नोबेल अस्पतालका डाक्टरको हत्या आशङ्कामा मेसिन सप्लायर्ससहित ८ जना पक्राउ

नोबेल अस्पतालका डाक्टरको हत्या आशङ्कामा मेसिन सप्लायर्ससहित ८ जना पक्राउ

इटहरी : विराटनगरस्थित नोबेल अस्पतालमा कार्यरत मेडिकल अफिसर डाक्टर विजय यादवको हत्या आशङ्कामा मेसिन सप्लायर्ससहित ८ जना पक्राउ परेका छन्। सप्तरीको विष्णुपुर गाउँपालिका १ का डा.यादव शनिवार बिहान मृत फेला परेका थिए।

विराटनगर ४ नोबेल अस्पताल अगाडि डेरामा बस्दै आएका उनी घरको आगमनमा मृत अवस्थामा भेटिएका थिए। शुक्रवार राति अबरेसम्म डा यादवसँगै मदिरा सेवन गर्ने २ जना र अन्य ६ जनालाई मोरङ प्रहरीले नियन्त्रणमा लिएर म्याद थप गरेको छ।

सात महिना अगाडि झगडा गर्ने फार्मेसी सञ्चालकसहित शुक्रवार राति झगडा गर्ने युवाहरूलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो। जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार पक्राउ परेका युवाहरूलाई म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको छ।

हाड जोर्नी सम्बन्धी उपकरण सप्लाई गर्ने जीवन कठेत र उनका सुदीप पौडेलसहित डा.यादव एयरपोर्ट लाइनको तृष्णा होटेलमा राति ११ बजेसम्म बसेका थिए। मृतकको पोस्टमार्टम रिपोर्ट नआएसम्म हत्या हो वा दुर्घटना भएको यकिन नभएकोले अनुसन्धानको लागि नियन्त्रणमा राखिएको नायव उपरीक्षक श्रेष्ठले बताए।

पक्राउ परेका युवाहरूले प्रहरीलाई दिएको बयान अनुसार होटेलमा बसेर खानपिन गरेका युवाहरू स्कुटर चढेर ११ बजे राति डा. यादवलाई पुर्याउन डेरामा पुगेका थिए। डा.यादव नोबेल अस्पताल अगाडि नहर पूर्वको प्रेम बस्नेतको घरमा डेरामा बस्दै आएका थिए। स्थानीयले बिहान यादवलाई घरको गेटमै देखेपछि प्रहरीलाई खबर गरेका थिए।

२१ चैत, २०७८, १७:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।