'आरआरआर' : जुनियर एनटीआर र रामचरणमा मिसिएको आगो र पानीको कथा

'आरआरआर' : जुनियर एनटीआर र रामचरणमा मिसिएको आगो र पानीको कथा

चौतर्फी तारिफसँगै पैसा कमाइरहेको फिल्म हो दक्षिण भारतीय फिल्म 'आरआरआर'। यसका निर्देशक एस. एस. राजामौली त अहिले फिल्मी क्षेत्रका बहसका ब्यक्ती नै बनेका छन्। राजामौली 'गेम अफ थ्रोन्स' सिरिजको डाइहार्ड फ्यान। त्यसैले होला 'बाहुबली'मा गेम अफ थ्रोन्सका कतिपय सिक्वेन्सको छनक देखिन्थ्यो। 'आरआरआर'को सुरुको सिन पनि गेम अफ थ्रोन्सको ब्याटल अफ बास्टर्डसबाट 'इन्स्पायर्ड' देखियो।

खैर प्रभावित हुन त जताबाट पनि पाइन्छ। कपी-पेस्ट नगरे भइहाल्यो।

आरआरआरको सेटिङ हो- सन् १९२०। रियल लाइफका फ्रिडम फाइटर कोमाराम भीम र अल्लुरी सीतारामा राजुको कथालाई फिल्मको कथाको रूपमा ढालेका छन् निर्देशकले। 

भीमको भूमिका निभाएका छन् जुनियर एनटीआरले। रामचरण रामा राजुको भूमिकामा छन्। यी दुईलाई निर्देशकले दुई भिन्न चरित्र चित्रण गरेर प्रस्तुत गरेका छन्, रामा राजु- आगो र भीम- पानी। 

रामाराजु एक पुलिस अफिसर हुन्, आगोजस्तै। आफ्नो लक्ष्यविरुद्ध जो आउँछ त्यसलाई खरानी बनाउँछन्। उनले आफ्नो लक्ष्यमा बाधा बन्ने देखिएपछि घनिष्ठ मित्र भीमलाई समेत ब्रिटिस सरकारविरुद्ध विद्रोह गर्न आएका विद्रोही मात्र देख्छन्।

यता भीम आदिवासी गोण्ड जातिका हुन्। उनी पानीजस्तै छन्। शक्तिशाली, तर निश्चल। 

नेपालीमा एउटा भनाइ छ- 'आगो र पानीसँग कहिल्यै नजिस्किनू।' सारमा भन्नुपर्दा आरआरआरको कथा यत्ति हो।

फिल्मका मुख्य खलपात्र स्कटकी श्रीमतीले गोण्ड जातिको बालिका मल्लीलाई आफ्नो दरबारमा मनोरञ्जन र श्रृङ्गारका लागि लिएर जान्छिन्। तर गोण्ड यस्तो जाति हो जो आफ्नो समूहको एक सदस्यलाई पनि आफूहरूबाट छुट्न दिँदैन।

गोण्ड जातिको रक्षक हुन्छन् भीम। उनी मल्लीलाई जसरी पनि फर्काउने कर्तव्य बोकेर दिल्ली हानिन्छन्। 

यसबीचमा भीमले के के गर्न पुग्छन्? कस्ता दुःख झेल्छन्? कसले साथ दिन्छ? कसले घात गर्छ? के मल्ली फर्केर आफ्नै समूहमा जान पाउँछिन्? के भीम एक्लैले 'कहिल्यै घाम नअस्ताउने ब्रिटिस साम्राज्य'सँग भिड्न सक्छन्?

यी प्रश्नहरूको जवाफ चलचित्रले विस्तारै खोतल्दै जान्छ अनी तीन घण्टा बितेको पत्तै हुँदैन। सिनेम्याटिक अनुभव गराउँछ चलचित्रले। 

योसँगै समानान्तर अर्को कथा बगेको छ। कथा हो- भारतको स्वतन्त्रता सङ्ग्रामको।

यो कथाको केन्द्रमा छन्- रामा राजु। रामा राजु स्वतन्त्रता बन्दुकको नालबाट प्राप्त हुन्छ भन्नेमा विश्वास गर्छन्। उनमा यो विश्वास आफ्नो बुवाबाट आएको हुन्छ, जसले रामा राजुलाई बाचा गराएका हुन्छन्- हरेकको हातमा बन्दुक हुनेछ भनेर। 

रामा राजु हरेकलाई बन्दुक दिन सङ्घर्षरत हुन्छन् र यसबीच उनले भोगेको दुखान्त घटनालाई कसरी पार लगाउँछन्? यही द्वन्द्वले कथा अगाडि बढाउँछ।

हुन त यसअघि नै बलिउडले ब्रिटिस राज र यसले भारतीयलाई दिएको दुःखको कथा नभनेको होइन। तर बलिउडले सधैँ नर्थ इण्डियाको कथा मात्र पस्कियो। आरआरआरले डेक्कन (दक्षिण भारत)को कथा भन्यो। 

फिल्मको उत्कृष्ट पक्ष भनेको आगो र पानी अर्थात् रामा राजु र भीमको समानान्तर कथामा लुकेको पत्र नै हो।

भीमको कथा:
मल्ली निर्दोष बालिका हुन्। उनको आवाज मीठो छ। र उनी उत्कृष्ट श्रृङ्गार गर्छिन्। ब्रिटिसहरूले धोकाले मल्लीलाई किन्छन्। 

रामा राजुको कथा:
मल्ली नै भारत हुन्। भारतीय निर्दोष छन्। भारत ब्रिटिसहरूका लागि फगत मनोरञ्जनको साधन हो। ब्रिटिस शासकहरूले धोकाले भारतलाई किनेका हुन्।

यसलाई कलात्मकरूपमा देखाइएको छ चलचित्रमा। मल्लीलाई देखाइने हरेक सिनको फ्रेममा फोरग्राउण्डमा बार देखाइन्छ। मल्लीलाई त्यस बारभित्र कैद भएको देखाइन्छ।  

बाघ, भालु, चितुवा, हरिण जस्ता जनावरले आक्रमण गर्दा पनि मल्ली अर्थात् भारतलाई छोड्न चाहँदैनन् ब्रिटिसहरू। 

राष्ट्रियताको महत्त्व देखाउने सवालमा पनि ट्रेन विस्फोट भएको सिनमा भीम आगोभित्रबाट निस्किएको दृश्य छ। त्यस दृश्यमा भीम आगोभित्रबाट निस्कँदा उनलाई बेरेको हुन्छ- झण्डाले। झण्डामा 'बन्दे मातरम' लेखिएको हुन्छ।

०००
पञ्चतत्व (अग्नि, जल, वायु, पृथ्वी र आकाश)लाई फिल्मको एलिमेन्ट बनाएर पस्किने दक्षिण भारतीय निर्देशकहरूको खुबी नै हो। यसमा पायोनिर हुन्- मणि रत्नम। 

पछि राजामौलीले नै बाहुबलीमा पनि पञ्चतत्वलाई चलचित्रको एलिमेन्ट बनाएका थिए। यही तत्वमध्ये अग्नि र जल आरआरआरको हिस्सा हो।

तर यी सब पक्ष फिल्मको हाफ टाइमअघि मात्र भेटिन्छ। हाफ टाइमपछि आरआरआरले आफ्नो धर्म बिर्सिन्छ। बिल्कुल मसला मुभीमा परिणत हुन्छ। 

अरू त अरू फिल्मको अन्त्य पनि साह्रै झुर छ। फिल्मका मुख्य खलपात्रमा भिलेनसँग हुनुपर्ने केही गुण छैन। त्यसै त्यसै दुई हिरोहरू कोही नपाएर उनलाई मार्न तम्सिएको जस्तो लाग्छ। 

त्यसमाथि रामा राजुको 'राम अवतार' त हास्यास्पद नै छ। सीता (आलिया भट्ट)को प्रेमी भएकै कारण उनलाई रामको अवतार मानिएको जस्तो लजिक छ फिल्ममा।

हुन त दक्षिण भारतीय फिल्म लजिक बोकेर हेर्ने होइन। तर पनि तोप, बन्दुकसहितको त्यत्रो फौज रामको वाणले सखाप भएको दृश्य पचाउन गाह्रै हुन्छ।

'सिनेम्याटिक लिबर्टी'को नाममा निर्देशकले धेरै नै छुट खोजे कि जस्तो लाग्छ यी दृश्यहरूमा। कथामा पनि केही ट्वीस्ट छैन। अनुमान गर्न सकिने कुराहरू नै समावेश छन्। भीएफएक्स पनि ठीकठाक मात्रै छ। 

फिल्मको पट्यारै लाग्दो पक्ष भनेको आलियाको अभिनय हो। फिल्ममा उनको अभिनय एउटा गौण पात्रको जत्ति पनि छैन। आफ्नो सिन केवल १० मिनेटमा खुम्च्याएकोमा निरास आलियालाई त्योभन्दा बढी स्पेस दिइएको हुन्थ्यो भने पक्कै फिल्मको कमाइ केही करोडले कम हुन्थ्यो कि!

अजय देवगनले जति स्क्रिन टाइम पाएका छन्, ठीकै निभाएका छन्। तर निर्देशकले चाहेको भए अजेयबाट अझ निखार ल्याउन सक्थे। 'द लिजेण्ड अफ भगत सिंह'मा यस्तै भूमिकामा त थिए उनी। त्यस फिल्ममा गरेको अभिनयले उनलाई 'नेशनल अवार्ड' विजेता नै बनाएको थियो।

अभिनयको हिसावमा सबैलाई मात दिएका छन्- एनटीआरले। सार्वजनिक स्थानमा जब रामा राजुले उनलाई कोर्रा हान्छन् त्यसबेलाको उनको अभिनयले साँच्चै पीडावोध गराउँछ।

रामचरणको अभिनयमा प्रश्न उठाउने ठाउँ छैन। अबभ एभरेज छ।

फिल्ममा तारिफ नगरी नहुने पक्ष हो- के.के सेन्थिल कुमारको छायाङ्कन। हरेक पात्रलाई उनीहरूको चरित्र र मुडअनुसार खिचेका छन्। फ्रेम डिजाइनमा कुनै कसुर बाँकी राखेका छैनन्। लाइटमार्फत कथालाई अघि बढाउन सफल भएका छन्।

त्यस्तै छ चलचित्रको ब्याकग्राउण्ड म्युजिक(बीजीएम) पनि। कथाको घनत्वलाई बीजीएमले मज्जैले न्याय गरेको छ। चलचित्रमा बीजीएम एम. एम. क्रिमले दिएका छन्। 

समग्रमा आरआरआर चलचित्रको रूपमा उत्कृष्ट बनेको छ। थ्रीडीमा हेर्ने हो भने त एक सातालाई पुग्ने मनोरञ्जन दिन सफल हुन्छ चलचित्र।

तीन घण्टाभर चलचित्रको पर्दा राजामौलीले ओगटेका छन्। र, यो नै चलचित्रको पृथक पक्ष हो।

२२ चैत, २०७८, १९:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।