पार्टीको निर्णय स्वीकार नगरे निर्वाचन जित्न सकिँदैन : नेता पौडेल

पार्टीको निर्णय स्वीकार नगरे निर्वाचन जित्न सकिँदैन : नेता पौडेल

तनहुँ : नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले पार्टीको निर्णयलाई स्वीकार नगरे आसन्न स्थानीय तह निर्वाचन जित्न नसकिने बताएका छन्।

तनहुँ निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने भिमादमा सोमबार आयोजित क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले निर्वाचनको बेलामा आफूलाई चित्त नबुझे पनि पार्टीको निर्णय स्वीकार गरेर अगाडि जानुपर्नेमा जोड दिए। 

निर्वाचनको बेलामा आफूलाई चित्त बुझेन भने पनि निर्णयलाई स्वीकार गरेर अगाडि जानुपर्दछ,’ नेता पौडेलले भने, ‘पार्टीको निर्णयलाई स्वीकार नगर्ने हो भने कहिले पनि निर्वाचन जित्न सकिँदैन।’ 

निर्वाचनको बेलामा आन्तरिक मतभेदलाई उठाउने समय नभएको भन्दै उनले भाषणहरूमा कांग्रेसभित्रको कुरा नल्याउन र आलोचना नगर्न पनि कार्यकर्ताहरूलाई आग्रह गरे। निर्वाचनको बेलामा आन्तरिक मतभेदलाई उठाउने समय होइन। चित्त नबुझेको कुरालाई थाती राख्नुस्, उनले भने, ‘भाषणहरूमा कांग्रेसभित्रको कुरा नल्याउनुस्, आलोचना नगर्नुस्।’

आफूलाई नेतृत्वमाथि औँला ठड्याउने मान्छेको रुपमा प्रस्तुत गर्दै पौडेलले सधैँ भरी प्रश्न गरिराख्न नमिल्ने पनि जिकिर गरे। कम्युनिस्टको भ्रमलाई चिर्ने गरी हामीमा क्षमता अभिवृद्धि गरौँ। म पनि नेतृत्वलाई औँला ठड्याउन कोशिस गर्ने मानिस हुँ। गलत भएको ठाउँमा गलत भन्ने मानिस हुँ। तर, त्यसो सधैँ भरी भनिरहन मिल्दैन,’ उनले भने।

नेता पौडेलले निर्वाचनको समयमा पार्टीमा चित्त नबुझेका कुराहरु पनि सामाजिक सञ्जालमा नलेख्न नेता–कार्यकर्ताहरुलाई सुझाव दिए। सामाजिक सञ्जालमा मनपरी नगर्नुस्। तपाईँले सामाजिक सञ्जालमा केही लेख्नुभो भने तपाईंको उन्नतीको सबैभन्दा बाधक त्यही हुन्छ,’ उनले भने, ‘किन भने त्यो प्रमाणका रुपमा सुरक्षित हुन्छ।’    

अमेरिकी सहायता परियोजना एमसीसीका बारेमा कम्युनिस्टहरुले भ्रम सिर्जना गरिरहेका भन्दै पौडेलले भ्रमहरु कांग्रेसले उदाङ्गो पार्न नसकिरहेको पनि बताए। एमसीसीका बारेमा कम्युनिस्टहरुले भ्रम सिर्जना गरिरहेका छन्। त्यसलाई हामीहरुले उदाङ्गो पार्न सकिरहेका छैनौँ,’ उनले भने।
 

८ चैत, २०७८, २०:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।