प्रहरीलाई दाजुभाइको हत्या गरेको फोन, खोलामा ढुङ्गाले थिचेको अवस्थामा शव फेला
नुवाकोट : यहाँको म्यागङ गाउँपालिका-४ किम्ताङमा दुई दाजुभाईको हत्या गरेर खोलामा लुकाएको अवस्थामा बुधबार शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बिक्रम लामाका अनुसार किम्ताङबेँसी निवासी ४३ वर्षीय सोमनाथ तामाङ र उनका भाई ३६ वर्षीय सूर्यमान तामाङको हत्या गरेर किम्ताङ खोलामा लुकाएको अवस्थामा शव फेला परेको हो।
एक व्यक्तिले गएराती प्रहरीलाई फोनमार्फत उक्त अपराध आफूले गरेको भन्दै घटनास्थलसम्बन्धी दिएको जानकारीका आधारमा खोजतलास गर्दा उनीहरुको हत्या गरेर खोलामा ढुङ्गाले थिचेर लुकाएको अवस्थामा शव भेटिएको हो।
“आर्थिक लेनदेनका सम्बन्धमा उत्पन्न विवाद हुँदा उनीहरूको हत्या गरेर आफू फरार भएको भनी ती व्यक्तिले दिएको सूचनाको आधारमा शव बरामद भएको छ”, प्रनाउ लामाले भने, “अहिले ती व्यक्तिको खोजी भइरहेको छ। उनी पक्राउ परेपछि विस्तृतमा खुल्नेछ।”
आफूले हत्या गरेको स्वीकारसहित घटनास्थलको जानकारी दिने व्यक्तिले गोली प्रहार गरेर ज्यान लिएको उल्लेख गरेपनि घटनास्थलबाट प्रहरीले एकथान खुकुरी बरामद गरेको छ। परिवारका सदस्यका अनुसार हत्या गरिएका दाजुभाई मङ्गलबार बिहान कुलो निर्माण गर्न जाने भनेर हिँडेदेखि सम्पर्कविहीन भएका थिए।
घटनास्थल सडकदेखि करीब पाँचघण्टा पैदल दुरीमा छ। शव परीक्षणका लागि आज साँझ घटनास्थलदेखि त्रिशूली अस्पतालतर्फ ल्याउन लागिएको प्रहरीले जनाएको छ।
वैशाख ३०, २०८३ बुधबार २०:४१:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।