थापाको भर्सनमा पूर्वराजा 'भिलेन', लिङदेनको भर्सनमा 'हिरो'

थापाको भर्सनमा पूर्वराजा 'भिलेन', लिङदेनको भर्सनमा 'हिरो'

इटहरीः शुक्रबार सुनसरीको इटहरीमा राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व र वर्तमान अध्यक्ष एकैपटक देखापरे। दुवै नेताहरूले पत्रकारसँगको भेटघाटलाई प्राथमिकता दिए। 

यसअघि पूर्वमन्त्री रामकुमार सुब्बाको घरमा कार्यकर्ता भेट्ने गरेका कमल थापाले तरहराको एक होटलमा पत्रकार सम्मेलनको आयोजना गरे। यता पहिला थापाको जस्तै लिङदेनले भने सुब्बाकै घरमा पत्रकारसँग अन्तरक्रिया गरे।

राप्रपाको केन्द्रीय अध्यक्षमा पराजित भएपछि बिहीबार पार्टी परित्यागको घोषणा गरेका थापा आफूपक्षीय कार्यकर्ता भेटघाटमा निस्किएका छन्। सोहीक्रममा इटहरी पुगेका उनले राप्रपामा निरीह, लाचार, अपमानित र अपहेलित भएर नबस्ने दोहोर्याए। 

पार्टीबाट अलग भएपछि थापाले अध्यक्ष लिङदेन र पूर्वराजा ज्ञानेन्द्र शाहप्रति कुण्ठा पोखेको पोखेकै छन्। दुईचार हजार मान्छे उतारेर राजसंस्था नआउने बताउँदै उनले राजाले राप्रपामा गुटबन्दी गरेको बताए। 

आफू १५ वर्षदेखी राजसंस्थाको एजेण्डा बोकेर हिँडेको तर अहिले त्यही संस्थाले आफूमाथि प्रहार गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।

अहिले राप्रपामा हस्तक्षेप गरेको निर्मल निवासले भोलि कांग्रेस-एमालेमा पनि हस्तक्षेप गर्नसक्ने भन्दै थापाले बेलैमा सचेत हुन जरुरी रहेको स्पष्टीकरण दिए। 

हिन्दूराज्य र राजसंस्थाको मुद्दा बोकेर हिँडेका थापा अब हिन्दूराज्यलाई मात्र नयाँ पार्टीको मुख्य सैद्धान्तिक पक्ष बनाउने तयारीमा छन्। 

राजसंस्थाप्रति जनताको विश्वास नभएकाले आफू पुनर्विचार गर्न तयार भएको उनको भनाइ छ। 

उता राप्रपा अध्यक्ष लिङदेनले थापाले राजाकै बलमा शक्ति प्राप्त गरेको बताएका छन्। राजाले नै गृहमन्त्री बनाएपछि शक्ति र सत्ताको स्वाद पाएका थापाले पराजित भएपछि कुण्ठा पोखेको उनको आरोप थियो। 

थापाको विषयमा थप बोल्न आवश्यक नभएको भन्दै उनले राजसंस्था र हिन्दूराज्यको मुद्दालाई अझै बुलन्द बनाएर अगाडि बढाउने योजना रहेको सुनाए। 

“थापाजीले छानबिन समिति बनाउनुपर्छ भनेपछि हामीले प्रकाशचन्द्र लोहोनी, विक्रम पाण्डेलगायत साथीहरू भएको समिति बनायौँ। तर उहाँले छानबिन गर्न मान्नुभएन। पछि भेटघाटको क्रममा राजसंस्था नत्याग्ने हो भने पार्टी छाड्ने भन्नुभयो। अहिले पार्टीबाट अलग हुनुभएको छ। यसमा उहाँलाई स्वतन्त्रता छ,” लिङदेनले भने।

राप्रपाको भूमिका परिणाममा देखिने भन्दै उनले आफूहरू आगामी निर्वाचनको तयारीमा लागेको प्रष्ट पारे। अहिले पार्टीभित्र सांगठनिक गतिविधि अगाडि बढिरहेकाले सबै पालिका र सबै क्षेत्रमा उम्मेदवारी दिनेगरी तयारी थालेको उनले सुनाए। 

यसबीचमा विचार मिल्ने पार्टीसँग एकता हुनसक्ने संकेत गर्दै रवीन्द्र मिश्रसँग कुरा भइरहेको पनि उनको भनाइ थियो।

२८ माघ, २०७८, २२:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।