भारात्तोलनका गोल्डमेडलिस्ट सुरेन्द्रको प्रश्न : खेलाडीको काम आफ्नै पैसा खर्च गरेर देशका लागि मेडल ल्याइदिने मात्र हो ?

भारात्तोलनका गोल्डमेडलिस्ट सुरेन्द्रको प्रश्न : खेलाडीको काम आफ्नै पैसा खर्च गरेर देशका लागि मेडल ल्याइदिने मात्र हो ?

काठमाडौं : सन् २०१८ मा इरानमा भएको भारात्तोलन च्याम्पियनसिपमा रामेछाप, खाँणादेवीका सुरेन्द्र श्रेष्ठले नेपालका लागि तीन मेडल भित्र्याए। उनीसँगै नेपालका तर्फकबाट खेल्दै थिए कमलबहादुर अधिकारी र पुकार गुरुङ। अधिकारीले पनि दुई मेडल जिते। 

श्रेष्ठको तीन र अधिकारीको दुई गरी नेपाल उक्त प्रतियोगितामा ५ पदक सहित १२ राष्ट्रमध्ये तेस्रो भयो। नेपाललाई तेस्रो स्थान दिलाउन मुख्य भूमिका खेल्ने श्रेष्ठ राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट छानिएका खेलाडी भने थिएनन्। उनी आफ्नै खर्चमा देशका लागि खेल्न गएका थिए। 

त्यतिबेला छानिएका खेलाडीसरह श्रेष्ठले पनि राखेप र संघबाट सुविधा पाउने कुरा थियो। तर राखेप र संघले आफ्नो वाचा पूरा गरेनन्।

‘म आर्मीको मान्छे। जीवनभरको कमाइ सबै खेलमा नै लगाएँ। २०१८ मा राजनीतिकै कारण म छनोटमा परिनँ। म सिधा बोल्ने मान्छे। सिधा बोल्यो कि पोल्यो हो यो देशमा,’ श्रेष्ठ भन्छन्, ‘बाहिर आधा दर्जनभन्दा बढी खेलाडी खेल्न जान पाउँछन्। तर खेलाडी सहभागिता जनाउन मात्र लाने काम भइरहेको थियो बेला थियो। २ जना खेलाडी खेल्ने, बाँकी पाँच/सात जना चाहिँ फेमली टुर जाने चलनले त्यसबेला म टिममा परिनँ।’

सुरेन्द्र आफूले राखेप र भारत्तोलन महासंघसँग अनुरोध गर्दा पनि उनीहरुले सरकारी पैसामा खेलाडी थप्न चाहेनन्। तर रोचक कुरा के रह्यो भने, आफ्नै पैसामा खेल्न जानेलाई भने राखेप र भारात्तोलन महासंघ दुवैले स्वागत गरेको श्रेष्ठको दावी छ। 

श्रेष्ठ एक लाख रुपैयाँ तिरेर राष्ट्रका लागि खेल्न तयार भए। त्यतिबेला श्रेष्ठलाई केही दाताहरुको सहयोग पनि भयो। उनी राखेपको टोलीसँग नेपालका खेलाडीका रुपमा इरान गए। 

क्लिन एण्ड जर्क, स्न्याच र टोटलमा गरी श्रेष्ठ च्याम्पिएनसिपको तेस्रो स्थानमा आए। राखेपले लगेका अधिकारीले पनि तेस्रो स्थान पाए। गुरुङले भने कुनै पदक ल्याउन सकेनन्। 

नेपालका लागि भारतोलनमा १२ राष्ट्रमा तेस्रो स्थानमा पुर्याउने महत्वपूर्ण खेलाडी श्रेष्ठ भने राखपले विदेशमा खेल्न गएवापत दिने भनिएको प्रतिव्यक्ति प्रतिदिनका दरले २० अमेरिकी डलर बराबरको रकमको प्रतीक्षामा छन्।

सोही रकमका लागि उनले आफ्ना कोच राम पौडेलसँग धेरै पटक अनुरोध पनि गरे। उनका गुरु पौडेलले प्रक्रिया अघि बढ्दै गरेको भन्छन् रे। तर राखेपले भने पैसा दिइसकेको दावी गर्ने गरेको श्रेष्ठले उकेरासँग बताए।

श्रेष्ठका अनुसार कोरियामा भएको १५ दिने तालिमका क्रममा दैनिक १० अमेरिकी डलर बराबरले दिने भनिएको सुविधा पनि दिइएको छैन उनलाई। त्यसमा उनी आफ्ना कोच पौडेलको हात रहेको दावी गर्छन्। 

‘हामीले भन्ने हाम्रो कोचलाई हो। इरानमा ५ दिनको पाउनुपर्ने पैसा पाइएन। उहाँले नै मलाई कोरियामा तालिमको लागि लानुभएको हो। त्यसको पनि पैसा पाइएन,’ उनी भन्छन्, ‘हामी खेलाडी ज्यान दिएर खेल्ने। राखेप भित्र छिर्दा खेलाडी हुँ भन्दै कार्ड देखाउनुपर्छ। यस्तो औकात छ राष्ट्रिय खेलाडीको। त्यहीँमाथि पाउनुपर्ने रकम पनि हामीले पाउँदैनौं। भनेपछि देशको लागि आफैले पैसा तिरेर मेडल ल्याइदिने काम मात्र हो हाम्रो?’

आफ्नो कोचले नै खेलाडीको हकहितमा काम गर्न नसक्नु दुखद भएको उनको तर्क छ। श्रेष्ठका अनुसार नेपालले सार्क गेममा सबैभन्दा बढी पदक ल्याउने खेल नै भारत्तोलन हो। उपत्यका सहित देशको १८ जिल्लामा भारत्तोलन खेल खेलिन्छ। यसको राम्रो सम्भावना छ। तर खेलाडीलाई निराश बनाउने काम भइरहेको उनको दावी छ।

‘पहिलाको नेतृत्वले हाम्रो गुनासोलाई चासोमा नै राखेनन्,’  उनी भन्छन्, ‘हामीलाई धेरै समस्या छ। न स्वास्य बिमा छ। फलाम उचाल्न बल त्यत्तिकै आउँदैन। डाइट धेरै चाहिन्छ। पैसा नै पैसा हुनेहरुले खेल्ने खेल हो यो। हामी पैसा नहुने दु:खैले खेल्ने खेलाडीलाई त्यसरी पाउनुपर्ने पैसा नदिन मिल्छ?’

निम्न वर्गीय परिवारबाट उठेका श्रेष्ठ २०५५ सालमा काठमाडौं छिरे। २०५९ मा नेपाली सेनामा प्रवेश गरे। २०६१ बाट भारत्तोलनका खेलाडी बने। रामेछापकै गोपालबहादुर श्रेष्ठले सुरेद्रलाई भारत्तोलन खेलमा तानेका रहेछन्। 

सुरेन्द्रले सातौं राष्ट्रिय प्रतियोगिता, राखेप च्यापियनसिप, ओलम्पिक डे लगायतका राष्ट्रिय ठूला प्रतियोगिताहरुमा गोल्ड मेडल जितेका छन्। अन्य केही स्थानीय प्रतियोगिताहरुमा पनि उनले धेरै मेडल जितेका छन्।

‘२०१६ मा मलाई पहिलो पल्ट राखेपले भारत लाग्यो। १२औं सार्क गेम थियो त्यो। त्यहाँ म चौथो भएँ,’ उनी भन्छन्, ‘त्यसपछि पनि राष्ट्रिय स्तरमा राम्रो खेल्दै थिएँ। संघ र राखेपका मान्छेको राजनीतिले म टिममा परिनँ। खेलले मात्र टिममा परिँदैन यो देशमा। कोचको नजिक हुनैपर्छ। कर्मचारीहरुको चाप्लुसी गर्नुपर्छ। मलाई सेनाले त्यसरी गिरेर झुक्न सिकाएन।’

२०१८ मा इरानमा आफ्नै पैसामा राष्ट्रका लागि मेडल ल्याए तापनि आफूमाथि राखेप र संघले ध्यान नै नदिएको श्रेष्ठको गुनासो छ। 

‘आफैंले पैसा खर्च गरेर देशको लागि मेडल ल्याउँदा पनि केही भएन। एयरपोर्टमा खादा लगाइदिए, सक्कियो,’ श्रेष्ठ भन्छन्, ‘खेलाडीलाई राजनीति गर्नेहरुको कारण खेल्ने अवसरबाट रोक्ने चलन हट्नुपर्छ। खेल दक्षतासँग जोडिन्छ। राजनीतिले खेल जितिँदैन।’

श्रेष्ठ हाल भारत्तोलनको राष्ट्रिय स्तरका रेफ्री भए पनि अहिले सक्रिय खेल जीवनबाट टाढिएर होटल चलाएर बसेका छन्। उनले जस्तै राज्यको लागि गरेको योगदान कतै कदर नै नहुने अवस्था धेरै खेलाडीको रहेको उनी उकेरासँग बताउँछन्।

‘कोचमै समस्या भएपछि कसरी हुन्छ?,’ श्रेष्ठ भन्छन्, ‘न राखेपले लाइसेन्स दिन्छ हामीलाई, न खेल्न नै पाउँछौं। पैसा तिरेर सधैं खेल्न त सक्दैनौं नि देशको लागि। जीवन नै भारत्तोलनमा लगाइयो। सेनाबाट भएको कमाइ खेलमा तयारी गर्दागर्दै सकियो। क्षमता, सिप छ भनेर के गर्नु? त्यसलाई निखार्ने वातावरण नै हुँदैन। आफ्नो सिप, अनुभव बाँड्न सक्ने अवस्था नै छैन।’

कोच राम पौडेललाई श्रेष्ठको दावीबारे जिज्ञासा राख्दा कोरियामा उनीहरुले नै बोलाएको र सबै कोरियाकै व्यवस्थापनमा भएको दावी गरे।

‘फेजर कपमा सुरेन्द्रजी जानुभएको हो। उहाँ इन्भाइट कपमा खेल्न जानुभएको हो। आफैंले पैसा हालेर जानुभएको पनि सत्य हो। तर हामीले पैसा तिरेर जाउँ भन्या हैन। उहाँ आफैंले पैसा तिर्छु, खेल्न जान्छु भन्नुभएको हो,’ पौडेल भन्छन्, ‘मसँग त खेलाडी छनोटसम्मको अघिकार हो। उहाँले मुडमा बोल्नु भो कि केमा बोल्नु भो। मलाई लेनदेनको कुरा थाहा छैन। कसले कती पाउने, नपाउने त्यो महासंघ र राखेपलाई थाहा होला।’

पौडेलले यदि पैसा आएको भए कहाँ आयो, कसरी आयो संघले छानविन गर्नुपर्ने बताउँछन्। उनी थप्छन्, ‘मैले खेलाडी छानेको हो। बाँकी कुरा के कसो हो त्यो संघले हेरोस्। संघ नै हाम्रो लागि सबै हो। उसले नै अध्ययन गरोस्।’

राखेपका प्रवक्ता मधुसुदन बस्नेतसँग जिज्ञासा राख्दा राखेपको सदस्य सचिव नभएको कारण रोकिएको हुनसक्ने अनुमान गरे।

‘खेलाडीलाई दिन्छु भनेको पैसा त नदिने सन्दर्भ नै आउँदैन,’ राखेप प्रवक्ता बस्नेत भन्छन्, ‘पछिल्लो समय सदस्य सचिव हुनुहुन्न। त्यसले गर्दा धेरै कागजी काम रोकिएको छ। त्यसैमा परेको भए फरक कुरा हो। होइन भने खेलाडीले रकम पाउनुपर्ने कुरामा गडबड भएको छैन भन्ने लाग्छ।’

बस्नेत आफू नयाँ कर्मचारी भएको कारण विस्तृतमा जानकारी नभएको बताउँछन्। उनी राखेपले छुट्याएको बजेट रिलिजमा कसैले हिनामिना गर्न नसक्ने दावी पनि गर्छन्। कागजी प्रक्रियामा ढिला भएको कारण पनि खेलाडीले पाउनुपर्ने पैसा रोकिएको हुनसक्ने उनको अनुमान छ।

‘हामीले अनुदान भनेर संघहरुलाई पैसा पठाउँछौं। उनीहरुले नै विदेशमा खेल्ने खेलाडीलाई पैसा दिन्छन्। सुरेन्द्र श्रेष्ठको केसमा म उति जानकार छैन। अहिले त्यसैले ठ्याक्कै यसै भन्न सक्दिनँ,’ बस्नेत भन्छन्, ‘उहाँले राखेपसँग नै सिधै प्रस्ताव राखेर जानुभएको हो कि संघबाट हो। राखेपले जाउ, खेल,  पैसा हामी दिन्छौं भनेको भए दिन्छ नै। संघले दिन्छु भनेको भए संघले पनि देला। हामीले संघलाई अनुदान दिइनै रहेका छौं। बाँकी जानकारी मसँग भएन।’

राष्ट्रिय भारत्तोलन संघका अध्यक्ष राम श्रेष्ठ बोसले यस विषयमा अध्ययन नगरी बोल्न नसक्ने बताए।

‘ठ्याक्कै के भएको हो म भन्न सक्दिनँ। पुरानो कुरा हो। म पनि अध्ययन गर्नेछु,’ उनी भन्छन्, ‘यदि कसैले खेलाडीको एक सुका पनि खाएको रहेछ भने त्यसलाई कानुनी दायरामा ल्याउने काम गर्छु।’

अध्यक्ष श्रेष्ठ आमन्त्रणमा खेल खेल्न जाने खेलाडीहरुलाई राखेप र संघले पैसा नदिने अवस्था पनि रहने बताउँछन्। उनी भन्छन्, ‘आमन्त्रणमा खेल्न जाने खेलमा आफैं लगानी गरेर पनि खेल्न जान्छन्। म आफैं पनि कति ठाउँमा त्यसैगरी गएको छु। सुरेन्द्रजीको केस के कसो हो नबुझी भन्न सक्दिनँ। यदि संघले दिन्छु भनेर पैसा नदिएको भए वा कसैले खेलाडीको पैसा नदिएको भए कारबाही हुन्छ। त्यसमाथि हामी अध्ययन गर्छौं।’

५ फागुन, २०७८, १५:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।