हिजोका कुरामा हाँस्यव्यंग्य कलाकार चट्याङ मास्टर : बम-बारुद बर्सिन थालेपछि पाकिस्तानबाट कुलेलम

हिजोका कुरामा हाँस्यव्यंग्य कलाकार चट्याङ मास्टर : बम-बारुद बर्सिन थालेपछि पाकिस्तानबाट कुलेलम

कृष्णमुरारी गौतम उर्फ चट्याङ मास्टर लेखक, कवि, हाँस्यव्यंग्य कलाकार तथा सामाजिक कार्यकर्ता हुन्। 

उनले बुढ्यौली अवस्थामा रहेका मानिसको जीवनस्तर सुधारका लागि समर्पित एजिङ नेपाल नामको गैरसरकारी संस्था स्थापना गरेका छन्। सो संस्थाले सन् २०२० मा युनेस्को किङ सेजोङ साक्षरता पुरस्कार समेत पाएको थियो। 

थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएका कृष्णमुरारी अहिले अनुसन्धानका क्षेत्रमा मार्गदर्शन गरिरहेका छन्।

अहिलेसम्म उनका चार वटा पद्य र दुई वटा गद्य गरी जम्मा ६ वटा व्यंग्य विधाका पुस्तक प्रकाशित छन्। जसमध्ये एउटा अंग्रेजी भाषामा छ। उनका आठ वटा चट्याङ गीता नामक पुस्तक समेत प्रकाशित छन्।

०००
उमेरले ६८ वर्ष पुगेका कृष्णमुरारी एक दशकदेखि वृद्धवृद्धालाई सबल बनाउने अभियानमा लागेका छन्। जीवनको उत्तरार्धमा पुगेकाहरूलाई सुरक्षित राख्न र सक्रिय बनाउने अभियानमा जुटेका कारण उनले संयुक्त राष्ट्रसंघमा सम्बोधन गर्ने मौका पाएका थिए। 

एजिङ नेपाल नामक संस्थामार्फत् वृद्धवृद्धाको हक, अधिकार र सेवा-सुविधामा पहुँच पुर्याउने अभियानमा लागेको उनी बताउँछन्। उनले सन् २०२० को ‘युनेस्को अन्तर्राष्ट्रिय शिक्षा पुरस्कार’ समेत पाएका थिए। 

०००
हाँस्यव्यंग्य क्षेत्रमा क्रियाशील रहँदा कृष्णमुरारीले आमा गुमाए भने उनका बाबुले जीवनसाथी। श्रीमतीको निधनपछि बुबा नारायणप्रसाद ओछ्यान परे। उनका ७५ वर्षीय बुबाले स-साना कुराहरू बिर्सन थाले र बालकजस्तो आनीबानी देखाउन थाले।

आफूले मात्रै हेरचाह गर्न नभ्याएर बुबाको हेरचाहका लागि सहयोगीसमेत राखेका थिए उनले। तर ८४ वर्षको उमेरमा बुबाको निधन भयो।

कृष्णमुरारीका बुबालाई डिमेन्सिया भएको रहेछ। चिकित्सकहरूले उक्त समस्याको उपचार नहुने बताए। त्यसैले उनी औषधिको खोजीमा नलागी डिमेन्सिया भएकालाई कसरी स्याहार्ने, उनीहरूसँग कसरी बोल्ने र कस्तो व्यवहार गर्ने विषयमा पढ्न थाले। मृत्यु निश्चित भएझैँ बुढ्यौली पनि अनिवार्य छ भनेर यसमै ज्ञान बटुल्न थाले।

त्यसपछि स्थापना भयो ‘एजिङ नेपाल’ नामक संथा। 

०००
वि.सं. २०१० सालमा भक्तपुरको झौखेलमा जन्मिए कृष्णमुरारी। हजुरआमाको असाध्यै मायामा हुर्किए। हजुरआमाले नै उनको नाम कृष्णमुरारी राखेकी थिइन्।

उनका पाँच जना दाजुभाइ। उनी जेठो छोरा। त्यतिबेलाको समयमा आफूलाई निम्नमध्यम वर्गीय परिवारमा जन्मेको भन्न रुचाउँछन् उनी। बुबा खेतीकिसानी गर्थे। जग्गा-जमिन भने कम थियो। भएको जमिनमा उब्जेको अन्नले गुजारा नचल्ने भएपछि उनका बुबा नोकरीका लागि भारततर्फ लागे। 

आमालाई भने धेरै पशुपालन गर्न मन थियो। तर बुबा भने गाईवस्तु धेरै पाल्यो भने छोराहरुलाई गाइवस्तु चराउन पठाउनु पर्छ। मेरा छोराहरुलाई गोठाला पठाउन्न, पढ्न पठाउँछु भनेर आमाको कुरामा सहमत भएनन्। 

बुबा अलि कडा थिए। उनले गर भनेको कुरा गर्नै पथ्र्यो। एकदम अनुशासनमा बस्न मन पराउने, आर्मी टाइपको। उनी आफ्नो बुबाको आँखामा सोझै हेरेर कुरा गर्न सक्दैनथे। बुबासँग डराउँथे। बुबालाई ठाडो शीर गरेर हेरेको र कुरा गर्न थालेको जागिरे भएपछि मात्र हो रे। 

कृष्णमुरारी आफूलाई निकै भाग्यमानी मान्छन्। ‘मेरो जस्तो रमाइलो तरिकाले बाल्यकाल कसैको बितेन होला,’ उनी सम्झन्छन्। 

सानो छँदा उनी जसका घरमा पनि गएर खान्थे, खेल्थे। गाउँका सबै मेरै मान्छे हुन् सम्झन्थे। तर पाँच वर्षको उमेरमा उनको ब्रतबन्ध भयो। त्यसपछि घरघरमा डुलेर खाने उनको बानीमा लगाम लाग्यो। ब्रतबन्धपछि नुहाइधुवाइ गरी मन्त्र पढेर मात्र खाना खान पाइने भयो। 

टोलका सबै घर आफ्नै ठानेर खाने, कुद्ने गरेका उनलाई कसैले सुझाइदियो, ‘ऊ त्यो घर तेरो हो, सन्ध्या जप गरेर आफ्नै घरमा खाना खानू।’ बल्ल पो उनलाई थाहा भयो, यो घर पो मेरो रहेछ।

गाउँघरमा सबैको मायामा हुर्केका उनलाई बिठ्याईँ नै गरे पनि झ्याप्प कसैले केही भन्न सकिहाल्दैनथे। किनभने, उनकी हजुरआमा पनि गाउँकी पढे-लेखेकी र जब्बर थिइन्। उनलाई थप्पड लगाउने कुरा त परैको, गाली गर्नेसमेत हिम्मत गर्दैनथे टोलका मानिसहरू।

बच्चा बेलामा कृष्णमुरारीको जति उपद्रो कसैले गरेनन् होला। उनी बाल्यकाल सम्झिएर हाँस्दै भन्छन्, ‘चकचके र उपद्र्याहा नभए त के बालक?’

चकचक नगरी त उनी बस्नै नसक्ने। बाल्यकाल र बिगो एकअर्काको चिनारी लाग्छ उनलाई। ‘बिगो पनि क्रियटिभ गर्थ्यौं हामी,’ लामै हाँसो हाँसे उनी।

पाँच वर्षको उमेरमा अक्षर चिनेका कृष्णमुरारीलाई पढ्न भने साह्रै मजा लाग्थ्यो। उनी गाउँकै स्कुलमा भर्ना भए। गाउँमा भर्खरै प्राइमरी स्कुल खुलेको थियो। लामो टहरोमा पढाइ हुन्थ्यो। 

पाठ्यक्रम थिएन त्यसबेला। लघुकौमुदी, दुर्गासप्तसती, श्रीमद्भागवत गीता यिनै थिए पाठ्यपुस्तक। बाबु भारतबाट आएका बेला ‘महेन्द्रमाला’ ल्याइदिन्थे। ती सबै ढुकुटी खाटमा राखिएको हुन्थ्यो। हात हालेर झिक्थे। जुन फेला पर्थ्यो, त्यही च्यापेर स्कुल जान्थे।

गाउँमा १ देखि ४ कक्षासम्म पढाइ हुने विद्यालय थियो। तर यही कक्षामा बस्नुपर्छ भन्ने थिएन। गुरु खुसी भए माथिल्ला कक्षामा बस्न पाउँथे, नभए फेरि तल्लै कक्षामा। 

उनलाई पढाउने गुरुहरू तमाखु खान्थे। हुक्का तान्थे। एक दिन गुरुले तमाखु बनाउन उनलाई अह्राए। तमाखु बनाएर ल्याएपछि गुरु खुसी भएर उनलाई एकै पटक तीन कक्षामा पुर्याइदिए। उनले तीन कक्षामा साथीलाई चिमोटेर रुवाइदिए अनि गुरुले फेरि एक कक्षामै झारिदिए। 

उनी हाँस्दै भन्छन्, ‘एकै दिन कहिले ४ कक्षामा त कहिले १ कक्षामा। फेरीफेरी पढ्थेँ।

कृष्णमुरारीले स्कुल पढ्दा अलिअलि गुरुको कुटाइ पनि खाए। उनलाई श्री, क्ष र ज्ञ लेख्न साह्रै गाह्रो भयो। लेख्न नजान्दा गुरुले कान निकै तान्थे रे। घाममा लगेर कुखुरा बनाउने, उठबस गराउने जस्ता सजाय दिइन्थ्यो।

त्यतिबेलासम्म छोरी पनि पढाउनुपर्छ भन्ने चेत खुलिसकेको थिएन। उनको विद्यालयमा केटाहरु मात्र पढ्थे। 

०००
दशैंका बेला कृष्णमुरारीका बुबा भारतबाट घर आएका थिए। छोराको आनीबानी देखेर बुबाले आफूसँगै भारत लगे। भारत पुगेपछि उनी कोलकाताको शालिमार हिन्दी हाइस्कुलमा कक्षा २ मा भर्ना भए।

बाबुको कडा नियममा बस्नुपर्थ्यो। उनले जति उपद्रो गर्नुपर्ने नेपालमै गरे। भारत पुगेपछि त किताबमा बाहेक अन्यत्र आँखा डुलाउनै पाएनन्।

पढाउने मद्रासी, बस्ने बंगालीको घरमा। पढ्ने हिन्दी हाइस्कुलमा, पढाउने माध्यम अंग्रेजी। एकै पटक चार वटा भाषा सिक्नुपर्ने बाध्यता पो आइलाग्यो। उनको क्षमता जादुमयी थियो। तेरोमेरो भाषा नभनी सिक्नतिर लागे र चार वटै भाषा कण्ठ पारे।

पढाइमा निकै ट्यालेन्ट थिए। त्यसैले कक्षा २ मा भर्ना भएका उनी निरन्तर कक्षा फड्किइरहे। २ बाट ४, ४ बाट ६ र ६ बाट एकै पटक ८। 

६ कक्षा पढिसकेपछि ८ कक्षामा फड्को मार्न भारतको स्कुलले दिएन। त्यसपछि उनी नेपाल फर्किएर भक्तपुरको पद्म हाइस्कुलमा कक्षा ८ मा भर्ना भएका थिए।

८ पढेपछि एकैपटक १० मा पुगौंला ठानेका कृष्णमुरारीले प्रवेशिका परीक्षामा ९ को पाठ्यपुस्तकबाट पनि प्रश्न सोधिने थाहा पाए। ‘बिजोर कक्षा पढेको भनेको त्यही ९ मात्रै हो,’ उनले सुनाए। ९ र १० पढेर २०२५/०२६ मा प्रवेशिका परीक्षा उत्तीर्ण गरे। 

बुबाको निमय थियो- बिहान उठ्दा पनि हातमा किताब हुनै पर्ने, सुत्ने बेलामा पनि हातमा अनिवार्य पुस्तक हुनैपर्ने। किताबै ओढेर सुत्थे उनी।

त्यस्तै अर्को नियम थियो- लेखेरै कण्ठस्थ गर्नुपर्ने। एक त त्यसले कण्ठ गरेका कुरा चिरस्थायी बनाउँथ्यो। अर्को, अक्षर सुधार्न मद्दत पुग्थ्यो। त्यसैलाई उनले आत्मिक अनुशासनको कडी बनाए।

०००
सन् १९७१ को कुरा हो। प्रवेशिकापछि स्कुलका प्रधानाध्यापक पूर्णरत्न शाक्यले कृष्णमुरारीलाई बाटो देखाइदिए। बिगार गर्दा गाली गर्ने र माया पनि निकै गर्थे प्रधानाध्यापक शाक्य।

भर्खर प्रवेशिका उत्तीर्ण गरेका कृष्णमुरारीको घर कुन हो? भन्दै स्कुलका पाले आए। बजारबाट एक घण्टाको दूरीमा थियो घर। 

‘ल यो फारम भर्नुस्, फलानो ठाउँमा परीक्षा दिन जानूस्। हेडमास्टरले भन्नुभएको छ।’ भर्खर एसएलसी पास गरेको केटो। फारम भर्ने ढंग पनि थिएन। स्कुलको लाइब्रेरियनले फारम भरिदिए।

केही समयपछि दरबार हाइस्कुलमा अन्तर्वार्ता दिए। युएसएआइडी ‘प्लान’मा छानिए। त्यसपछि पाकिस्तानमा कृषि (बिएससिएजी) पढ्न जाने भए। उनको १५ जनाको टोली थियो पाकिस्तान जाने। पहिलो पटक जहाज चढ्न पाउने खुसी त छँदै थियो। 

कृष्णमुरारी पाकिस्तानको लाहोर नजिकै रहेको ‘पञ्जाब एग्रिकल्चर युनिभर्सिटी’मा पढ्न थाले। पाकिस्तान गएको ६ महिना पनि पुगेको थिएन। भारत-पाकिस्तान लडाइँ चर्कियो। बंगलादेश जन्मिँदाको साक्षी पो बने उनी।

सन् १९७१ को लडाइँ भीमकाय थियो। चट्याङ गर्जिएजसरी बम-बारुद बर्सिन्थ्यो।

लाहोर सहरमा थिए उनी। भारतीय सीमावर्ती इलाकाबाट ८० किलोमिटरमात्रै भित्र पर्थ्यो। बिएससिएजीको उपाधि लिन गएका उनी ज्यान हत्केलामा राखेर अफगानिस्तान, इरान र मुम्बई हुँदै ३/४ दिनमा नेपाल आइपुगे।

पढाइ अपूरै थियो। क्याम्पस भर्ना गर्न म्याद गइसकेकाले उनले ६/७ महिना आयुर्वेद पढे।

रामपुर (चितवन) क्याम्पस भर्खर खुलेको थियो। ६ महिना पर्खिएर आइएससीमा भर्ना भए। दुई वर्ष त्यहाँ पढे। राम्रै अंक ल्याएर पास पनि भए।

फेरि ‘प्लान’ पाए र पञ्जाबको कृषि विश्वविद्यालयबाट बिएससिएजी प्रथम श्रेणीमा उत्तीर्ण भए।

भर्खर नेपाल फर्किएका थिए। नेपालमा पनि बिएससिएजीको पढाइ सुरू गर्न लागिएको रहेछ। तर त्यहाँ कोही अध्यापक थिएनन्। त्यतिबेला बिएससिएजी पास गर्ने औँलामा गन्न सकिने थिए। उनैले पो पढाउनुपर्ने भयो।

एक साता अगाडिसम्म विद्यार्थी भएका कृष्णमुरारी एक सातापछि असिस्टेन्ट लेक्चरर भएर चितवन कृषि क्याम्पस गए। 

त्यतिबेलाको एउटा प्रसंग सुनाउँछन् उनी, ‘शुक्रबार भएपछि अध्यापकहरू बहाना खोजी-खोजी भाग्थे। अधिकांशको घर राजधानीमै थियो। काठमाडौँ आएपछि दुई/चार दिन यतै बरालिन्थे।’

उनको भने विवाह भइसकेको र श्रीमती पनि साथमै बस्ने भएकाले बहाना गरेर काठमाडौं आउनुपर्ने समस्या आइलागेन। 

क्याम्पसमा बिदा अनुमति चाहिए कृष्णमुरारीलाई आफ्नो विषय पढाइदिन भन्नू भनेर डिनले भन्थे। डिनले यसो भनेपछि अरु अध्यापकहरू उनीलाई नै समात्थे।  

पढाइ नसक्दै ‘असिस्टेन्ट लेक्चरर’ भएका उनी ‘लाइभस्टक’देखि ‘म्याथ’सम्म एक्लै पढाउँथे।

०००
रामपुर क्याम्पस पढाउँदा-पढाउँदै कृषि आयोजना सेवा केन्द्र खुल्यो। त्यसभन्दा अघि पञ्चवर्षीय योजना, त्रिवर्षीय योजना, कृषि विकास योजना, क्षेत्रीय योजना बनाउने काम प्रायः विदेशीले गर्थे। नेपाली जनशक्ति आइसकेका हुनाले उनीहरूलाई नै अनुसन्धान गरेर योजना तर्जुमा गर्न लगाउने सेवा केन्द्रको उद्देश्य थियो।

उनी कृषि अधिकृत नियुक्त भएर नेपालका विकास योजना बनाउन थाले। त्यसभन्दा पूर्व कृषिमा अनुसन्धान आश्चर्यको विषय थियो। झन्डै पाँच वर्ष उनले त्यहाँ कार्यसम्पादन गरे। ठूला-ठूला योजना तर्जुमा गरे।

बिएससिएजी सकेपछि स्नातकोत्तर पढ्ने उनको इच्छा अधुरै थियो। त्यही बेला अस्ट्रेलियाको एउटा विश्वविद्यालयमा दरखास्त खुल्यो, आवदेन दिए। नाम निस्किहाल्यो। तिनताका उनी पढाइमा यति क्रेजी थिए कि जहाँ आवेदन दिए पनि नाम निस्किहाल्थ्यो। अस्ट्रेलिया गएर अर्थशास्त्रमा स्नातकोत्तर गरे। गैरवित्त अर्थशास्त्रमा स्नातकोत्तर गरेका हुन् उनले। 

अस्ट्रेलियाबाट नेपाल फर्किएको केही समयपछि देशमा बहुदलीय व्यवस्थाको आरम्भ भयो। निजी क्षेत्र अगाडि आउन थाल्यो। उनले जागिर खाने सोचलाई त्यागेर आफ्नै कन्सल्ट्यान्सी खोलेर अध्ययन/अनुसन्धानमा विशेषज्ञ सेवा दिन थाले।

०००
अध्ययन/अनुसन्धानमा लागेका उनलाई पुस्तकभन्दा पर पनि जिन्दगी छ भन्ने थाहै थिएन। टाइमेस्टर प्रणाली। तीन-तीन महिनामा परीक्षा हुन्थ्यो। उनलाई जीवन नै परीक्षा हो लाग्थ्यो। 

कृषि आयोजना सेवा केन्द्रमा जागिर खान थालेपछि उनी फरकखालको माहोलमा बच्चाजस्तै फेरि हुर्किन पो थाले। 

साथीहरू भेला भयो, अनेक व्यतिथिबारे हँसिमजाक गर्यो, दिन बितायो। कृषि, योजना अनुसन्धानको देशकै उच्च निकाय थियो तर दिनको दुई घण्टा पनि काम नहुने। गफै गरेर पो दिन बित्न थाल्यो। सबैलाई पेट मिचिमिची हँसाउँथे उनी।

एक दिनको भेलामा साथीहरुले कृष्णमुरारीलाई उक्साए। ‘यस्तो राम्रो तर्क गर्ने, हँसाउने तपाईं, अब लेख्न थाल्नुपर्यो। पत्रिकाले छापिदिन्छन नि।’

अंग्रेजी माध्यमबाट पढेका उनलाई नेपालीमा लेख्न सक्छु जस्तो लाग्दैनथ्यो। बोलेर हँसाउनजस्तो लेखेर सजिलो नमानेका उनले साथीको त्यो प्रस्ताव अस्वीकार गरे। 

लेख्नलाई पर्याप्त विषय थिए। सेवा केन्द्रले एकथरी योजना बनाउँथ्यो, कार्यान्वयन अर्कै किसिमले हुन्थ्यो। एउटा जिल्लामा भैंसीपालनका योजना तर्जुमा गर्यो, अन्तिममा योजना अर्कै जिल्लामा पुग्थ्यो। एकातिर कुलाको योजना बनायो, खन्ने बेलामा अन्तै मोडिइसकेको हुन्थ्यो। यस्ता अनेक विकृति विद्यमान थिए। यही विषयमा लेखे उनले। ‘देशान्तर’ साप्ताहिकमा छापियो। कृष्णमुरारी गौतमकै नामबाट छापिएको थियो उनको लेख। 

त्यतिबेला देशान्तरका सम्पादक किशोर नेपाल थिए। नेपालले गजब लेख्नुहुँदोरहेछ, निरन्तरता दिनुपर्यो भनेपछि उनलाई हौसला मिल्यो। 

०००
सरकारी सेवामा जिल्लादेखि केन्द्रसम्मका उपल्ला कर्मचारीलाई सल्लाह-सुझाव दिने कृष्णमुरारीलाई आफ्नै नामबाट व्यंग्य लेख्दा अप्ठ्यारो पर्ने लागेर नाम राखे- बज्रपाणि।

कृष्णमुरारी यस नामसम्बन्धी रमाइलो प्रसंग कोट्याउँछन्। 

उनी रामपुर क्याम्पसमा भर्ना भएका थिए। चितवनको रामपुरमा भवन तयार नभएकाले हरिहर भवनमा पढाइ हुन्थ्यो। बिदा भएको बेला उनी पाटनको संग्रहालयतिर साथीसँग घुम्दै गए। 

अनेक काष्ठकला, वास्तुकला र बान्की परेका मूर्तिले सजिसजाउ थियो संग्रहलाय। एउटा पाषाणको मूर्तिमा उनको आँखा पर्यो। मूर्तिको तल लेखिएको थियो- बज्रपाणि।

त्यो नाम देखेपछि उनले साथीलाई छोरो जन्मियो भने त्यसको यही नाम बज्रपाणि राख्छु भने। 

समय बित्दै गयो। छोरा पनि जन्मियो। न्वारनको दिन आयो। नाम राख्ने बेलामा यज्ञका अघिल्तिर बसेका बेला पण्डितले सोधे, ‘छोराको नाम के राख्ने?’ उनको जवाफ थियो, ‘बज्रपाणि !’ फेरि लामै हाँसे उनी। 

कारणबस् छोराको नाम त्यो राख्न मिलेन। पछि उनले त्यही नाम राखेर व्यंग्य लेख्न थाले। 

‘बज्रपाणि’ को नामबाट लेखेका व्यंग्य लेख्दा अत्यधिक चल्यो त्यो नाम। बानेश्वरको डेराबाट हिँड्दै सिंहदरबार जान्थे, नचिन्ने कोही हुँदैनथ्यो। तपाईंले गजबको लेख्नुभयो भन्ने प्रतिक्रिया पाउँदा उनी चकित पर्थे। 

तीन/चार वर्षपछि भने ‘बज्रपाणि’बाट लेखेको एउटा व्यंग्यका कारण उनी झमेलामा फसे।

कृष्णमुरारीलाई राजनीतिबारे कुनै चासो थिएन। नियम बदल्नुपर्छ होइन, नियमानुसार आफू बदलिनुपर्छ भन्ठान्थे उनी। त्यहीअनुसार व्यंग्य गर्थे। 

त्यो समय प्रशासन क्षेत्रका उपल्ला तहका कर्मचारीहरू विदेश भ्रमण जान्थे र विकृत कार्य गर्थे। त्यसैमाथि व्यंग्य लेखेका थिए। तर तीर अर्केतिर लाग्यो। 

त्यही बेला तत्कालीन युवराज दीपेन्द्र पनि बेलायतमा अध्ययनरत थिए। उनका बारेमा त्यहाँको ‘मिरर’ पत्रिकाले छापेको खबरको कपी काठमाडौंसम्म आइपुगेको थियो। उनले दीपेन्द्रलाई नै व्यंग्य गरेको अड्कल काटियो र खबर सिधै दरबार पुग्यो। 

खबर अञ्चलाधीशकहाँ पुगिसकेको छ, अब तिमीलाई जेल लैजान्छन् भन्ने अनेक खबर उनीसम्म पुग्न थाल्यो। 

आफ्नो मनको आनन्दलाई पो व्यंग्य लेखेको त जेल जान थोडी लेखेको हो र? आफैँलाई प्रश्न गर्दै उनले करिब सात/आठ महिना लेख्नै छाडे।

तत्कालीन परिवेशमा व्यंग्य नबुझेर अनि बुझ्नेलाई अपच भएर नै त्यो घटनाको सिकार भएका थिए उनी। 

कुनै विषयले घोच्न थालेपछि नलेखेसम्म अशान्त हुने मनलाई शान्त पार्न परिवार सुतेपछि भुइँतलामा झर्थे, लेख्थे र च्यातेर टुक्राटुक्रा बनाएपछि मात्रै निदाउँथे उनी। 

चट्याङ मास्टर हुनुको पछाडि पनि अर्को प्रसंग छ कृष्णमुरारीसँग। 

उनलाई बज्रपाणिबाट लेख्न नपाएपछि छटपटी हुन थाल्यो। नलेखौँ निद्रा लाग्दैन, लेखौँ छाप्न मिल्दैन। बाल्यकालको मिल्ने साथी दीपक ज्ञवालीसँग सल्लाह मागे।

उनैले नयाँ नाम सुझाइदिए। बज्र भनेको चट्याङ, पाणि भनेको गुरु। दुवैलाई मिलाएर ‘चट्याङ मास्टर’। पछि दीपक जलस्रोत मन्त्रीसमेत बने।

‘चट्याङ् मास्टर’ नाम जुरेका दिनबाट उनले फेरि लेखनशैली परिवर्तन गरे। बज्रपाणि हुँदा गद्यमा लेख्ने कृष्णमुरारीले चट्याङ मास्टर बनेपछि पद्यमा लेख्न थाले। 

श्रीमद्भागवत गीता, सप्तसती चण्डी, अनुष्टप छन्द पढेर हुर्किएका उनी त्यही शिल्पमा लेख्न थाले।

उनी हाँस्दै भन्न थाल्छन्, ‘लेखनमा छन्दमन्द मिल्थ्यो कि मिल्दैनथ्यो थाहा भएन तर कुरोको चुरो चाहिँ हुन्थ्यो।’

२०४६ सालअघिसम्म ‘बज्रपाणि’को नामबाट लेखेका कृष्णमुरारी त्यसपछि भने ‘चट्याङ मास्टर’को नामबाट चर्चित बने।

हाँस्य लेखन विधा जम्दै थियो तर एक्लै लेखेर कसैलाई नघोच्ने। हाँस्य विधामा काम गर्नेहरूको संगठन बनाउने ‘जोस’ चल्यो उनलाई।

वि.सं. २०५५ सालमा उनकै अगुवाइमा ‘सिस्नुपानी नेपाल’ खडा भयो र संस्थापक अध्यक्ष बने आफैं। अहिलेसम्म सिस्नुपानी नेपालले विकृति विसंगतिलाई हाँस्यव्यंग्यबाट उजागर गरिरहेकै छ। वर्तमान अवस्थामा भने उनी सल्लाहकारका रुपमा काम गरिरहेका छन्। स्टेजका कार्यक्रममा आजकल देखा पर्दैनन्। 

‘मसँग सुनाउनुपर्ने थुप्रै प्रसंग पो छन् त नानी! बाँकी कुरा अर्को भेटमा ल,’ चट्याङ मास्टर मुस्कुराउँदै बिदा भए।

१२ फागुन, २०७८, १३:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।