पञ्चेश्वर परियोजना तीव्र गतिमा अगाडि बढाउँछौंः  मोदी

पञ्चेश्वर परियोजना तीव्र गतिमा अगाडि बढाउँछौंः  मोदी

काठमाडौँ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पञ्चेश्वर परियोजना तेज गतिमा अगाडि बढाउन सहमति भएको बताएका छन्। तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग नयाँ दिल्लीको हैदराबाद हाउसमा भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले पन्चेश्वर परियोजनालाई तीव्र ढंगले अगाडि बढाउन सहमत भएको बताएका हुन्। 

यो परियोजना यस क्षेत्रको विकासका लागि एउटा गेम चेन्जर साबित हुने मोदीले विश्वास व्यक्त गरे। मोदीले विभिन्न परियोजनाको प्रगतिको समीक्षा र भविष्यको रुपरेखाबारे बिचारविमर्श गरेको बताए। उर्जा क्षेत्रमा दुबै पक्षले लाभ उठाउने विषयमा पूर्णसहमत भएको पनि उनले बताए। 

भारत र नेपालको सभ्यता, संस्कृति र पारस्परिक सम्बन्ध आदानप्रदानको डोरी प्राचीनकालदेखि जोडिएको बताउँदै उनले भने, “अनादिकालदेखि हामी एकअर्काका सुखदुःखका साथी हौँ ।” प्रधानमन्त्री मोदीले नवरात्र प्रारम्भ भएको पवित्र दिन नेपालका प्रधानमन्त्रीलाई नयाँदिल्लीमा स्वागत गर्न पाउँदा आफूलाई खुसी लागेको बताउँदै नेपाल र भारतका नागरिकहरूमा नवरात्रको शुभकामना पनि व्यक्त गरे।

प्रधानमन्त्री देउवा भारतका पुराना मित्र हुनुहुन्छ भन्दै उनले भारत–नेपाल सम्बन्धलाई उन्नत एवं गतिशील तुल्याउन श्री देउवाले निर्वाह गरेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गरे। 

आफ्नो पहिलो कार्यकालदेखि नै ‘छिमेक पहिले’ अर्थात् छिमेकीसँगको सम्बन्धलाई पहिलो प्राथमिकतामा राखेका मोदीले नेपालसम्बन्धी भारतको नीति आत्मीयताले प्रेरित छ भने । नेपालको शान्ति, प्रगति र विकासको यात्रामा सघाउन भारतको प्रतिबद्धता पनि उनले व्यक्त गरे।

१९ चैत, २०७८, १५:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।