लोक-संगीतको गला अवरुद्ध भएको दिन

लोक-संगीतको गला अवरुद्ध भएको दिन

काठमाडौं : ‘कलकत्ते काइँयो, केश मेरो बाङ्गो, टेबुलमा ऐना छ, पिरती मैले नलाको हैन, तकदिरमा रैनछ’ बोलको गीत गाएर चर्चाको शिखरमा पुगेका लोकगायक तथा अभिनेता जयनन्द लामाले आज यो संसारबाट बिदा लिए। 

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-२, धार्पा पुर्ख्यौली घर भएका लामा भक्तपुरको मध्यपुरथिमी नगरपालिका-३, कौशलटारमा स्थायी रूपमा बसोबास गर्दै आएका थिए।

बिहान करिब ३ बजेतिर घर अगाडि कार पार्किङ गरेर निस्कने क्रममा भित्तामा ठोक्किएपछि अत्यधिक रगत बगेर ६६ वर्षीय लामाको घटनास्थलमै मृत्यु भएको प्रहरी अनुसन्धानमा देखिएको छ।  

शरीर घोप्टो परेको अवस्थामा लामालाई देखेपछि छिमेकीले बिहानै घटनाबारे उनको परिवारलाई जानकारी गराएका थिए।

लामा पाँच दशकदेखि लोकगायक, सङ्गीतकार, गीत संकलक, अभिनेता, निर्माता तथा निर्देशकका रुपमा कलाकारिताको क्षेत्रमा क्रियाशील थिए।  

‘पानी पर्यो बलेसी, हेलम्बु डाँडापारि, मेरो माया छ भने त्यता, लौन हजुर के गरौँ, नक्कलीलाई पातलीलाई कसरी बिहे गरुँ, चुइँचुइँ चुइँकने जुत्ता, केको साँचो डल्ली रेशम फलामको साँचो, पानको पात, सलल पानी यही बस्यो, बानी आँखैमा गाजलु काखैमा मादलुजस्ता उनका लोकगीत अझै पनि उत्तिकै लोकप्रिय छन्।

लामाले विसं २०३० मा मनको बाँध चलचित्रबाट पहिलो पटक अभिनय यात्रा सुरू गरेका थिए। कमेडी भूमिका निर्वाह गर्न रुचाउने लामाले एक सयभन्दा बढी चलचित्र र दर्जंनौँ टेलिचलचित्र, केही म्युजिक भिडियोमा समेत अभिनय गरेका थिए। उनले पछिल्लो समय हाँस्य टेलिशृङ्खला ‘हल्का रमाइलो’ मा अभिनय गर्दै आएका थिए ।

०००
लामा सानैदेखि गीत गाउन र क्यारिकेचर गर्न भुतुक्कै हुन्थे। गाउन र नाच्न रमाइलो मान्ने उनले २०२६ सालमा बाह्रबीसेमा कक्षा ५ मा पढ्दा राजा महेन्द्रको जन्मोत्सवको अवसरमा काठमाडौँ आएर गीत गाउने मौका पाएका थिए। 

त्यतिबेला उनले सान्त्वना पुरस्कारस्वरूप एक हजार रुपैयाँ प्राप्त गरका थिए। यो एक हजारको पुरस्कार पाएपछि उनले रेडियो नेपालमा चार वटा गीत रेकर्ड गर्ने मौका पाएका थिए।

‘पानी परो बलेसी हेरन बैनी झलल’, ‘रोको मनलाई बुझाउने को छ र? ’, ‘पहिलो चरण कुन गीत गाउने’ र ‘सरस्वती मुखैमा नआउने।’ उनले यी बोलका गीत रेकर्ड गराए। उनी राजा महेन्द्र र वीरेन्द्रको नोटिसमा परेका थिए। दरबारमै बसेर पढ्ने मौका पाए। दरबारमै बसेर फाइन आर्टमा ब्याचलर्ससम्म अध्ययन गरे।

गाउँ पञ्चायतको सांगीतिक कार्यक्रम हुँदै अञ्चलस्तरीय कार्यक्रममा पनि गीत गाउन थाले। प्रजातन्त्र दिवस मनाउने र राजाको जन्मदिनसँगै मनाउने गरी आयोजना भएको कार्यक्रममा सहभागी भए।

प्रज्ञा प्रतिष्ठानको जागिरे थिए उनी। प्रतिष्ठानले नै उनलाई इलाहाबाद संगीत विद्यालयमा मास्टर डिग्री पढ्न पठायो। त्यहाँबाट नेपाल फर्केर आएका लामा अहिलेसम्म लोकसंगीत तथा अभिनयमै सक्रिय थिए।

कर्णप्रिय स्वरका धनी र कुशल अभिनेता लामाको असामयिक निधनले आज सिंगो संगीत क्षेत्रको गला अवरुद्ध भएको छ। कला क्षेत्र शोकमा डुबेको छ।

११ फागुन, २०७८, १२:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।