स्थानीय तहमा बहुमत आउने दलहरूका हावा दाबी : गठबन्धनबिचमै आरोप-प्रत्यारोप, अलमलमै एमाले

स्थानीय तहमा बहुमत आउने दलहरूका हावा दाबी : गठबन्धनबिचमै आरोप-प्रत्यारोप, अलमलमै एमाले

काठमाडौँ : स्थानीय तहको निर्वाचन आउन ४ दिन बाँकी हुँदा पनि कहाँ कस्तो अवस्था छ भन्नेमा सत्ताधारी गठबन्धन अनि प्रमुख प्रतिपक्षी दल एमालेका नेताहरू मलमलमै देखिए। 

मङ्गलवार मध्यरातबाट मौन अवधि लागु हुँदै छ। उम्मेदवार प्रचार–प्रसारको अन्तिम समयमा पुगेका छन्। प्रमुख दलका प्रमुख नेताहरू म्याराथन शैलीमा प्रचारमा खटिएका छन्। तर प्रमुख दुवै समूह भने अलमलमा देखियो।

६ महानगर ११ उपमहानगर २ सय ७६ नगरपालिका ४ सय ६० गाउँपालिका गरी ७ सय ५३ स्थानीय तहमा ६ हजार ७ सय ४३ वडा छन्। त्यसमा जम्मा ३५ हजार ४१ जनप्रतिनिधि चुनिने छन्।

निर्वाचनमा ७९ दल प्रतिस्पर्धामा भए पनि मुख्य प्रतिस्पर्धा पाँच दलीय गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेका उम्मेदवारबिच देखिएको छ। पाँच दलको गठबन्धन बने पनि सबै ठाउँमा सहकार्य हुन सकेको छैन।

पाँच दल मिलेको गठबन्धनका नेताहरू बागी र तालमेल नमिल्दा भड्किएका मतदाताको मनस्थिति वैशाख ३० गतेसम्म हुने के हो भन्नेमै अलमलमा देखिए। एमालेले राप्रपा नेपाल अनि नेपाल परिवार दलसँग सहकार्य गरे पनि त्यति सहयोग देखिएको छैन।

अन्य साना दलले आफ्नो हित अनुसार गठबन्धन गरेका छन्। गत स्थानीय तहको निर्वाचनमा भन्दा राप्रपाको प्रचार यो पाली आक्रामक देखिएको छ। उसले भरतपुर महानगरपालिकामा एमालेसँग गठबन्धन गरेर उता झापामा भने कांग्रेससँग सहकार्य गरेको छ।

कतै एकीकृत समाजवादी र एमालेको गठबन्धन पनि छ। कतै माओवादी र समाजवादीको मात्र गठबन्धन छ। कतै गठबन्धनमा प्रमुख तीन दल एक्ला-एक्लै निर्वाचनमा सहभागी भएका छन्।

एमालेभन्दा गठबन्धन बलियो देखिए पनि प्रचार प्रसारको अन्तिम समयसम्म पनि गठबन्धनका नेताहरूबिच शङ्का हट्न सकेको छैन। भरतपुर महानगरमा कांग्रेसका बागीलाई ब्याक गराउन नसक्दा माओवादी सशङ्कित छ कांग्रेससँग। उता माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहमति अनुसार कांग्रेसले पाएको सिटमा उनको पार्टीबाट बागी हालेका उम्मेदवारको पक्षमा भोट माग्न हिँडेका छन्।

पोखरा महानगरपालिकाको नेतृत्वका लागि सङ्घर्षरत एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल कांग्रेसमा मै ठुलो भन्ने घमन्ड देखिएको भन्दै सार्वजनिक मञ्चमा भाषण गर्दै हिँडिरहेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै जिल्लामा कांग्रेस बिपीको चेपुवामा छन्।

काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले सत्ता गठबन्धन अनि एमाले दुवैको निन्द्रा हराइदिएका छन्। पोखरामा पनि अटेरी समूहको प्रभाव बढिरहेको छ। यसले पनि दलहरू कहाँ कस्तो नतिजा निस्कन्छ भन्नेमा अझैँ प्रस्ट हुन सकेको देखिएन।

यही अन्योलका बिचमा पनि कांग्रेसले भने स्थानीय तहमा ७० प्रतिशत नतिजा आफ्नो पक्षमा आउने आँकडा निकालेर बसेको छ। अघिल्लो निर्वाचनमा उसले ७ सय ५३ तहमध्ये २ सय ७४ तहमा जितेको थियो।

‘मतदाताको विवेकलाई हामी विश्वास गर्न चाहन्छौँ। अहिले यति आइसक्यो भनेर ठ्याक्कै तथ्याकं दिन चाहन्न यद्यपि हामीले मुल्याकंन गरेका छौँ, कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले उकेरासँग भने। हामी गठबन्धन सहित बहुमत ठाउँमा विजयी हुने बताएका प्रवक्ता महतले धेरै ठाउँ भनेको सङ्ख्यामा कति हो भन्ने प्रश्नमा भने, ‘कांग्रेस एक्लैले मात्रै बहुमत ठाउँमा जित्छौँ, गठबन्धनलाई निकै माथि हुन्छ। सबै गर्दा हामी ७५ प्रतिशत माथि हुन्छौ।’

सत्ता गठबन्धनसँग चुनावमा एक्लै भिड्दा २०७४ सालको जित जोगाउन एमालेलाई कठिन हुने प्रदेश अध्यक्षहरूको निचोडका साथ चुनावी मैदानमा उत्रिएको एमालेले पार्टीबाट बाहिरिएर एकीकृत समाजवादीमा गएका कार्यकर्ताको भोट अरू पार्टीबाट तानेर पुरा गर्न चुनावी रिङमा उत्रियो। २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेले २ सय ९४ स्थानीय तहमा जित निकालेको थियो।

वैशाख ३० को निर्वाचनमा एमालेले अब २ सय स्थानीय तहमा मात्रै जित्न सक्ने केन्द्रीय कमिटीमा रिपोर्टिङ थियो। चुनावी आङ्कलनबारे केन्द्रीय पदाधिकारीहरू भने अझैँ बोल्न चाहँदैनन्।

‘देशभरको बस्तुस्थितबारे मलाई उति साह्रो ज्ञान भएन। पहिले राम्रो नतिजा आउँछ भन्ने ब्रिफिङ थियो,' एमाले नेता रघुजी पन्तले उकेरासँग भने।

एमाले पोलिटब्यूरो सदस्य सुशीला नेपालले स्थानीय सरकारले उत्कृष्ट कार्यसम्पादन गरेकाले त्यसको आधारमा राम्रो नतिजा आउने दाबी गर्छिन्।

 ‘हामीले सरकारमा हुँदा गरेका कामहरू नै हाम्रो जित्ने आधार हो। २ सय ९४ पालिका जितेकोमा त्यो बढेर नतिजा हाम्रो पक्षमा आउँछ,’ नेपालले उकेरासँग भनिन्।

गत ०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा माओवादीले १०६ स्थानीय तह जितेको थियो। सय स्थानीय तहमा झिनो मतले पराजित भएर दोस्रो भएको थियो।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माओवादी पहिलो पार्टी बन्ने भन्दै निर्वाचन अघि देश दौडाहामा थिए। बहुमत आउने दाबी गरेको पार्टीले अहिले एक तिहाइ पनि उम्मेदवारी दिएको छैन।

यस पटक गठबन्धन हुँदा माओवादी केन्द्रको अढाई सय स्थानीय तहमा विजयी हुने सो पार्टीका नेताहरूले बताउने गरेका छन्।

‘गठबन्धनको आ–आफ्नो आवश्यकता अनुसार बनेको छ, यसले पनि नतिजामा असर पर्छ,’ माओवादी नेता देव गुरुङले उकेरासँग भने, ‘ब्यालेटले गर्ने निर्णयमा यति हुन्छ भनेर किन अघि नै बोल्ने ? अब ४ दिन पर्खनुस्, केही सिनारियो आउला।’

पोखरा महानगरको नेतृत्वसहित चुनावमा होमिएको एकीकृत समाजवादीका नेताहरू जितको आङ्कलन गर्न हतार हुन बताउँछन्। काठमाडौँमा उपमेयर उठाएको एकीकृत समाजवादीलाई जित निकाल्न कठिन देखिन्छ।

‘अहिले कुनै स्पष्ट खाका आएको छैन। चुनावसम्म अदलबदल हुन सक्छन्। १–२ दिनमा सिनारियो आउँछ,' एकीकृत समाजवादीका सचिव जीवनराम श्रेष्ठले भने।

०७४ मा दलको शक्ति 

एमाले : एमालेले दुई महानगरपालिका २ महानगरपालिका र ७ उपमहानगरपालिका सहित १ सय २३ नगरपालिकाको प्रमुख जितेको थियो। त्यस्तै १ सय ७१ गाउँपालिकाको अध्यक्ष जितेर पहिलो पार्टी बनेको थियो।

मुस्ताङका एक र डोल्पाका २ स्थानीय तहमा स्वतन्त्र उम्मेदवार बनेर जितेका प्रमुखहरू एमाले प्रवेश गरेपछि उसको भागमा प्रमुखको सङ्ख्या २ सय ९७ पुगेको छ। निर्वाचन आयोगले भने उनीहरूको हैसियत स्वतन्त्रकै रूपमा छ।

३५ हजार ४१ जनप्रतिनिधि मध्ये १४ हजार ९८ पदमा एमालेले जितेको थियो। यो कुल जनप्रतिनिधिको ४० दशमलव २३ प्रतिशत हो।

कांग्रेस : कांग्रेसले २ महानगरपालिका,२ उपमहानगरपालिका सहित १ सय ५ नगरपालिकाको प्रमुख जितेर दोस्रो स्थानमा थियो। नगरपालिका प्रमुखमा कांग्रेसले एमालेको भन्दा १८ स्थान कम जितेको थियो।

कांग्रेसले १६१ गाउँपालिका अध्यक्ष जित्दा ७५३ स्थानीय तहमध्ये २७४ स्थानीय तहको प्रमुख जितेको थियो। यो एमालेको भन्दा २० स्थान कम सिट हो। उसले ८४ नगरपालिकाको उपप्रमुख र १६१ उपाध्यक्ष सहित २४५ स्थानीय तहको उपप्रमुख जितेको थियो।

यो भनेको एमालेको भन्दा ८६ स्थान घटी हो। ३५ हजार ४१ पदमध्ये काग्रेसले ११ हजार ४५७ पदमा जित हात पारेको थियो। यो ३२ दशमलव ६९ प्रतिशत हुन आउँछ।

माओवादी : माओवादीले एक महानगर सहित ३४ नगरपालिकाको प्रमुख र ७२ गाउँपालिका अध्यक्ष सहित १०६ स्थानीय तहको प्रमुख जितेर तेस्रो थियो। ४३ नगरपालिकामा उपप्रमुख र ६८ गाउँपालिकामा उपाध्यक्ष जितेर उपप्रमुखतर्फ माओवादीले १११ स्थानीय तहमा उपप्रमुख जितेको थियो।

वडाध्यक्षमा माओवादीले १ हजार १०३ वडा जितेको थियो।  भने १०३५ महिला सदस्य,१०३० दलित महिला र २०५६ खुला सदस्य गरी माओवादीले कुल ५ हजार ४४१ पदमा जित हात पारेको थियो। यो भनेको १५ दशमलव ५२ प्रतिशत हुन आउँछ।

सङ्घीय समाजवादी फोरम (हाल जसपा)

०७४ सालको स्थानीय तहका निवर्तमान सङ्घीय समाजवादी फोरम १० नगरपालिका प्रमुख र २४ गाउँपालिका अध्यक्ष सहित ३४ स्थानीय तहमा प्रमुख जितेको थियो।

फोरमले ६ नगरपालिकामा उपप्रमुख र २६ गाउँपालिकामा उपाध्यक्ष सहित ३२ स्थानीय तहमा उपप्रमुख जितेको थियो। उसले २६२ वडाध्यक्ष, २९० महिला सदस्य, २८१ दलित महिला सदस्य र ५४० खुला सदस्य गरी  १ हजार ४३९ पदमा जित हात पारेको थियो। यो ४ दशमलव १ प्रतिशत हो ।

राजपा : तत्काल राजपाले पहिलो र दोस्रो चरणको स्थानीय तह चुनाव बहिस्कार गरेको थियो। मधेस प्रदेश सहितका जिल्लामा भएको तेस्रो चरणमा उसले सहभागी जनाएको थियो। उसले १४ नगरपालिका प्रमुख र ११ गाउँपालिका अध्यक्ष सहित २५ स्थानीय तहको प्रमुख जितेको थियो। राजपाले १७ नगरपालिकामा उपमेयर,१३ गाउँपालिका उपाध्यक्ष सहित ३० स्थानीय तहमा उपप्रमुख जितेको छ । १९४ वडाध्यक्ष, २११ महिला सदस्य, २१४ दलित महिला सदस्य र ४३७ खुला सदस्य सहित १हजार १११ पदमा जित हात पारेको थियो। यो ३ दशमलव १७ प्रतिशत हुन आउँछ।

अन्य दल र स्वतन्त्र

फोरम लोकतान्त्रिक (अहिले कांग्रेमा विलय) ले १ नगरपालिका प्रमुख र ४ गाउँपालिका अध्यक्ष सहित ६ स्थानीय तह जितेको थियो।  राप्रपाले एक उपमहानगरपालिका प्रमुख र तीन गाउँपालिका अध्यक्ष सहित ४ स्थानीय तह जितेको थियो। ०७४ मा राजपाले ३ स्थानीय तह जितेको थियो।

नेपाली जनता दलले एक नगरपालिका र एक गाउँपालिका सहित २ स्थानीय तहको प्रमुख जितेको थियो।  नयाँ शक्ति (अहिले जसपा) ले २ गाउँपालिका प्रमुख जितेको थियो। नेपाल मजदुर किसान पार्टी १ नगरपालिका जितेको थियो। अन्य ४ स्थानमा स्वतन्त्र उम्मेदवारले जितेका थिए।

२६ बैशाख, २०७९, २२:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।