चुनावमा गठबन्धन नगर्ने र कम्युनिष्टलाई एक हुन पनि नदिने देउवा रणनीति

चुनावमा गठबन्धन नगर्ने र कम्युनिष्टलाई एक हुन पनि नदिने देउवा रणनीति

इटहरी : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फाल्गुन २४ गते बसेको केन्द्रीय पदाधिकारीको बैठकमा गठबन्धनको विरोध नगर्न निर्देशन दिए। सरकारमा रहेका दलहरुको विरोध गर्दा गठबन्धनमा असर पुग्ने भन्दै उनले चर्को विरोध गर्न नहुने धारणा राखे। 

फागुन २९ गतेदेखि सुरुभएको ‘घरघर जाउँ कांग्रेस जिताउँ’ अभियानको तयारीकै समयमा उनले विरोधको स्वर कम गर्न आग्रह गरेका थिए।

त्यसैको प्रतिक्रियास्वरुप महामन्त्री विश्वप्रकाश शर्माले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीको पुनर्मूल्यांकन गर्न भ्याए। आफ्ना सभापति तथा प्रधानमन्त्री देउवाले कसैको विरोध नगर्नु भनेको र एमाले अध्यक्ष ओली सरकारमा भएका बेला कार्यकर्तालाई अरिंगाल जस्तै जाइलाग्न गरेको निर्देशनको स्मरण गराएका थिए महामन्त्री शर्माले। 

गठबन्धनका दलहरुको विरोध नगर्न देउवाले गरेको आग्रहलाई रणनीतिक हिसाबमा हेरिएको छ। अमेरिकी सहयोग परियोजना (एमसिसी) पनि देउवा संसदबाट रणनीतिक हिसाबमै पास गरेका थिए। एमसिसी विरोधी गठबन्धनका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई समर्थनमा ल्याएर उनले संसदबाट एमसिसी अनुमोदन गराउन सफल भएका थिए। 

अघिल्लो दिनसम्म एमसिसीको विरुद्धमा सडक आन्दोलन गरिरहेका माओवादी र नेकपा एस देउवाले ओलीसँग सहकार्य गर्ने बुझेपछि एमसिसीको पक्षमा पुगेका थिए। माओवादी र नेकपा एसले राखेको प्रधानन्यायाधीशलाई महाअभियोगको प्रस्तावमा देउवाले समर्थन जनाए। फलस्वरुप एमसिसी अनुमोदन भयो।  

सभामुख र नेकपा एसका १४ सांसदको विषयलाई लिएर रोष्ट्रम घेराउ गर्दै आएको एमालेले एमसिसीको विपक्षमा मत हालेन। एमालेले राखेको सभामुख र १४ सांसद हटाउनुपर्ने माग सम्बोधन गर्दा समस्या हुने भएपछि देउवाले फरक उपाय अपनाएका हुन्। एमाले पनि एमसिसीको समर्थनमा देखिएपछि देउवाले गठबन्धनबाटै सहज अवतरण गराएका थिए। 

कांग्रेसले एकढिक्का भएर एमसिसीको पक्षमा माहोल बनाएपछि उनी झनै हौसिए। एमसिसीपछि कांग्रेस वृत्तमा देखिएको एकताले चुनावी माहोल बढाएको छ।

कांग्रेसले ‘एमसिसी भ्रम र यथार्थ’ नामको पुस्तिका नै सार्वजनिक गरेर प्रचार गरिरहेको छ। एमसिसीमा नेपाल मजदूर किसान पार्टी बाहेक सबै पार्टीको समर्थन रहेको कांग्रेसले प्रष्ट पार्न खोजेको छ। एमसिसीलाई लिएर भड्किएको आफ्नो मत अन्यत्र जान नदिन सबै पार्टीको समर्थनमा एमसिसी पास भएको जनतालाई बुझाउन खोजेको छ।

देउवासँग सभापतिमा पराजित डा. शेखर कोइरालाले आफू भागबण्डा नलिने उद्धघोषले देउवा थप सहज अवस्थामा छन्। यसअघि देउवासँग ओलोचनात्मक देखिने गरेका कोइराला पछिल्लो समय पार्टी सभापतिलाई सहयोग गरेर अगाडि बढ्न तयार रहेको बताउँदै आएका छन्। 

तथापि, गठबन्धनको विषयलाई लिएर कांग्रेसभित्र फरक मत देखिएको छ। रामचन्द्र पौडेल गठबन्धन गरेरै चुनावमा जानुपर्ने लाइनमा छन् भने डा. कोइरालाको टिमबाट महाधिवेशनमा विजयी नेताहरु कांग्रेस एक्लै चुनाव लड्नुपर्ने  अडानमा छन्। 

गठबन्धन नगरे चुनावमा पराजित हुने डरमा रहेका पौडेललाई आश्वासन दिनकै लागि देउवाले गठबन्धनका दल विरोधी अभियान रोकेका हुन्। यसअघि पौडेललाई पराजित गरेका किसान श्रेष्ठ अहिले नेकपा एसबाट मन्त्री छन्। पौडेलकै सिफासिरमा तनहुँका प्रभावशाली नेत गोविन्दराज जोशीलाई पार्टीले कारबाही गरेको आरोप छ। जसको कारण पौडेल गठबन्धन गरेरै मात्र चुनावमा जानुपर्ने बुझाइमा छन्।

माओवादी अघिल्लो निर्वाचनमा भन्दा कमजोर अवस्थामा पुगेको छ। तत्कालीन नेकपा विभाजन भएपछि स्थानीय तहदेखि केन्द्रीय नेताहरु एमालेमा भित्रिए। जसले गर्दा माओवादी नेताहरु सुरक्षित अवतरणको खोजीमा छन्। 

अघिल्लो पटक चितवनको भरतपुर महानगरपालिकामा अध्यक्ष प्रचण्ड पुत्रीलाई विजयी गराउँदा देशैभर असर परेको बुझेका देउवा यस पटक सजग देखिएका छन्। पार्टीभित्र दबाब बढेको भन्दै अन्तिम समयमा गठबन्धन नगर्ने मनस्थितिमा देखिन्छन् उनी। कांग्रेसले माओवादीसँग गठबन्धन गर्दा पाउनेभन्दा बिग्रिने मत बढी हुने बुझेका देउवाले सजगता अपनाएका हुन्। 

नेकपा एमालेलाई चर्को विरोध गर्दा एमालेको न्युट्रल मत नआउने बुझाइले काम गरेको छ। कम्युनिष्टको एकताकै कारण अघिल्लो निर्वाचनमा पराजय भोगेको निष्कर्ष निकालेको कांग्रेस यस पटक कम्युनिष्ट एकतालाई रोक्न लागिपरेको छ। अघिल्लो पकट विवेक नपुर्याउँदा कांग्रेसले हानि बेहोर्नुपरेको भन्दै बेलैदेखि देउवा सजग देखिएका छन्। 

देउवाको संकेत बुझेरै माओवादी केन्द्रका नेता वर्षमान पुनले एमालेसँग चुनावी एकता हुने बताएका छन्। माओवादी केन्द्रको लुम्बिनी प्रदेश बैंठकलाई सम्बोधन गर्ने क्रममा माओवादी एक्लै चुनाव लड्न सक्षम भए पनि एमालेसँग सहकार्यको सम्भावना रहेको जानकारी गराए। गठबन्धनका दलहरु मिलेरै चुनाव लड्न सकिने भए पनि त्यसो नहुँदा एमालेसँग मिल्न सकिने उनको भनाइ थियो। 

अध्यक्ष प्रचण्डले पनि बिहीबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा एमालेसँगको सहकार्यको सम्भावना रहेको बताएका थिए।

बिहीबार नै गठबन्धनका दुई नेता प्रचण्ड र माधव नेपालसँगको भेटमा देउवाले हल्लाको पछि नलाग्न आग्रह गरेका छन्। आगामी साता पार्टीभित्र बैंठक बसेर निर्णयमा पुग्ने भन्दै उनले दुवै नेतालाई आश्वास्त पार्न भ्याए। 

कांग्रेसका महामन्त्री थापा भने नयाँ मतदाता आकर्षित गरेर चुनावी गठबन्धन गर्न नहुने बुझाइमा छन्। माओवादीको मत कांग्रेसले नपाउने बुझेका उनले कांग्रेसले आफ्नो खास मतको परीक्षण गर्नुपर्ने अडान राख्दै आएका छन्। 

आसन्न निर्वाचनका लागि ३६ लाख नयाँ मतदाता थपिएका छन्। अघिल्लो निर्वाचनमा १ करोड ४० लाख ७२ हजार नयाँ मतदाता रहेकोमा यस पटक १ करोड ७६ लाख पुगेका छन्। थपिएका मतदातामध्ये अधिकांश युवा रहेकाले युवा मत आकर्षित गर्न थापाले कसरत गरिरहेका छन्। 

उता देउवा पनि महामन्त्रीद्वय थापा र शर्मालाई अगाडि सारेर नयाँ मतदाता रिझाउने रणनीतिमा देखिन्छन्। 

३ चैत, २०७८, १९:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।