नेपालविरुद्धको सिरिजमा पीएनजीको क्लिन स्विप

नेपालविरुद्धको सिरिजमा पीएनजीको क्लिन स्विप

काठमाडौँ : दोस्रो एकदिवसीय खेलमा तीन विकेटको जित निकालेसँगै पपुवा न्यु गिनी (पिएनजी)ले नेपालविरुद्धको एकदिवसीय शृंखला २–० ले जित्दै क्लिन स्विप गरेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको दुई सय ७९ रनको लक्ष्य पिएनजीले ४८.४ ओभरमा सात विकेट गुमाएर पुरा गर्यो।

पिएनजीका लेगा सिएकाले सर्वाधिक ९० रन बनाए। उनले एक सय दुई बलमा १२ चौका र एक छक्का प्रहार गरे । यस्तै, रिले हेकुरेले ४८, सेसे बाउले ३८ र चार्ल्स एमिनीले ३५ रन बनाए।

स्कोरबोर्डमा ७८ रन हुँदा तीन विकेट गुमाएको पिएनजीको इनिङ एमिनी र सिएकाले सम्हालेका थिए। यी दुई ब्याटरले चौथों विकेटका लागि एक सय १० रनको साझेदारी गरेका थिए। नेपालका सोमपाल कामीले तीन विकेट लिए। यस्तै, पवन सर्राफले दुई विकेट लिँदा कप्तान सन्दीप लामिछानेले एक विकेट लिए।

यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ७८ रनको योगफल तयार गरेको थियो। नेपालका मध्यक्रम ब्याटर दीपेन्द्रसिंह सतकीय इनिङ खेलेका थिए।

नेपालका लागि तेस्रो नम्बरमा ब्याटिङमा आएको दीपेन्द्रले एक सय ४० बलमा सात चौकासहित एक सय पाँच रन बनाए। उनको यो पहिलो एकदिवसीय शतक हो।

स्कोरबोर्डमा पाँच रन जोड्दा दुबै ओपनर गुमाएको नेपालको इनिङ दीपेन्द्र र देव खनालले कीर्तिमानी साझेदारी गर्दै उकासेका थिए। देव र दीपेन्द्रले कीर्तिमानी एक सय २९ रनको साझेदारी गरेका थिए। जुन एकदिवसीय क्रिकेटमा नेपालको सबैभन्दा उच्च साझेदारी हो।

एकदिवसीय खेलमा पहिलो अर्धशतक बनाएका देवले ८६ बलमा चार चौका र तीन छक्कासहित ७२ रन बनाए। यसबाहेक, नेपाली टोलीको खातामा रोहितकुमार पौडेलले ३५, भिम सार्कीले २६ रन बनाउँदा अन्तिममा आक्रामक ब्याटिङ गरेका कप्तान सन्दीप लामिछानेले नौ बलमा दुई चौका र एक छक्कासहित २४ रनको योगदान गरेका थिए।

नेपाली टोलीका ओपनरद्वय कुशल भुर्तेल गोल्डेन डकआउट हुँदा अनिल साह एक रनमा आउट भएका थिए । यसबाहेक पवन सर्राफ पनि गोल्डेन डकआउट भएका थिए।

टोलीको खातामा आरिफ शेखले चार, सोमपाल कामी तीन रनमा अविजित रहेका थिए। पिएनजीका एलिइ नाओले तीन विकेट लिए। यस्तै, नोर्मान भानुआले दुई विकेट लिँदा चाड सोपर र चार्ल्स एमिनीले समान एक विकेट हात पारे। यसअघि भएको पहिलो खेलमा शुक्रबार नेपाल पिएनजीसँग ६ रनले पराजित भएको थियो। एकदिवसीय शृंखला समाप्त भएसँगै सोमबारदेखि नेपाल र पिएनजीसँगै मलेसिया सम्मिलित त्रिदेशीय ट्वान्टी २० शृंखला खेल्नेछ।
 

१२ चैत, २०७८, १८:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।