हिजोका कुरामा साहित्यकार अविनाश श्रेष्ठ : जब एक कविले '६ महिनाभित्र तेरो मृत्यु होस्' भनेर श्राप दिए

हिजोका कुरामा साहित्यकार अविनाश श्रेष्ठ : जब एक कविले '६ महिनाभित्र तेरो मृत्यु होस्' भनेर श्राप दिए

नेपाल प्रज्ञा प्रतिष्ठानमा काम गर्दाको एउटा अजिवको घटना सुनाउँदै आफ्नो कथा सुरु गर्छन् साहित्यकार अविनाश श्रेष्ठ।

यस्तो थियो घटना- उनी अफिसमा बसिरहेका थिए। एक जना मानिस सरासर कोठाभित्र पसे। अविनाशले भने, 'बस्नूस् न।' 

ती व्यक्तिले झोक्किँदै प्रश्न गरे, ‘म बस्न आएको होइन। मेरो कविता किन छापिदिनुभएन?’ 

‘यो अंकमा नछापिए, अर्को अंकमा छापौँला नि,’ अविनाशले उत्तर दिए, ‘अरुलाई पनि पालो दिनुपर्यो नि कविजी!’

‘मेरो कविता नछाप्ने भए तपाईँलाई श्राप दिन्छु,’ ती 'कवि' ले अविनाशलाई पानी छेउमै रहेको बाथरुमको नलबाट पानी ल्याई छम्किएर ६ महिनाभित्र तपाईंको मृत्यु होस् भन्दै सरासर कोठाबाट बाहिरिए। उनी ट्वाल्ल परेर हेरिमात्र रहे। 

०००
पाँच दशकदेखि निरन्तर साहित्य सिर्जनामा लागेका सर्जक हुन् अविनाश श्रेष्ठ। उनका पाँच कवितासंग्रह, एक कथा, दुई नाटक र दर्जनौं सम्पादित कृति प्रकाशित भइसकेका छन्।

उनले साढे तेह्र वर्ष नेपाल प्रज्ञा प्रतिष्ठानबाट निस्कने तीन पत्रिका समकालीन साहित्य, प्रज्ञा र कविताको वरिष्ठ सम्पादक र साझा प्रकाशनले निकाल्ने गरिमा पत्रिकामा साढे दुई वर्ष प्रधानसम्पादक भएर काम गरे। त्रिभुवन विश्वविद्यालयमा २६ वर्ष ११ महिना प्रध्यापन गरेका अविनाशले पहिलो लकडाउनअघि विश्वविद्यालयबाट अवकाश लिए।

अविनाश श्रेष्ठको जन्म वि.सं. २०१४ सालमा भारत, असम राज्यकाे गुवाहाटीमा भएको हो। आमा लक्ष्मी श्रेष्ठ र बुबा यमनारायण श्रेष्ठको जेठो सन्तानको रूपमा जन्मिएका उनी पाँच वर्षको हुँदा पुर्ख्यौली थलो पर्वतको कुस्मा आएका थिए। हुन त अविनाशका पुर्खा भक्तपुरे रे। तर उनका पिता-पुर्खा भक्तपुरबाट पर्वत कसरी पुगे उनी स्वयंलाई थाहा छैन।

आफ्नो परिवार भित्रको एउटा रोचक प्रसंग सुनाउँछन् अविनाश। ११ वर्षको उमेरमा अविनाशका बुबा सौतेनी आमाको ताडना सहन नसकेर घरबाट भागेका रहेछन्। 'सुरुमा बुबा बनारस, काशी पुग्नुभएछ। त्यसपछि हरिद्वार, दिल्ली, मुम्बई हुँदै अन्त्यमा कलकत्ता जानुभएछ। कलकत्तामा रहँदा उहाँलाई कसैले ‘बर्मा जाउँ, त्यहाँ धेरै कमाइ हुन्छ’ भनेछ। त्यसपछि बुबा बर्मा पुग्नुभएको रहेछ।'

अविनाशले सानोमा बुबाका मुखबाट बर्माका अनौठा कथा सुन्ने गरेका थिए। 'त्यो बेला भर्खरै प्रथम विश्वयुद्ध सकिएको थियो। अरु ठाउँबाट गएकाहरुलाई रोग नसरोस् भनेर क्वारेनटिनमा राखिन्थ्यो। क्वारेन्टिनपछि बुबाले बर्मामा धेरै वर्ष बिताउनुभयो,' उनले भने। 

उनका बुबाले दुई वटी विवाह गरेका थिए। जेठी श्रीमतीबाट सन्तान नभएपछि उनले कान्छी विवाह गरेका थिए। 

अविनाशका बुबा बर्मा नै हुँदा दोस्रो विश्वयुद्ध सुरु भयो। सन् १९४३/४४ तिर दोस्रो विश्वयुद्धताका उनको बुवा रङ्गुनबाट मणिपुरको बाटो असम छिरेका थिए र गुवाहाटी आएर बस्न थालेका थिए ।

बुबा ४७ वर्षको हुँदासम्म पनि ठूलीआमाबाट कुनै सन्तान नभएपछि उनका बुबा जोगी हुन्छु भनेर घरबाट निस्केर हिँडेछन्। ठूलीआमाले म विवाह गर्ने अनुमति दिन्छु भनेपछि बुबाले आफूभन्दा २७ वर्ष कान्छी लक्ष्मीसँग विवाह गरेपछि अविनाशको जन्म भएको रहेछ।

०००
अविनाश पाँच वर्षको हुँदा बुबाले परिवारलाई कुस्मा ल्याएर छोडे। अविनाश त्यहाँ आफ्नी ठूलीआमासँग बसे। उनका बुबाले प्रशस्त पैसा कमाएको हुँदा सम्पत्ति पनि प्रशस्तै थियो। अविनाशका दुई वटा भाइ पनि थिए। दुई भाइ तल्लाे हटिया भन्ने ठाउँमा आमासँग बस्थे भने उनीचाहिँ खरेवा भन्ने ठाउँमा ठूलीआमासँग अर्को घरमा बस्थे। ठूलीआमा एकदमै विदुषी भएको सम्झन्छन् अविनाश। भन्छन्, 'उहाँले स्वस्थानी, पुराण, कथाहरु पढेर सुनाउनुहुन्थ्यो।'  

अविनाश कुस्माकै नारायण प्राथमिक विद्यालयमा पढ्न थाले। पढाइ तेज उनी कक्षामा सधैं प्रथम हुन्थे। विद्यालयमा खरको छानो थियो। दुई वटा टहरा थिए। स्कुलमा एक जना पाले थिए। ती पालेले पनि केटाकेटीलाई पढाउने गरेको उनी सम्झन्छन्। 

बाल्यकालमा धेरै चकचके थिए अविनाश। गाउँमा त्यतिबेला चारैतिर जंगल नै जंगल भएको उनी सम्झन्छन्। त्यो जंगलमा गौँथलीदेखि लिएर लाँचेसम्मका चराका गुण देखिन्थे।

उनको गाउँपारि बलेवामा बलेवा विमास्थल बन्दै थियो। यो १८ सालतिरको कुरा हो। त्यो विमानस्थल खन्दै गरेको पनि उनको सम्झनामा छ अझै। कुस्माको बडागाउँ भन्ने ठाउँमा माथिदेखि तलसम्म सबै चिलाउनेका रुखहरु मात्र भएको उनी सुनाउँछन्। त्यहाँ बाँदर आउँथे। उनी बाँदरसँग लड्न खोजेजस्तो गर्दै जिस्क्याउने गर्थे। 

सानोमा उनलाई खेल खेल्न निकै मन पर्थ्यो। उनी साथीहरुसँग मिलेर झुम्राको फुटबल बनाएर खेल्ने, आँखामा पट्टी बाँधेर टिन ठटाउने, डन्डिबियो खेल्ने गर्थे।

उनको गाउँमा मौसम अनुसारका फलफूल पनि निकै पाइन्थ्यो। कुस्माको कल्लेरी भन्ने ठाउँमा बयर पाकेर मगमग बासना आउँथ्यो। अविनाशलाई झोलाभरि बयर टिपेर घर ल्याएको पनि आजैजस्तो लाग्छ। उनी साथीहरुसँग मिलेर फलफूल टिपेर खाने, पानी अमला खोज्न जाने, तरकारीका लागि निउरो टिपेर ल्याउने, काभ्रो टिपेर ल्याउने गर्थे। त्यहाँ फलफूल र तरकारी त फालाफाल हुन्थ्यो। उनी भन्छन्, ‘त्यो बेला कुस्मा प्रकृतिको भण्डार थियो।’

सात वर्षको भएपछि उनी फेरि ठूलीआमासँग गुवाहटी गए। त्यहाँ चार कक्षामा भर्ना भए। त्यहाँ पनि उनी कक्षामा फस्ट हुँदै गए।

अविनाश गुवाहाटीमै बस्दाको एउटा घटना सुनाउँछन्। उनको घरअगाडि पानीपुरी बेच्नेहरु आइरहन्थे। एक पटक एउटा पञ्जावी पानीपुरी बेच्न आएछ। ऊ चाहिँ एकदमै मोटो। नाप्यो भने दुई नाम्लो हुने ठूलो पेट र शरीर भएको थियो। उसकी श्रीमती भने एकदमै दुब्ली। उनलाई चाहिँ के मन लागेछ खै, नजिकै गएर 'ए मोटे' भनेछन्। ऊ बोलेन। फेरि 'ए मोटे' भनेछन्। उसले 'क्या बोला?' भनेछ। उनले फेरि 'मोटे बोला' भने। त्यसपछि त्यो मान्छे झम्टिन आएछ। उसले अविनाशलाई एक किलोमिर लखेटेछ।

खासमा अविनाशलाई मोटो मान्छे के दगुर्न सक्ला र भन्ने लागेको थियो। तर अब यसले मार्ने भयो भन्ने लागेर गल्लीतिर भागेर ज्यान बचाएछन्। यो घटना सम्झिँदा उनी अझै झस्किन्छन्। 

अविनाश ६ कक्षामा पढ्दा उनका बुबालाई घाँटीको क्यान्सर भयो। त्यतिबेला गुवाहाटीमा क्यान्सरको कुनै अस्पताल थिएन। बुबा घाँटीको सेक्नका लागि पटना पुग्थे। त्यहीँ ६ महिना बस्थे उनी। ६ महिनापछि गुवाहटी फर्किन्थे। 

क्यान्सरका बिरामी बुबाको दु:ख-कष्ट नजिकैबाट देखेका अविनाशलाई अहिलेजस्तो औषधि उपचार सजिलै पाइने भएको भए बुबाको रोग निको हुन्थ्यो जस्तो लाग्छ।

क्यान्सर भएको दुई वर्षपछि बुबाको निधन भयो। बुबाको निधन हुँदा अविनाश ११ वर्षका थिए। अब सबै जिम्मेवारी आफ्नै काँधमा आइलाग्यो। सबै उनैले सम्हाल्नुपर्ने भयो। त्यतिबेला उनको ठूलीआमा गाउँ गएकी थिइन् र आमा चाहिँ गुवाहटी आएकी थिइन्।

बुबाको किरिया बस्दा उनको कान्छो भाइलाई एपेन्डिक्स भएको थियो। भाइ पाँच वर्षका मात्र थिए। भाइको अप्रेसन  भयो। किरिया सकेर फेरि आमा गाउँ फर्कनुपर्ने भयो।  

बुबा बितेको ६ महिना पछाडि ठूली-आमाको पनि निधन भयो। ठूली-आमाको निधन भएको एक हप्तामा फेरि उनको कान्छो भाइको निधन भयो। ६ महिनाको अवधिमा घरमा तीन जना आफन्त गुमाउनुको पीडा अविनाशका लागि सह्य थिएन। त्यो पीडाले उनलाई आजसम्म पनि झस्काइरहन्छ। 

गुवाहटीमा अविनाशका बुबाको ठूलो कारोबार थियो। गुण, तेल, चामलको होलसेल पसल थियो। प्रशस्त कमाइ थियो, बुबाले सबैलाई सहयोग गर्थे। धेरै जनाले उनीबाट ऋण लिएका थिए। साढे सात/आठ लाख रुपैयाँ र नगद सापटी लिएको रकम उठाउनुपर्ने जिम्मा पनि अविनाशमाथि नै आइलाग्यो। आमाले पनि उनलाई त्यहीँ बसेर कारोबार सम्हाल्न र पढ्न पठाइन्। 

उनी आफ्नी कान्छी मामासँग गुवाहटीमै बसे। आफू सानै र कान्छी मामालाई व्यापारबारे थाहा नहुँदा सबै कारोबार ध्वस्त भयो र ऋण लगेकाले पनि पैसा फिर्ता दिएनन्। उनी कामकै लागि केही वर्ष त्यहाँ भौँतारिए पनि। उतै बसेर दु:ख गरेर बिएस्सीसम्म पढे अविनाशले। 

०००
अविनाशलाई सानैबाट साहित्यमा रुचि थियो। कक्षा ६ मा पढ्दा त्यहाँ उनका दाजु पुस्ताहरु भानुजयन्ती, देवकोटा जयन्ती मनाउँथे। त्यहाँ उनीहरुले सुनाएको कविता सुनेर उनी कविता लेख्ने कोसिस गर्थे।

पहिले उनका बुबा पनि अरुको किताब छपाइदिने काम गर्थे। एक जना कवि गोविन्द शर्मा गौतमको 'हिमालको फूल' भन्ने कविता छापिएको थियो। त्यो कविता झ्याउरे लयमा थियो। देवकोटाको 'मुनामदन'मा भएको शैलीजस्तै गरी लेखिएको थियो। त्यसैकै प्रभावमा उनले कविता लेखेर कक्षामा सुनाएका थिए। त्यहाँका दाजुपुस्ताका लेखकहरूलाई त्यो कविता राम्रो लागेपछि अविनाशलाई कपी, कलम र मुनामदन उपहार दिएका थिए।   

कक्षा ९ मा पढ्दा 'दीपक' भन्ने हस्तलिखित पत्रिकामा अविनाशको पहिलो कविता पनि उनै दाजुपुस्कताका लेखकहरूले नै छापिदिएका थिए । उनले ९ कक्षामै हुँदा नाटक पनि लेखेका थिए। पहिलो नाटक ‘मजदूर’ ले उनलाई स्कुलभरि नै चर्चित बनायो। 

१३ वर्षको उमेरमै एचएसएलसी उत्तीर्ण गरेका अविनाशले साहित्यमा रुचि हुँदाहुँदै पनि विज्ञान विषय लिएर पढे। तर आइएस्सी पढ्दा पनि नाटक र कविता भने लेखिरहे। 

विज्ञानको विद्यार्थी भए पनि उनलाई साहित्य सिर्जनामा केहीले बाधा गरेन। न कलेजको पढाइ बिगारे न त साहित्य सिर्जना नै छाडे। दुवैलाई निरन्तरता दिइरहे।   

आर्य विद्यापीठ कलेजमा सन् १९७२ देखि ७५ सम्म अध्ययन गरेका अविनाशले त्यहाँ पनि नाटक ‘यहाँ जिन्दगी यस्तै छ’ प्रदर्शन गरे। त्यसबाट पनि राम्रै चर्चा कमाए। 

०००
कविता आन्दोलन, नाटक, कथा र कविता बोकेर असमका गाउँगाउँ पुगेका अविनाशले कर्मथलो भने काठमाडौंलाई बनाउन पुगे। ‘समवेदना ओ समवेदना’ भन्ने उनको कविता 'रत्नश्री' भन्ने पत्रिकामा छापिएको थियो। उनको कविता छापिँदा सिद्धिचरण श्रेष्ठ र वासुदेव त्रिपाठी जज थिए रे। त्यही कविताले रत्नश्री पदक पाएको थियो। २०३९  सालमा रत्नश्री पदक ग्रहण गर्न काठमाडौं आएका अविनाश २०४० देखि सधैंका लागि यतैका भएर बसे। 

२०४० मा उनी नेपाली विषयमा स्नात्तकोत्तर गर्न त्रिभुवन विश्वविद्यालयमा भर्ना भए। विश्वविद्यालयपछि काठमाडौंमै बसेर पटकथा लेखन, फिल्म लेखन र अन्य काम गर्न थाले। 

पढ्न काठमाडौं आएका अविनाश कविता र कथा लेखनमै व्यस्त हुन थाले। नाटक लेख्ने, प्रदर्शन गर्ने काम विद्यालयदेखि नै सिकिसकेका थिए। तर युवाकालमा भने उनले फिल्म लेखनमा बढी समय दिए। 

चर्चित फिल्म लेखकको परिचय बनाएका अविनाशले पछिल्लो एक दशकदेखि भने फिल्म लेख्न छाडेका छन्। मुम्बईबाट पटकथा लेखाएर काठमाडौं ल्याइने समयमा अविनाशले ‘माया’ भन्ने चलचित्रको पटकथा काटमाडौंमै लेखिदिए। 

नेपाल टेलिभिजनको इतिहासमा नै पहिलो पटक उनले कथाकार भागिरथी श्रेष्ठको कथामा पटकथा संवाद ‘आमा बनेर हेर’ लेखेर पहिलो स्क्रिप्ट बुझाउने पनि अविनाश नै हुन्। त्यो बेला टेलिभिजन प्रसारण भएको पनि थिएन। नेपाल टेलिभिजनबाट पहिलो पटक प्रसारण भएको टेलिफिल्म ‘चक्रब्यूह’ पनि अविनाशकै कलमले पूरा गर्यो।

नेपाल टेलिभिजनमा भएको पहिलो नाइट अवार्डमा ‘आमा बनेर हेर’ ले आठ वटा अवार्ड पायो। बेस्ट कथा भागिरथी श्रेष्ठ, बेस्ट पटकथा संवाद अविनाश, बेस्ट निर्देशक लय संग्रौला, बेस्ट हिरोइन, मिथिला शर्मा, हिरो सन्तोष पोखरेल, बेस्ट फोटोग्राफी विजय उदय पाल्पाली लगायतले अवार्ड पाएका थिए।  

अविनाशको साहित्यिक लेखन यात्रा पाँच दशक पुगिसकेको छ। यसबीचमा उनको नाममा पाँच कवितासंग्रह, एक कथा, दुई नाटक र दर्जनौं सम्पादन कृति प्रकाशित भइसकेका छन्। एक विशिष्ट कवि, कथाकार, नाटककार र साहित्यिक पत्रकारको सम्मानित परिचय बनाएका छन् उनले।

०००
२०४६ सालमा मनोहरा श्रेष्ठसँग मागी विहे गरेका अविनाशका तीन वटी छोरी छन्। जेठी छोरी डाक्टर हुन् भने माइली छोरी अस्ट्रेलिया बस्छिन्। कान्छी छोरी यहीँ छन्। उनी पनि साहित्यमा रुचि राख्छिन्। अभिनय र निर्देशन पनि गर्छिन्। अविनाशका एक जना भाइ अहिले पनि कुस्मामै आफ्नो परिवारसँगै बस्छन्। 

०००
अविनाशले २०४६ सालदेखि २०५९ सालसम्म प्रज्ञा प्रतिष्ठानमा काम गरे।

२०६७ सालदेखि २०६९ सम्म साझा प्रकाशनले निकाल्ने गरिमा पत्रिकाको प्रधानसम्पादक भएर काम गरे। 

आजका चर्चित लेखकको पहिलो रचना छाप्ने सम्पादकको भनेर पनि अविनाशलाई नै चिनिन्छ। फिक्सन डिजाइनर कुमार नगरकोटीलाई कथा लेखनमा ल्याउने उनी नै हुन्। भीष्म उप्रेती, युवराज नयाँघरे, विनोदविक्रम केसी, विमला तुम्खेवा लगायत साहित्यकारको पहिलो रचना उनले नै छापेका थिए। 

पछिल्लो समय लेखनमा नै व्यस्त अविनाशका विभिन्न कथाका दोस्रो संस्करण पनि प्रकाशित हुने तयारीमा छन्। उनको आगामी योजना भने उपन्यास लेखन रहेको छ। उनी भन्छन्, ‘अब मलाई एउटा उपन्यास लेख्न मन छ, जीवनमा अब समय कम हुँदैछ। गर्नुपर्ने कामहरु भने धेरै पो छन् त।’

१७ चैत, २०७८, १५:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।