डा. कलवारको कर्तुत: बिरामीले निःशुल्क पाउँदै आएको नेल नै रोकियो

डा. कलवारको कर्तुत: बिरामीले निःशुल्क पाउँदै आएको नेल नै रोकियो

इटहरीः बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अमेरिकी संस्था साइन फ्र्याक्चर केयरले निःशुल्क नेल (हाडजोर्नीको रोगमा प्रयोग गरिने रड) उपलब्ध गराउँदै आएको थियो। तर कमिसनको बाहनामा डाक्टरहरूबीच विवाद भएपछि अब बिरामीले निःशुल्क पाउँदै आएको नेल नपाउने भएका छन्।

विकासोन्मुख मुलुकमा हाडजोर्नीका बिरामीले धेरै समस्या भोग्नुपरेको र उपचार महँगो भएको भन्दै संस्थाले प्रतिष्ठानलाई सन् २००७ देखि निःशुल्क रूपमा नेल उपलब्ध गराउँदै आएको थियो।

तर निःशुल्क पाइने नेल पनि प्रतिष्ठानका एसोसिएट प्रोफेसर डा. रोशनकुमार साह कलवारले बिक्री गरेको गुनासो पुगेपछि संस्थाले रोक लगाएको हो। कलवारले नै संस्थाका प्रोग्राम एन्ड एजुकेशन मेनेजर जेरी सी रोसेन्थलले इमेलमार्फत नेल सहयोग गर्न नसकिने जानकारी गराएको बताएका हुन्।

संस्थाले प्रतिष्ठानमा साइन नेल बिक्री भइरहेको भन्ने समाचार इमेलमार्फत प्राप्त भएकाले सो समस्या समाधान नभएसम्म नेल पठाउने जनाउ दिएको छ। कम्पनीले नेल विपन्न तथा आर्थिक अवस्था न्यून भएका गरिबहरूलाई मात्र निःशुल्क उपलब्ध गराउने बताएको छ। 

कलवारले नेल बिक्री गरी बिरामीबाट शुल्क लिएको गुनासो बढेपछि प्रतिष्ठानको हाडजोर्नी विभागले उनलाई साइन नेल प्रयोगमा रोक पनि लगाएको थियो।

गत पुस २९ गते कलवारले सिराहा कल्याणपुरका ललीलकुमार साहको शल्यक्रियामा साइन नेल प्रयोग गरेपछि समस्या उब्जिएको थियो। कलवारले प्रतिष्ठानकै नेल बिक्री गरेको गुनासो बढेपछि कलवारले प्रयोग गरेको नेल निकालेर बाहिरबाट ल्याएको खोक्रो नेल लगाइएको थियो।

यसले गर्दा एकापसमा कमिसन खाएर बिक्री गरेको भन्दै डाक्टहरूबीच विवाद समेत भयो। हाल सोही विवाद नेपाल मेडिकल काउन्सिलसम्म पुगेको छ।

यसअघि गत मंसिर ४ गते सिराहा नरहाका अर्बिन महतोको शल्यक्रियामा पनि कलवारले नेल बिक्री गरेपछि हाडजोर्नी विभाग प्रमुख 
प्रा.डा. विक्रमप्रसाद श्रेष्ठको निर्देशनमा उनले रकम फिर्ता गरी माफी समेत मागेका थिए।

२४ माघ, २०७८, १८:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।