कांग्रेसको भागबन्डामा देउवा पक्षले मारे बाजी, पौडेल र विमलेन्द्रको साथ शेखरलाई, सिटौला एक्लै परे

कांग्रेसको भागबन्डामा देउवा पक्षले मारे बाजी, पौडेल र विमलेन्द्रको साथ शेखरलाई, सिटौला एक्लै परे

काठमाडौँ : गठबन्धनबिच स्थानीय तहमा चुनावी तालमेलमा नेपाली कांग्रेसको भागमा काठमाडौँ, ललितपुर र विराटनगर महानगरपालिका पर्यो। ती महानगरहरूको प्रमुखका लागि प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा, केन्द्रीय सदस्य डा. शेखर कोइराला र अर्का नेता प्रकाशमान सिंहबिच भागबन्डा भयो। देउवाले २, कोइराला र सिंहले १–१ महानगर पाए।

संसदीय बोर्डले टिकट दिने अधिकार पार्टी सभापतिलाई दियो। प्रतिस्पर्धी धेरै थिए। महाधिवेशनपछि नियमानुसार गठन हुनुपर्ने संसदीय समिति गठन नगरेको कांग्रेसले अन्तिम समयमा उम्मेदवारको मनोनयनको दिन गठन गरेको थियो।

१३ पदाधिकारी र वरिष्ठ नेता रामचन्द्र पौडेल समेटेर १४ सदस्यीय संसदीय समिति गठन भयो। विधान अनुसार २५ सदस्यीय हुनुपर्ने संसदीय समिति सङ्ख्या अपुरै रह्यो। पदाधिकारी बाहेक १ जना मात्र थप्ने निर्णयमा पुगेपछि कोइरालाले पौडेललाई नै राख्न सुझाएका थिए।

संसदीय समितिले सभापति देउवालाई नै उम्मेदवार छान्ने अधिकार प्रत्यायोजन गरेपछि देउवाले ललितपुरमा आफू निकटका चिरिबाबु महर्जनलाई महानगर प्रमुखमा दोहोर्याए। विराटनगरमा नेता डा. कोइराला र काठमाडौँ नेता सिंहलाई दिए।

देउवाले विराटनगरमा कोइरालानिकट नागेश कोइराला र काठमाडौँमा नेता सिंहकी पत्नी सिर्जनालाई महानगर प्रमुखका लागि टिकट दिए। सिर्जना नेपाल महिला सङ्घ काठमाडौँकी प्रमुख सल्लाहकार हुन् भने नागेश मोरङ कांग्रेसका उपसभापति हुन्।

विराटनगरको प्रमुखमा कसलाई टिकट दिने भन्नेमा बालुवाटारमा शनिवार राति चर्काचर्की नै परेको थियो। विराटनगर महानगरपालिकाको मेयरमा भीम पराजुलीलाई नै दोहोर्याउने कि शेखर कोइरालाले प्रस्ताव गरेका नागेशलाई टिकट दिने भन्नेमा विवाद भएको थियो।

विमलेन्द्र निधि लगायतका नेताले विराटनगरमा शेखरको उम्मेदवार नागेशलाई मेयरको टिकट दिनुपर्ने पक्षमा साथ दिए। यसमा कृष्ण सिटौलाले असहमति जनाउँदै पराजुलीलाई नै मेयरमा दोहोर्याउनुपर्ने अडान लिए पनि उनको जोर लागेन।

बैठकमा काठमाडौँको जिल्ला सभापति र महानगर सभापति प्रकाशमान सिंह निकट भएकाले प्रकाशमानले भनेको व्यक्तिलाई टिकट दिने मुख्य आधार बन्यो। काठमाडौँ जस्तै अवस्था मोरङमा भएकाले यसमा शेखरले बाजी मारे। मोरङ जिल्ला सभापति र महानगर सभापति दुवै शेखरको लबिङको पक्षमा थिए।

कांग्रेसको १४ औँ महाधिवेशनको दोस्रो चरणमा देउवालाई सभापतिमा दोहोरिन सघाएका निधिले विराटनगर महानगर प्रमुखमा भने कोइरालालाई साथ दिए। निधिले कोइरालाले भने झैँ जिल्ला सभापति र नगर सभापति काठमाडौँमा हुँदा प्रकाशमानको माग सम्बोधन हुने तर मोरङमा नेता शेखर पक्षको जिल्ला सभापति र नगर सभापति हुँदा कोइरालाको बोली किन सम्बोधन नहुने भन्ने विषय उठाएका थिए।

उपमेयरतर्फ पोखरामा कोइराला निकटका कोपिला रानाभाटले टिकट पाउँदा भरतपुरमा पनि कोइरालानिकट चित्रसेन अधिकारीले टिकट पाए। वीरगन्जमा संस्थापन पक्षकै नेता इम्तियाज आलम उपमेयरको टिकट पाए। 

भरतपुरको उपमेयरको उम्मेदवार महानगर सभापति चित्रसेन अधिकारीलाई बनाउन सभापति देउवाले चाहेका थिए। रामचन्द्र पौडेल भने सूर्यकान्त घिमिरेलाई टिकट दिनुपर्ने पक्षमा थिए। अधिकारी संस्थापन र इतर दुवैतिर सुमधुर सम्बन्ध रहेका नेताको रूपमा चिनिन्छन्।

केही दिन अघि चौथौँ समूह बनाउन भन्दै सक्रिय रहेका नेता पौडेल भने कोइराला समूहका नेताहरूको व्यवस्थापनमा सहमत भए यसपालि। संसदीय समिति गठन गर्दा कोइराला पक्षलाई ठाउँ दिनुपर्ने भएपछि समिति नै गठन नगरेका देउवाले अन्तिममा बिरालो बाँधेको शैलीमा संसदीय समिति गठन गरेर आफू निकटलाई टिकटमा सहज बनाए।

१३ बैशाख, २०७९, १४:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।