र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सङ्गठन विभाग प्रमुख खगराज अधिकारीले आफू निकटका ब्याक्तिलाई उम्मेदवार बनाउन चाहेकाले सहमति हुन नसक्दा नाम केन्द्रमा गएको थियो।

उम्मेदवारका बारेमा छलफल गर्न डाकिएको एमालेको सचिवालयको बैठक सकिए लगत्तै उपमहासचिव गुरुङले गण्डकी प्रदेश सरकार ढलेर एमाले नेतृत्वमा सरकार बन्ने अवस्था रहेकाले प्रदेश सांसदलाई राजीनामा गराएर मेयर बनाउन नसकिने बताए।

त्यस लगत्तै मेयरका आकाङ्क्षी कृष्ण बहादुर थापाले गुरुङको भनाइप्रति प्रतिवाद गरे। त्यसको ठिक दुई दिनपछि केन्द्रले पोखरा महानगरपालिकामा दीपक पौडेललाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको थियो।

पृथ्वीसुब्बा गुरुङ गुटका पौडेलले टिकट पाए लगत्तै अधिकारी गुटले उनीबिरुद्ध सुन चोरेको आरोप लगाउँदै सामाजिक सञ्जालमा भिडियो भाइरल गरायो। पार्टीले पौडेललाई दिइएको टिकट खोसेर थापालाई दियो। त्यसपछि गुरुङ गुटका नेता-कार्यकर्ता थापा हराउन सक्रिय देखिए।

त्यसमा गण्डकी प्रदेशमा एमालेभित्र फैलिएको उपमहासचिव पृथ्बीसुब्वा गुरुङ, सचिव पद्ममा कुमारी अर्याल र सङ्गठन विभाग प्रमुख खगराज अधिकारीबिचको टकराब मिसिने नै भयो। अहिले सार्वजनिक भएको अडियोको रणनीतिको सूत्रधार उनै गुरुङ हुन् भन्ने दाबी आइरहेको छ।

अडियो कसको हो पुष्टि भइसकेको छैन। तर कास्की एमालेका नेता तथा कार्यकर्ताको दाबी अनुसार पृथ्वीसुब्बा निकट राजीव पहारीका पिएसमेत रहेका मनोज पहारी र एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यका भतिजबिचको कुराकानीको अडियो हो त्यो।

अडियो वार्तामा जुनसुकै हालतमा थापालाई हराउने भन्दै यसमा पृथ्बीसुब्बा गुटले समेत समर्थन गर्ने दाबी गरिएको छ।

सार्वजनिक भएको अडियोमा कृष्ण थापालाई हराउन पृथ्वीसुब्बा गुरुङ, केन्द्रीय सचिव पद्मा अर्याल, केन्द्रीय सदस्य राजीव पहारी, केन्द्रीय सदस्य एवं इन्चार्ज भीम कार्की, कास्की जिल्ला अध्यक्ष मनबहादुर गुरुङ, एमाले प्रदेश कार्यालय सचिव माधव बास्तोला समेत सहमत रहेको दाबी गरिएको छ। 

१३ मिनेटको फोन वार्तामा मेयरमा धनराजलाई जिताए पनि वडाहरूमा भने एमालेका उम्मेदवारलाई जिताउनु पर्ने सल्लाह गरिएको छ।

अडियोमा धनराजका भतिज भएको बताउने युवाले आफ्नो अकंल भएकाले सिधा पैसा माग्न नमिलेकाले एउटा क्लबको नाममा आर्थिक सहयोग मागिदिन आग्रह समेत गरेका छन्। पहारीले धनराज आफ्नो व्यावसायिक पार्टनर भएकाले पैसाको कुरा गर्न समस्या नभएको दाबी गरेका छन्। अन्तमा दुबैबिच करिब ४ सय एमालेको मत धनराजलाई हाल्न लगाउने र अन्य पदमा भने एमालेकै उम्मेदवारलाई हाल्न लगाउने सहमति हुन्छ।

यस्तो सल्लाह भएको अडियो बाहिरिनु अनि प्रारम्भिक मत गणनाबाटै अग्रता लिने आस गरिएको उम्मेदवार पछि परेपछि पार्टीभित्र त्यसको छानबिन गर्न माग बढेको छ।

पार्टीभित्र विवाद बढेपछि एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङले विज्ञप्ति निकालेर अडियोबारे छानबिन गर्ने दाबी गरे।

उनले घटनाका बारेमा समिति नै बनाएर अध्ययन गरी दोषी देखिएकालाई कारबाही गर्ने उल्लेख गरेका छन्। गुरुङले जारी गरेको विज्ञप्तिमा अन्तर्घातमा संलग्न जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउन कुनै कसुर बाँकी नराख्ने उल्लेख छ। 

‘बजारमा कसैले नियोजित हल्ला चलाउँदैमा त्यस्ता विषयहरूलाई पार्टी जीवन र नेतृत्वसँग जोडेर प्रचारित गर्ने प्रवृत्ति ज्यादै खतरनाक छ। कसैको निजी संवादलाई प्रचारित गरेर राजनीतिलाई अपराधीकरण गर्ने यस्ता प्रवृत्तिप्रति पार्टी सदैव सचेत छ। यस्ता अफवाहहरूको पछि नलाग्न समग्र पार्टी पङ्क्ति र आम जनसमुदायलाई एमाले कास्की हार्दिक अपिल गर्दछ’ विज्ञप्तिमा भनिएको छ।

 यस्तो छ पोखराका मतको अवस्था 

पोखरामा झन्डै २२ हजार मतगणना हुँदा एमालेका मेयर उम्मेदवार थापा साढे १४ सय मतले पछाडि छन्। उपमेयर मञ्जु देवी गुरुङको अवस्था पनि उस्तै छ। उनी पनि झन्डै साढे सात सय मतले पछाडि परेकी छन्। 

गठबन्धनबाट मेयरको उम्मेदवार बनेका एकीकृत समाजवादीका आचार्यले महानगरमा २४ हजार २ सय ६० मतगणना हुँदा १० हजार १ सय ५७ मत प्राप्त गरेका छन्।

थापाले आठ हजार ६ सय मत पाएका छन्। आचार्यले मतान्तर बढाउँदै लगेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका शङ्कर खरेलले १ हजार १३६ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार खडकराज(गनेश) पौडेलले ५८६ मत पाएका छन्। 

उपमेयरमा कांग्रेसकी कोपिला रानाभाटले १० हजार ५ सय २१ मत प्राप्त गरेकी छन् भने एमालेकी मन्जुदेवी गुरुङले ९ हजार ७ सय ६३ मत पाएकी छिन्। कांग्रेसकी रानाभाटले एमालेकी गुरुङलाई ७५८ मतले उछिनेकी छिन। 

महानगरको वडा नं १ मा एमाले, वडा नम्बर २, ३, ४ र १२ मा कांग्रेस विजय भएको छ। महानगरमा अहिलेसम्म वडा नम्बर २३,२४,२५ र २६ वडाको मतगणना चलिरहेको छ। पोखरा महानगरमा दुई लाख सात हजार ७१२ मतदाता रहेका छन्। निर्वाचनमा महानगरमा एक लाख ४३ हजार २२६ मत खसेको थियो।  

३ जेठ, २०७९, २०:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।