निःशुल्क पाइने स्वास्थ्य उपकरण महँगो मूल्यमा बिक्री गर्ने डा. कलवार निलम्बित

निःशुल्क पाइने स्वास्थ्य उपकरण महँगो मूल्यमा बिक्री गर्ने डा. कलवार निलम्बित

इटहरीः बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निःशुल्क उपलब्ध हुने स्वास्थ्य उपकरण साइन नेल बिक्री गरेको आरोप लागेका डा. रोशनकुमार शाह कलवार निलम्बनमा परेका छन्। अमेरिकी संस्था साइन फ्र्याक्चर केयरले उपलब्ध गराउँदै आएको नेल बिक्री गरेको भन्दै नेपाल मेडिकल काउन्सिलले कलवारलाई कारबाही गरेको हो।

विकासोन्मुख मुलुकमा हाडजोर्नीका बिरामीले धेरै समस्या भोग्नुपरेको र उपचार महँगो भएको भन्दै संस्थाले प्रतिष्ठानलाई सन् २००७ देखि निःशुल्क रूपमा नेल उपलब्ध गराउँदै आएको थियो। तर निःशुल्क पाइने नेल पनि प्रतिष्ठानका एसोसिएट प्रोफेसर डा. रोशनकुमार साह कलवारले बिक्री गरेको गुनासो पुगेपछि संस्थाले रोक लगाएको हो।

काउन्सिलले कलवारलाई शल्यक्रिया कक्षमा चिकित्सकीय गतिविधिको साटो मूल्य, मान्यता र आचरणविपरीत काम गरेको भन्दै निलम्बन गरेको हो। आचारसंहिता तथा स्वास्थ्य समिति सञ्योजक डा. हरिहर वस्तीले काउन्सिलको पूर्ण बैठकले उनलाई निलम्बन गर्ने निर्णय गरेको बताए। 

गत पुस २९ गते कलवारले सिराहा कल्याणपुरका ललीतकुमार साहको खुट्टाको शल्यक्रियामा कलवारले साइन नेल नै प्रयोग गर्नुपर्ने अडान लिएपछि विवाद सुरु भएको थियो। हाडजोर्नी विभागका प्रा.डा. विक्रमप्रसाद श्रेष्ठले बजारमा पाइने खोक्रो नेल प्रयोग गर्न निर्देशन दिए पनि कलवारले जबरजस्ती साइन नेल प्रयोग गरेका थिए।

पछि श्रेष्ठकै निर्देशनअनुसार डा. अमितविक्रम शाह र अमित लिम्बूको टोलीले खोक्रो नेल प्रयोग गरेका थिए। 

कलवारले साइन नेल बिक्री गर्न खोजेपछि मेडिकल काउन्सिलमा उजुरी परेको थियो। कलवारले पनि आफू निर्दोष भएको र विभाग प्रमुखहरूले फसाउन खोजेको भन्दै पुनः उजुरी दिएका थिए। उजुरी परेपछि काउन्सिलका सदस्य डा. वस्तीको सञ्योजकत्वमा तीन सदस्यीय छानबिन समिति बनेको थियो।

समितिले दिएको प्रतिवेदनका आधारमा काउन्सिलले कलवारलाई निलम्बन गर्ने निर्णय गरेको हो। कलवारलाई तीन महिनाका लागि व्यावसायिक कार्य गर्नबाट निलम्बन किन नगर्ने? भनेर स्पष्टीकरण सोधिएको पनि वस्तीले जानकारी दिए।

यस्तै सोही घटनामा संलग्न डा. अमितविक्रम शाह र डा. अमित लिम्बूलाई सचेत गराउने निर्णय गरिएको छ।

पीडित बिरामीले प्रहरीमा उजुरी दिएपछि निःशुल्क उपलब्ध हुँदै आएको नेल डा. कलवारले बिक्री गर्ने गरेको पुष्टि भएको थियो। पछि कलवारले पीडितहरूको पैसा फिर्ता गरी माफी समेत मागेका थिए।

४ चैत, २०७८, १०:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।