हिजोका कुरामा गीतकार शुभ मुकारुङ : जसले रेडियोमा नाम बजाउनकै लागि हङकङ आइडी त्यागे

हिजोका कुरामा गीतकार शुभ मुकारुङ : जसले रेडियोमा नाम बजाउनकै लागि हङकङ आइडी त्यागे

गीतकारका रुपमा ख्याति कमाएका सर्जक हुन् शुभ मुकारुङ। उनका सयौं गीत स्रोता/दर्शकमाझ लोकप्रिय छन्। 

तीन दशकदेखि गीत लेखनमा सक्रिय रहेका मुकारुङ यतिबेला गीतकारहरूको साझा संगठन गीतकार संघ नेपालको अध्यक्ष समेत हुन्। 

थोरै लेख्ने तर गम्भीर खालका गीत लेख्ने मुकारुङ इतिहास, पुरातत्व र संस्कृतिमा विशेष रुचि राख्छन्। उनका ‘सायद’, ‘सम्बेग’, ‘स्वीकृति’, ‘सम्वाद’, जस्ता गीतका एल्बम सार्वजनिक छन् भने ‘ढुंगै ढुंगो’, ‘कथा पानीको’, ‘किराँत राई जाति र मुन्धुमी सामग्री साहित्य संगीत र पत्रकारितामा हामी’ जस्ता पुस्तक प्रकाशित छन्। 

०००
मुकारुङ २०२८ सालमा भोजपुरको तत्कालीन अन्नपूर्ण गाउँ पञ्चायत तथा हालको ट्याम्केमैयुम नगरपालिकामा मध्यमवर्गीय परिवारमा जन्मिएका हुन्।

बुबा ब्रिटिस लाहुरे। ९ वर्ष ब्रिटिस सेनामा काम गरेर पेन्सन नहुँदै राजीनामा दिएर नेपाल फर्किए। उनका हजुरबुबा पनि गाउँका डबल तालुकदार थिए।

मुकारुङका बुबा आफ्ना बाबुले जे भन्यो त्यही खुरुक्क मान्थे रे। हजुरबुबाले पनि बुबालाई नै विश्वास गर्ने र घरपरिवारको पनि हेरचाह गर्नुपर्ने भएकाले बुबा जागिरबाट राजीनामा दिएर नेपाल फर्किएका रहेछन्। 

गाउँ फर्किएपछि मुकारुङका बुबा सामाजिक काममा पनि संलग्न भए। सामाजिक कार्यमा संलग्न हुँदाहुँदै उनी राजनीतितर्फ पनि लागे र जिल्ला विकास समितिको सभापति समेत भए। राष्ट्रिय पञ्चायत सदस्यमा भने बुबाले थोरै भोटले हारेको उनी सम्झन्छन्। भोजपुरमा शिक्षाको विकासमा बुबाको धेरै योगदान रहेको मुकारुङ बताउँछन्। 

मुकारुङले गाउँमा सामान्य बाल्यकाल बिताए। घाँस काटेको, गोठालो गएको, भकारो सोहोरेको, डण्डी-बियो तथा भलिबल खेलेको, गीत गाएको, नाचेको सबै सम्झना छ उनलाई।

उनले गाउँकै विद्यालय अन्नपूर्ण माविमा अक्षर चिनेका हुन्। अन्य गाउँबाट पनि पढ्न आउने त्यो विद्यालयमा आफ्नो कक्षामा २८/३० जना विद्यार्थीले पढ्ने गरेको उनी सम्झन्छन्। 

उनी बच्चा बेलामा साह्रै लजालु थिए रे। शान्त बस्न रुचाउने उनी आफूलाई सोझो-सिधा भन्न रुचाउँछन्। त्यो बेला विद्यालयमा आप्नै दाइ, भाउजु र दिदीहरुले पढाउने भएकाले पनि उनलाई बठ्याइँ गरिहाल्ने आँट आउँदैनथ्यो। 

गोठालो जाँदा आफूभन्दा ठूला दाइहरुको कारणले गर्दा बुबाको पिटाइ खाएको घटना भने उनको मनसपटलमा अझै ताजा नै छ।

१२ वर्षको हुँदा गाउँका दाइहरुसँग बनमा दाउरा खोज्न जाने क्रममा गाउँकै दिदीहरुलाई गीत गाएर उनले पनि जिस्क्याएछन्। साँझ घर पुगेपछि ती दिदीहरुले उनका बाबुलाई पोल लगाइदिएछन्। त्यो बेला बुबाको राम्रै पिटाइ खाए मुकारुङले।

कक्षा एकदेखि १० सम्म अन्नपूर्ण माविमा पढेका मुकारुङ पढाइमा भने मध्यम थिए।

प्रत्येक शुक्रबार विद्यालयमा हाजिरीजवाफदेखि खेलकुद प्रतियोगिता हुन्थ्यो। उनलाई खेल्न त मन लाग्थ्यो तर आफैं अगाडि सरेर खेल्छु भन्न चाहिँ सक्दैनथे। कसैले कर गरेमा चाहिँ खेल्थे पनि।

उनले २०४५ सालमा एसएलसी दिए। त्यो ब्याचमा ४०/५० जनाले एसएलसी दिएका थिए तर पास ३० जनामात्र भए। ‘म पनि एसएलसी फेल भएँ। त्यसपछि तीन वर्ष पढिनँ,’ मुकारुङले सुनाए।

उनलाई गीत-संगीत र साहित्यमा भने सानैदेखि झुकाव थियो। गीत गाउने, बजाउने कुरामा आफैं नेतृत्व गर्थे। गाउँमा हुने विभिन्न सांस्कृतिक कार्यक्रमहरुमा पनि गाउने, बजाउने गर्थे। क्लबबाटै नाटक मञ्चन पनि गर्थे साथीहरुसँग मिलेर। 

सानैदेखि गीत-संगीत र साहित्यमा रुचि राख्ने मुकारुङलाई पहिलो पटक रेडियो नेपाल सुनेपछि त्यही रेडियो नेपालबाट आफ्नो नाम बजाउने रहर जाग्यो। त्यो बेला रेडियो भनेकै रेडियो नेपाल थियो। निजी वा सामुदायिक एफएमहरू त धेरैपछि मात्र भित्रिएका हुन्। 

त्यही भोजपुरको गाउँमा हलो जोत्दा, घाँस काट्दा, बाख्रा चराउँदा, भकारो सोहोर्दासम्म सुनेको रेडियोमा नाम बजाउने चाहले मुकारुङलाई गीतकार बनायो। उनीको त्यो चाह, छटपटी र संघर्षका कारण उनी त्यसमा सफल पनि भए। 

०००
एसएलसीमा पास नभएपछि उनी घरबाट पहिलो पटक काठमाडौंका लागि हिँडे। त्योबेला गाउँबाट हिँडेर धरानसम्म र धरानबाट गाडी चढेर तीन दिनमा काठमाडौँ आइपुगेको उनलाई सम्झना छ।

काठमाडौंमा मुकारुङका धेरै आफन्त भएकाले बस्ने, खाने खास समस्या थिएन। त्यो समय उनी एक महिना मात्र काठमाडौं बसे। त्यही काठमाडौं बसाइमा धेरै पटक रेडियो नेपाल धाए। त्यहाँ आफन्त दाजु बुलु मुकारुङ काम गर्ने भएकाले उनलाई रेडियो नेपालमा जान भने समस्या भएन। 

लामो समय काठमाडौं बस्नका लागि पढाइ वा अन्य केही बहाना चाहिन्थ्यो। पढ्नका लागि उनले एसएलसी पास गरेका छैनन्। केही बहाना नभएपछि एक महिनामै गाउँ फर्किए। दुई वर्षसम्म काठमाडौं आउने-जाने गीतहरु रेकर्ड गर्ने गरे। त्यसपछि फेरि पढाइलाई निरन्तरताका उनी २०४९ सालमा एसएलसी पास भए।

एलएलसी पास भएपछि काठमाडौं आएका मुकारुङलाई पढाइ राम्रै बहाना बन्यो। रत्न राज्यलक्ष्मी क्याम्पसमा पत्रकारिता विषय लिएर पढ्न थाले तर आइए पास गर्न सकेनन्। 
रेडियोबाट नाम बजाउने एकोहोरो चाहले कहिल्यै पढाइलाई महत्व नै दिएनन्। पढ्न गए पनि कहिल्यै कक्षामा बसेनन्। हाजिर गर्ने अनि रेकर्डिङको लागि रेडियो कुदिहाल्ने गर्थे। 

केही समय पत्रकारिता पनि गरेका मुकारुङ विमर्श, विमोचन लगायतका पत्रिकामा रिपोर्टिङ गरेको सुनाउँछन्।  

मुकारुङ पत्रकारितासँग जोडिएको एउटा घटना सुनाउँछन्। राप्रपाका नेता राजेन्द्र लिङ्देन मुकारुङका दाजुका साथी थिए। एक दिन घट्टेकुलोमा लिङ्देनसँग मुकारुङको भेट भयो। भेटमा उनले ‘के गर्दैछौ ?’ भनेर सोधे। 

मुकारुङले पत्रकारिता पढेको सुनाए। त्यसपछि ‘रूपरेखा’ साप्ताहिकको अफिसमा गएर सम्पादक कुमार यात्रुलाई भेट्ने सल्लाह लिङ्देनले दिए।

खसी बजारको एउटा घरमा एक तला उक्लेर रूपरेखाको अफिसमा गएको उनी सम्झन्छन्। 

एक जना मान्छे पत्रिका पट्याइरहेका थिए। अर्का भने घोप्टिएर पढ्दै थिए। पढ्ने मान्छेले उनलाई त्यति वास्ता गरेनन्। 

मुकारुङले ‘कुमार यात्रु भनेको को हो ? मलाई राजेन्द्र दाइले पठाउनुभएको, काम पनि गर्ने अनि अलिअलि पैसा पनि हुन्छ भनेर’ उनले एकै श्वासमा आफ्नो कुरा सक्काए।  

अघि पढिरहने मान्छेले ‘मै हो कुमार यात्रु’ भने। उनले अगाडि बसाएर ‘अब तपाईं पढेर आएको मान्छे, हामी परेर आएको। तपाईंले जानेको मलाई सिकाउनुहोस्, मैले जानेको तपाईंलाई सिकाउँछु’ भने। 

मुकारुङले सम्पादक भनेको टाई लगाएको एकदम गजबको अनि एकदमै जान्ने मान्छे हुन्छ भन्ने सोचेका रहेछन्। यात्रुलाई देखेपछि ‘सम्पादक भनेको त अति साधारण पो हुनेरहेछ’ भन्ने लाग्यो। त्यसपछि उनको मनमा झट्ट आइहाल्यो, ‘यसलाई केही नआउँदो रहेछ त्यही भएर मसँग पो सिक्छु भन्छ।’

उनी भन्छन्, ‘अहिले भने मलाई त्यो कुरा सम्झिँदा लाज लाग्छ।’ त्यो बेला यात्रुले हौसला दिनुभएको रहेछ भन्ने पछि मात्र थाहा पाए उनले।  

मुकारुङलाई फोटो पत्रकारितामा पनि रुचि थियो। उनका फोटो फिचर थुप्रै पत्रिकामा छापिएका छन्। तर, रेडियोमा नाम बज्नैपर्छ भन्ने चाहले नछाडेकाले उनले फोटो वा पत्रकारिता केहीलाई पनि अगाडि बढाएनन्। 

०००
२०४७ सालमा नै रेडियो नेपालबाट उनको ‘मलमल खासा जुनकिरी’ भन्ने पहिलो लोकगीत रेकर्ड भएको थियो। सो गीत त्यस बेला रेडियो नेपालको आञ्चलिक सुस्केरा भन्ने कार्यक्रममा बजेको थियो। 

त्यसपछि उनको आधुनिक गीत रेकर्ड भयो। सो गीत गायक शम्भु राईको श्रद्धा रेकर्डिङ स्टुडियोमा संगीतकार शान्तिराम राईको संगीतमा रेकर्ड भएको थियो। 

गीतहरु रेकर्ड भइसक्दासम्म पनि मुकारुङ संगीतकार हुने कि गीतकार हुने भन्ने अलमलमै थिए। त्यो बेलासम्म पनि रेडियोबाट नाम बज्नुपर्छ भन्ने मात्र हुटहुटी लिएर हिँडिरहन्थे। 

काठमाडौंमो उनी आफ्ना दाइ-भाउजुसँग बस्थे। २०४७ सालतिर हङकङ आइडीको किनबेच हुने ट्रेन नै चलेको थियो। 
दाइ-भाउजुले हङकङ पठाउन आइडी किन्ने योजना पनि बनाएका थिए, तर उनले मानेनन्। 'मलाई नेपालमै बसेर गीत लेख्न मात्र मन थियो,' मुकारुङले सुनाए।  

२०५२ सालसम्म उनका धेरै गीत रेकर्ड भइसकेका थिए। त्यतिबेला मुकारुङले एल्बम निकाल्ने योजना बनाए। सोलो एल्बम निकाल्नु भनेको ठूलै कुरा मानिन्थ्यो त्यो समय। 

आफूले एल्बम निकाल्ने योजना बनाएको कुरा दाजु-भाउजुलाई सुनाए र चाहिने पैसा पनि मागे। उनी सम्झन्छन, ‘त्यो बेला एउटा एल्बम निकाल्न ४० हजार लाग्थ्यो।’ 

भाइलाई हङकङ पठाउन आइडी किन्न खोजेका दाजुले गीतको एल्बम निकाल्न पैसा दिने कुरालाई स्वीकार गरेनन्। 

तर, जसरी पनि एल्बम निकाल्ने आफ्नो इच्छालाई त पूर्णता दिनै थियो। दाइ-भाउजुबाट पैसा नपाएपछि एल्बम निकाल्नका लागि चाहिने ४० हजार रुपैयाँ ब्रुनाईमा भएकी दिदीसँग मागे उनले। दिदीले भाइलाई एल्बम निकाल्न ४० हजार पठाइदिइन् र एल्बम निकाले।  

गीतकार बन्ने कि संगीतकार बन्ने भनेर अलमलमा परेका मुकारुङले  ७/८ वर्ष यसै हल्लिएर बिताए। उनलाई त्यो समयमा बल्ल लाग्यो, ‘पढाइ भनेको महत्वपूर्ण कुरा रहेछ। संगीतको यात्रा र पढाइलाई सँगै नलगेकोमा अहिलेसम्म पनि उनलाई पछुतो लागिरहन्छ।  

एल्बम निकालेपछि आफ्नो नाम चर्चित हुन्छ भन्ने उनलाई लागेको थियो। सम्झन्छन्, ‘त्यो बेला नाम, दाम सबै हुन्छ एल्बम बेचेर भन्ने लागेको थियो, त्यस्तो त केही भएन।’

त्यसपछि उनी पैसा कमाउन दुबई पनि गए। त्यहाँ कमाइ राम्रै भयो पनि। तर त्यहाँ पनि चित्त नबुझेपछि नेपाल फर्किए। 

अहिले त्यो समय फर्केर हेर्दा उनलाई दाजु/भाउजूले हङकङको  आईडी किन्ने कुरा गर्दा मान्नु पर्नेरहेछ भन्ने कुराले पनि पछुतो लाग्छ।

उनी पुराना कुरा सम्झेर हाँस्दै भन्छन्, गीत त दुबई बसे पनि, हङकङ बसे पनि, लेख्न सकिने रहेछ नि।’

०००
मुकारुङले ४० वर्षको उमेरमा विवाह गरे। आफ्ना दाइहरूको पनि ढिलै विवाह भएको उनी बताउँछन्।

कतैबाट केही नभएपछि र आफन्तले पनि विवाह गर्न दबाब दिएपछि मात्र उनले विवाह गरेका हुन्। विवाह, जन्म अनि मृत्यु आफूले चाहेर नहुने रहेछ भन्ने मुकारुङको बुझाइ छ। 

०००
मुकारुङका अहिलेसम्म रेकर्ड भएका र प्रकाशन भएका गरी करिब २०० गीत छन्। एउटा गीतसंग्रह प्रकाशन भएको छ। रेकर्ड भएका मात्रै झण्डै ८० गीत छन्। अर्को पुस्तक प्रकाशनमा पनि लागिरहेका छन्। 

आफू अलि चुजी भएकाले गीत थोरै भएको उनी बताउँछन्। ‘मलमल खासा जुनकिरी’ भन्ने लोकगीत अनि ‘किन मैले तिमीले जस्तो पत्थर हुन नजानेको’, ‘फर्केर आउनू है’, ‘सायद यस्तै हुन्छ मायामा’ आदि गीत मुकारुङका चर्चित गीत हुन्।

वर्तमान समयमा उनी गीतकार संघका अध्यक्ष हुन्। उनी अध्यक्ष भएको एक कार्यकाल पूरा भइसकेको छ भने अब एक कार्यकाल बाँकी छ। 

गीत-संगीत क्षेत्रमा बढेको विकृतिप्रति पनि मुकारुङ चिन्ता व्यक्त गर्छन्। 'अहिलेको अवस्थामा कलाकारहरु खाली भाइरल हुन र भ्युज बटुल्न मात्रै अग्रसर भएका छन्। गीत, संगीत र साहित्यलाई व्यापारको रुपमा मात्र हेरिएको छ,' उनी भन्छन्।

गीत-संगीतमा मैले कस्ता कुरा पस्कँदै छु, दर्शक-स्रोताले के चाहन्छन् भन्ने कुरालाई ध्यानमा राखेर मात्र स्रष्टाले सिर्जना गर्नुपर्ने उनको सुझाव छ।

२७ माघ, २०७८, १२:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।