ललितपुर महानगर: इतिहास दोहोर्‍याउने र बदला लिनेबीच रोचक प्रतिस्पर्धा

ललितपुर महानगर: इतिहास दोहोर्‍याउने र बदला लिनेबीच रोचक प्रतिस्पर्धा

ललितपुर महानगरपालिकाको प्रमुखमा १३ र उपप्रमुखमा १४ जनाको उम्मेदवारी परेको छ। महानगर प्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका चिरिबाबु महर्जन दोहोरिएका छन्।

एमालेले पनि हरिकृष्ण व्यञ्जनकारलाई नै पुनः उम्मेदवार बनाएको छ। यता राप्रपाबाट अष्टबहादुर महर्जन, विवेकशील साझाबाट उज्ज्वलकृष्ण श्रेष्ठ, नेकपा मालेबाट मोहनराज शाक्य, नेमकिपाबाट अशोक महर्जन, राष्ट्रिय जनमुक्ति पार्टीबाट समिकपुर महर्जन, आमूल परिवर्तन पार्टीबाट सपना महर्जन, मौलिक जिरोकिलोबाट सपना श्रेष्ठ, जनमत पार्टीबाट वासुदेव अमात्य, तथा स्वतन्त्रबाट सरिना लाखे श्रेष्ठ, सुरेश महर्जन र राजेन्द्र थापामगरले उम्मेदवारी दिएका छन्। 

०७४ सालमा ललितपुरमा एमालेले राप्रपासँग तालमेल गरेर निर्वाचन लडेको थियो। कांग्रेस एक्लै चुनावी मैदानमा थियो। 

२०७४ सालको स्थानीय निर्वाचनकै उम्मेदवारहरू पुनः मैदानमा उत्रने भएपछि लतिलपुरको चुनाव यस पटक रोचक हुने भएको छ।

विशेषतः महर्जन र व्यञ्जनकारबीचको प्रतिस्पर्धा रोचक हुने अनुमान छ।

उम्मेदवार बन्न महर्जनले पार्टीभित्रै टिकटको लागि 'पापड बेल्नु परेको' थियो। महर्जनलाई सोही पदमा दोहोरिने औपचारिकता दिन अन्य ७ प्रतिस्पर्धीलाई उछिन्न परेको थियो। 

एमाले केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला सहइन्चार्ज रहेका व्यञ्जनकारलाई भने एमालेको महानगर कमिटीले सर्वसम्मत मेयरमा सिफारिस गरेको थियो। 

बदला लिने र इतिहास दोहोर्याउनेको प्रतिस्पर्धा 
०७४ सालमा महर्जन र व्यञ्जनकारको मतान्तर ३२६ थियो। मेयरमा विजयी महर्जनले २४ हजार ६४२ मत ल्याउँदा व्यञ्जनकारले २४ हजार ३१६ मत प्राप्त गरेका थिए। 

र यस पटक यी दुईको प्रतिस्पर्धा यस कारण पनि रोचक हुनेछ कि- महर्जन पुनः इतिहास दोहोर्याउन चाहन्छन्। व्यञ्जनकार हारेको बदला लिन चाहन्छन्।

०७४ सालमा ललितपुरमा एमालेले राप्रपासँग तालमेल गरेर निर्वाचन लडेको थियो। कांग्रेस एक्लै चुनावी मैदानमा थियो। 

महानगरभित्र सम्पदा संरक्षण गर्ने काममा अग्रसरता देखाएर महर्जनले कांग्रेसको साख जोगाएका थिए। तर फ्लाइ ओभर, रेल लगायतका महत्त्वकांक्षी योजनामा उनी चिप्लिए।

अघिल्लो पटकको चुनावी परिणामको अंकगणित र बदलिएको समीकरणलाई हेर्ने हो भने महर्जनलाई दोस्रो इनिङ्स चलाउन सहज देखिन्छ। व्यञ्जनकारलाई बदला लिन कठिन छ। 

किनकी, यस पटक एमाले एक्लै चुनावी प्रतिस्पर्धामा छ। कांग्रेसलाई माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलहरूको टेको छ। 

राप्रपाबाट आएको एमालेको भोट घट्ने
०७४ सालमा व्यञ्जनकारले ल्याएको कुल मत २४ हजार ३१६ मा राप्रपाबाट आएको मत समेत जोडिएको देखिन्छ। किनकी राप्रपाबाट उपमेयरमा भिडेका बाबुकाजी थापाले १० हजार ५४७ मत ल्याएका थिए। 

अघिल्लो पटक माओवादीका उम्मेदवार दिनेश महर्जन तेस्रो बन्दै १० हजार ६६१ मत ल्याएका थिए। यो १० हजार मत यस पटक चिरिबाबुको ब्यालेटमा खस्नेछ। एमालेबाट विभाजित भई बनेको एकीकृत समाजवादीले पनि व्यञ्जनकारको भोट काट्नेछ। यसले चिरिबाबुलाई दोहोरिन सहज बनाउँछ।

ललितपुर महानगरपालिकामा ०७४ सालको भन्दा ९ हजार ९६८ मतदाता बढेका छन्। २०७४ सालको चुनावमा एक लाख १२ हजार ९२२ मतदता थिए। अहिले एक लाख २२ हजार ८९० पुगेका छन्। 

०७४ सालमा महानगर प्रमुख र उपप्रमुख दुवै पद कांग्रेसले जितेको थियो। २९ वडामध्ये कांग्रेसले १० वटा वडा, एमालेले १३ वटा वडा र माओवादीले ४ वटा वडा जितेको थियो। 

महानगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका रमेश महर्जनले १३ हजार ४५८ मत ल्याएका थिए। साझा पार्टीले त्यसबेला दलीय हैसियत पाइनसकेकाले उनले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका थिए। 

प्रमुख पदमा १४ जनाको उम्मेदवारी पर्दा ६ जना उम्मेदवारले दोहोरो अंक कटाउन सकेका थिएनन्। मालेका मोहनराज शाक्यले ३१७, नेमकिपाका राजेन्द्रमान श्रेष्ठले ६८, चुरेभावर लोकतान्त्रिक पार्टीका अभय बस्नेतले ९०, राष्ट्रिय जनमुक्ति पार्टीका रोशन महर्जनले २७८, नयाँ शक्ति पार्टीका मदन महर्जनले ७७९, स्वतन्त्रबाट उम्मेदवारी दिएका प्रेमलाल महर्जनले ३६३, वजन खडगीले ५६, प्रदीपकसमार थापाले ५३, बाबुराजा शाक्यले १९ र विष्णुबहादुर बस्नेतले १४ मत ल्याएका थिए। 

कामको क्रेडिट खाने दाउमा महर्जन
महानगरभित्र सम्पदा संरक्षण गर्ने काममा अग्रसरता देखाएर महर्जनले कांग्रेसको साख जोगाएका थिए। तर फ्लाइ ओभर, रेल लगायतका महत्त्वकांक्षी योजनामा उनी चिप्लिए।

महर्जनले यस पटक पनि ललितपुरमा जित्ने दावी गरेका छन्। उनी भन्छन्, ‘मैले मेयर हुँदा राम्रो काम गरेको छु। त्यसैले जनताले मलाई फेरि जिताउनेमा ढुक्क छु। शिक्षा, स्वास्थ्य, वातावरणका क्षेत्रमा राम्रो काम गरेको छु।’ 

कार्यकर्ता तानेकाले व्यञ्जनकारको जित्ने दावी
यता, एमालेको उम्मेदवार व्यञ्जरकार पनि आफूले जित्ने दावी गर्छन्। उनी भन्छन्, ‘अहिले गठबन्धनसँग डराउनुपर्ने अवस्था छैन। उहाँहरू आफैँ कमजोर भएको स्वीकार गरेर गठबन्धन गर्नुभएको हो।’ 

उनी ५ दलसँग एमाले एक्लै लड्न तयार भएको कन्फिडेन्स देखाउँछन्। व्यञ्जनकार भन्छन्, ‘मैले हाम्रो जितका आधार प्रस्तुत गर्दै आएको छु। पहिला हामीले धेरै ठाउँमा सय भोटले हारेका हौं। त्यो बेला माओवादी अलि बलियो थियो। तर, अहिले त्यो अवस्था छैन। करिब ६ हजार माओवादी एमालेमा आइसकेका छन्। त्यसैले हामी पहिले भन्दा धेरै बलियो बनेका छौं।’ 

उनी चिरिबाबुको पाँच वर्षे कार्यकालको चिरफार गरेर चुनावमा जाने योजनामा छन्।

१८ बैशाख, २०७९, १०:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।