प्रेमकथामा निर्माण हुन लागेको फिल्म 'हेराई' प्रि-प्रोडक्सनको चरणमा
काठमाडौं : राम नाम सत्य फिल्मका निर्देशक माइकल चन्दले आफ्नो निर्देशन रहने नयाँ फिल्म 'हेराई'को घोषणा गरेका छन्। माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा निर्माण हुन लागेको फिल्म पूर्णतया प्रेमकथामा आधारित रहने निर्देशकले जानकारी दिएका छन्।
हाल प्रि-प्रोडक्सनको चरणमा रहेको यो फिल्मको छायांकन आगामी केही महिनाभित्रै सुरु गर्ने निर्माण पक्षको तयारी छ। 'एक हेराई अनेक बुझाई' ट्याग लाइन दिइएको फिल्मका कलाकारहरू भने अझै निश्चित भइसकेका छैनन्।
निर्देशक चन्दका अनुसार यसअघि उनले निर्देशन गरेको एक्सन जनराको फिल्म राम नाम सत्यले नेपाली बक्स अफिसमा करिब साढे ३ करोड रुपैयाँको ग्रस कलेक्सन गरेको थियो। अघिल्लो फिल्मभन्दा फरक विधामा निर्माण हुन लागेको हेराईले मानिसको दृष्टिकोण र बुझाइमा हुने भिन्नताको कथा प्रस्तुत गर्ने उनले बताएका छन्।
किशोर भट्ट, हेमन्त शाह र स्वेता विमली निर्माता रहने यो फिल्मका सह-निर्माता राजेन्द्र भट्ट र अर्जुन सुनार हुन्। निर्माण पक्षले फिल्मलाई यसै वर्षभित्र प्रदर्शन गर्ने लक्ष्य राखेको छ।
जेठ ३, २०८३ आइतबार ०७:३८:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।